घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको झण्डै तीन वर्षको अवधिमा ७४ जिल्लामा यस्तो रोग फैलिएको सरकारी तथ्याङ्‍कले देखाएको छ ।

पछिल्ला केही महिनामा यसले महामारीको रुप ग्रहण गरेको पशु सेवा विभागले जनाएको छ । विभागकाअनुसार धादिङ, मनाङ, मुस्ताङबाहेक देशैभरका ७४ जिल्लामा यो रोग फैलिएको पुष्टि भएको छ । बिहीबार साँझसम्म देशभरका ५ लाख गाई, भैंसी, गोरु, राँगो र बाच्छाबाच्छीमा यस्तो संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ७ सय गाई, भैंसी र बाच्छा-बाच्छी मरेको विभागका सूचना अधिकारी एवम् वरिष्ठ पशुरोग विशेषज्ञ डा.चन्द्र ढकालले जानकारी दिए ।
‘लम्पी स्किनका कारण ५ लाख बढी पशुहरु संक्रमित भएको र ९ हजार ७ सयको मृत्युको विवरण प्राप्त भएको छ,’ ढकालले भने, ‘गत फागुनदेखि यो महामारीको रुपमा देशैभर फैलियो । अझै फैलिरहेको विवरणहरु आएका छन् ।’

विभागका अनुसार नेपालमा गाई, भैंसी, बाच्छा–बाच्छी, गोरु, पाडा-पाडीमा यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवम् बिरामी पशु र धेरै दूध दिने पशुहरुमा भएको संक्रमणले ज्यान लिएको विभागले जनाएको छ । भारत, बंगलादेश, भियातनाम र चीनमा देखिएको यो रोग २०७७ असारमा मोरङको सुन्दर हरैजा–११ मा पहिलोपटक देखिएको थियो । सो बेला करिब ३ हजार पशु लम्पी स्किनबाट संक्रमित भएकामा त्यसयता नेपालका सबै भू-भागमा रोग फैलिएको विभागले जनाएको छ ।

नेपालमा पहिलो संकम्रण देखिएको झण्डै ३५ महिनामा अहिले महामारीको रुपमा संक्रमण फैलिएको विभागले जनाएको छ । रोगको मृत्यु दर करिब एक प्रतिशत हाराहारी रहेको विभागले जनाएको छ । यो रोग घरपालुवा पशुबाट जंगली पशुमा सरेको भए पनि अहिलेसम्म मानिसमा सरेको कुनै प्रमाण नभएको विभागले जनाएको छ

Facebook Comments Box