२० जेठ, इटहरी / जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति जसपाकै वरिपरि घुमिरहेको दावी गरेका छन् । शनिबार जसपा प्रदेश नम्बर १ समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

‘संघीयता, पहिचान, धर्म निरपेक्षता, समाजवाद, समावेशीता, सुशासन यिनै विषय आज नेपालको राजनीतिको केन्द्रमा छ’, यादवले भने -‘यी हामीले नै उठाएका विषय हुन् । त्यसैले राजनीति हाम्रै वरिपरि छ । चिन्ता गरिरहनु पर्ने आवश्यक छैन ।’

राजनीतिक भेटघाटका क्रममा प्रदेश १ का विभिन्न तहका पार्टी समितिहरुसँग छलफल र अन्तरकृयामा सहभागी भएका यादवले जसपालाई विधि र प्रकृयामा चलाउन विधान अधिवेशन गर्न लागिएको दावी गरे ।

उनले भने – ‘अबको ४ वर्षपछि पार्टीलाई बलियो स्थितिमा पुर्याउन सुदृढ पार्टी संगठन आवश्यक छ । त्यसका निम्ति स्पष्ट विधान बनाएर अगाडि बढ्नु पर्छ ।’ जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन आह्वान गरेको छ ।

जसपा प्रदेश कार्यालय इटहरीमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष दिपक याक्खाको अध्यक्षता र मुख्य सचिव घनश्याम कट्वालको स्ञ्चालन रहेको थियो । अन्तरकृया कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रदेश १ सहइन्चार्ज निर्मला लिम्बू, राजनीतिक समिति सदस्यहरु जयराम यादव र सञ्जय सिंह राजपूतले बोलेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला र पालिका तहका नेता कार्यकर्ताले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमका बीच बारा २ मा भएको उपनिर्वचनबाट विजयी यादवलाई जसपा प्रदेश १ समितिका तर्फबाट सम्मान गरिएको थियो ।

Facebook Comments Box