नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एकठाउँमा उभिएका एमाले, रास्वपा र राप्रपा १० पुसमा नयाँ सरकार गठनमा पनि एकसाथ थिए । कांग्रेसले सरकारको नेतृत्व नदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीको निर्णयमा रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनले साथ दिएका थिए ।

प्रचण्ड सरकारमा तीन नेता (ओली, लामिछाने र लिङ्देन)को सहकार्य पनि उस्तै रह्यो । तर १३ माघमा सांसद पद गुमाएका लामिछानेलाई फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले २२ माघमा सरकार छाड्यो ।

राष्ट्रपति चुनावको समयमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरे । सरकार गठन गर्दा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि सुरुमा राप्रपा, त्यसपछि एमालेले पनि सरकार छाड्यो । २५ फागुनको राष्ट्रपति चुनावमा तीन दल (एमाले, रास्वपा र राप्रपा) तीनतिर हुन पुग्यो । एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनायो भने रास्वपाले कांग्रेस उम्मेदवार पौडेललाई मत दियो । राप्रपा भने तटस्थ बस्यो ।

३ चैतको उपराष्ट्रपति चुनाव र १० वैशाखको उपचुनावमा पनि तीन दल तीनतिर नै थिए । तर २०७९ असोजमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गर्दै ‘होल्ड’ गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि आइतबार पहिलो पटक बसेको संसद बैठकमा तीन दल एकठाउँमा उभिएका छन् र राष्ट्रपतिको कदमको विरोध गरेका छन् ।

Facebook Comments Box