दमक, १८ जेठ /  अत्यधिक गर्मीका कारण झापाका विद्यालयहरु वन्द हुन थालेका छन् । अत्यधिक गर्मी बढेपछि झापा, मोरङ र सुनसरीका विद्यालय बन्द हुन थालेका छन् । कतिपय विद्यालयमा विद्यार्थीले गर्मी सहन नसकेर भकभकी लड्न थालेको भन्दै विद्यायलय केही दिनलाई बन्द गरिएको पालिका शिक्षा शाखाहरुले सूचनामार्फत जनाएका छन् । गर्मीका कारण नियमित पठनपाठनमा कठिनाई भएको भन्दै दमकसहित मेचीनगर र कचनकबल गाउँपालिकाका विद्यालयहरु बन्द गरिएका छन् ।
दमक नगरपालिकाको शिक्षा शाखाले आज विहान सार्वजनिक सूचना निकालेर दुई दिन विद्यालय बन्द हुने जानकारी गराएका छन् । गर्मीका कारण विद्यार्थीको नियमित पठनपाठन सञ्चालन गर्न कठिनाई साथै यसले विद्यार्थीहरुमा हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरि आज र भोलि दुई दिन संस्थागत र सामुदायिक विद्यालयहरु विदा दिईएको उल्लेख छ ।
यस्तै,मेचीनगरको शिक्षा शाखाले आज विहान सार्वजनिक सूचना जारी गर्दै आज र भोलि गरी दुई दिन विद्यालय बन्द हुने जानकारी गराएको छ ।
कचनकबलकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सूचना जारी गर्दै आजदेखि पाँच दिन विद्यालयको पठनपाठन बन्द हुने उल्लेख गरेकी छन् ।झापाको औसत तापमान ४० डिग्री सेल्सियस सम्म पुगेको छ ।

विदा सूचना टेरेनन संस्थागत विद्यालयले

दमक नगर शिक्षा शाखाले गर्मीका कारण विद्यालयको पठनपाठन विदा दिन जारी गरेको सूचना प्रति संस्थागत विद्यालयहरुले टेरेनन् ।आज दमकका सरकारी विद्यालयहरु विदा भएपनि संस्थागत विद्यालयहरुले नियमित पठनपाठन सञ्चालन गरेका छन् । नगर शिक्षा शाखाले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई गर्मीका कारण दुई दिन विदा (आज र भोलि ) गर्न सार्वजनिक सूचना निकालेको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन ) दमकका सचिव नविन योगीका अनुसार नगरपालिकाबाट ढिला सूचना आउदाँ आज विद्यालय यथावत सञ्चालन गर्नु परेको छ । दमक ५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ्ग स्कुलका प्रिन्सीपल समेत रहेका सचिव योगीले आज आधा दिन लगाएर भोलि एक दिन विदाँ दिईने निर्णय भएको सुुनाए ।नगरपालिकाको निर्णय कार्यान्वयन गर्न प्याव्सन तयार भएको भन्दै त्यही निर्णय अनुसार भोलि एक दिन विदा दिई आइतवारदेखि भने यथावत विद्यालयको पठनपाठन सञ्चालन गरिने उनले बताएका छन् ।

विराटनगरका विद्यालय दुई दिन विदा

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको हो ।
नगर शिक्षा समितिको आजको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुनेछ ।
इटहरीमा दुई दिन विदाँ
इटहरी उपमहानगरले बुधबार दुई दिन जेठ १७ र १८ गते छुट्टी दिने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरान प्रमुख रुद्रबहादुर परियारले गर्मी बढेपछि दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पर्ने बताए । उनले मनसुन सुरु नभएसम्म तापक्रम उतार–चढाव हुने बताए । इनरुवालगायतका क्षेत्रमा पनि विद्यालय बिदा दिइएको छ ।

Facebook Comments Box