अघिल्लो राष्ट्रपतिले ‘होड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी यत्तिकै छाड्दा भोलिका दिनमा लोकतन्त्र र संविधान नै खतरामा पर्ने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे, ‘भोलि संवैधानिक परिषद्ले निर्णय गर्‍यो, तर राष्ट्रपतिले फेरि होल्ड गरिदिनुभयो भने के हुन्छ हालत ? दुबैबाट पारित भएको विधेयक फेरि दराजमा गयो हुन्छ के ? हाम्रो लोकतन्त्रको भविश्य के हुन्छ ?’

संसदको दुबै सदनले दुईदुई पटक पास गरेको विधेयक प्रमाणीकरण नगर्ने नजीर बस्ने हो भने राष्ट्रपतिले भोलि मन लागे प्रमाणीकरण गरिदिने, मन नलागे नगरिदिनसक्ने र यसले संविधान र लोकतन्त्रमाथि घात हुने प्रक्रिया सुरु हुने सरकार र गठबन्धनको बुझाइ रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘(नागरिकता विधेयक) प्रमाणीकरण गरिदिएपछि संविधान ट्र्याकमा आयो भन्ने हाम्रो बुझाइ छ ।’

नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने विपक्षी दलको तर्कको प्रतिवाद गर्दै उनल साथै विधेयक प्रमाणीकरण गर्दा मात्र सदनको सम्मान हुने बताए । अरु विधेयक जस्तो यो नभएको भन्दै उनले अगाडि भने, ‘सदनमा ल्याउने विकल्प भने अघिल्लो संसदले २/२ पटक गरेको पारितको अपमान हो ।’

एमाले अध्यक्ष ओलीले भने नयाँ जनादेश आइसकेकाले नागरिकता विधेयक सदनमा फिर्ता हुनुपर्ने जिकिर गरे । ‘एउटा राष्ट्रपतिले होल्ड गरेपछि त्यो होल्ड भयो’, उनले भने, संसद त्यही होइन, अर्को संसद हो । यहाँ ल्याएर छलफल गर्नुपर्छ ।’

एकअर्कामाथि आरोप प्रत्यारोप गरेका प्रचण्ड र ओली विषयमा भने एकठाउँमा उभिएका छन् । अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाले अब अदालतलाई पर्खिनुपर्ने बताए ।

प्रमाणीकरण गरेपछि मात्र सदनको सम्मान हुन्छ भने आफूहरुको मत रहेको र प्रतिपक्षले अपमान भयो भन्ने मत राखेको भन्दै उनले अदालतको फैसला आएपछि थप बहस गरौंला भनेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘दुबै पक्ष शान्त होऔं । यो विषय अदालत पुगिसक्यो । अल्पकालीन स्टे दिइसक्यो । हामीले यहाँ किन गला बजाउने ? अदालतलाई पर्खौं ?’

एमाले अध्यक्ष ओलीले भने यो विषय अदालतमा पुगिसकेकाले थेरै नलम्ब्याउने बताए । ओलीको सम्बोधन सकिएसँगै प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकमा झण्डै पाँच घण्टा चलेको सम्बोधन, प्रश्न, प्रतिप्रश्न रोकियो र संसद बजेटमाथिको सामान्य छलफलमा प्रवेश गरेको छ ।

Facebook Comments Box