२८, जेठ/ नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सदस्यता शुद्धीकरण गर्दै ६० जनामा सीमित गर्नेभएको छ । महासङ्घ जिल्ला कार्यसमितिले प्रदेश तथा केन्द्रीय समितिलाई ९५ जनाको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको हो ।
महासङ्घ धनकुटाले केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै शाखाका उपाध्यक्ष विदुर खवास संयोजकत्वमा गठन गरेको कार्यदलले १ सय ५५ जनामध्ये ९५ जना सदस्यको सदस्यता नवीकरण नगर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयलाई आधार मान्दै जिल्ला कार्य समितिले प्रदेश र केन्द्रलाई सदस्य घटाएर नवीकरण गर्न सिफारिस गरिएको पत्रकार महासङ्घ धनकुटाले जनाएको छ । शाखामा सदस्यता रहेका निर्वाचित जनप्रतिनिधि, स्थायी, अस्थायी, करारका कर्मचारी, राजनीतिक दलका पदाधिकारीलगायतको सदस्यता शुद्धीकरण गर्दै कटौती गर्ने सिफारिस गरेको कार्यदलका संयोजक खवासले जानकारी दिनुभयो ।
कार्यदलले पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू गोपालप्रसाद अधिकारी र विजय सन्तोषी राई तथा सल्लाहकार भेषराज कट्टेलको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको छ । यस्तै, कार्यदलले वर्तमान कार्यसमितिका सदस्यहरू अजय सन्तोषी राई, नेवनारायण चौधरी, आशिष् लिम्बू, विश्वराज श्रेष्ठ र मनिषा पोख्रेलको पनि सदस्यता नवीकरण नगर्न सिफारिस गरेको छ ।
पत्रकारितामा योगदान गर्ने सदस्यलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिने नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।

Facebook Comments Box