समाजवादी मोर्चा नै किन ?

======= मुलुक समृद्ध बनाउन इमान चाहिन्छ भनेर कार्य गर्ने हो भने अवस्था पक्कै सुध्रिने छ । मुलुकलाई चाहिएको सुशासन र समृद्धि हो । देशको राजनीतिक प्रणाली जनताले नै चलाउन सक्छन् भन्ने नेपालीले प्रमाणित गरिसकेका छन् । सर्वसाधारण परिवारकै सन्तान राष्ट्रप्रमुख हुनु नागरिक सर्वोच्चता हो । तर विधि र सुशासनको अझै खाँचो छ । =========


विमल लामिछाने
मुलुकको राजनीतिक यात्रामा एकताको नारा नयाँ होइन । केही दशकअघिसम्म फर्केर हेर्ने हो भनेपनि एकता विभाजन, नयाँ एकता, टुटफुट, आरोप र प्रत्यारोपमा नै मुलुक अल्मल्लिएको पाइन्छ । एकता र विभाजनको श्रृखलाबाट जनता आजित भइसकेका छन् । तरपनि जनता नयाँ प्रयोग चाहन्छन् ।
अबका पार्टीका नेताहरूमा सपना देखाउन सक्ने राजनीतिक दृष्टकोण चाहिन्छ । समाजमा पार्टीको हैसियत बनाउन सपना चाहिन्छ, सपनामा साँध लगाउने कार्यक्रम चाहिन्छ, त्यो कार्यक्रमलाई विश्वासिलो बनाउन त्याग, तपस्या र जनताप्रतिको समर्पण चाहिन्छ । हिजोको युद्धको बेला जस्तो वर्ग पक्षधरता नभए पनि वर्ग निष्ठा, वर्ग चिन्तन र वर्गलाई पच्ने जीवनशैली चाहिन्छ । सपना नहुनु, कार्यक्रमसहितको दृष्टकोण नहुनु, त्याग, तपस्या र समर्पणमा प्रश्न उठ्नु र खुला बजारी चिन्तन तथा जीवनशैलीले समाजवादी धु्रवीकरणको बाटोलाई लक्ष्यमा पुग्न दिँदैन । नेपालका भुइँका आधारभूत समूहले दलहरुप्रति शंका मानेको कुरा यही नै हो ।
अब समृद्धिको सपनालाई व्यवहारमा प्रस्फुटन गर्ने चुनौती छ । खाँचो सदाचारको छ । जनचाहना हिमाल, पहाड, तराईको विविधतालाई समेटेको सुन्दर बगैँचा नेपालको राष्ट्रिय एकता सुदृढ गर्नु छ । फरक राजनीतिक, धार्मिक आस्थाका नागरिक धर्म निरपेक्षताको फराकिलो मैदानमा राष्ट्र निर्माणमा जुट्न सक्ने अनुपम अवसर छ ।
लोकतान्त्रिक शक्तिहरुको गठजोरबाट सरकार सञ्चालित छ भने पछिल्लो समय सरकारभित्रका र केही वाहिरका दलहरु मिलेर समाजवादी मोर्चा बनाउँने कसरत पहिलो चरणमा सकिएको छ भने यसले अहिले राजनीतिक मैदान तातेको छ । कम्युनिष्टसहितका चार दलको समाजवादी मोर्चा घोषणाले केही नयाँपन दिन सक्ला वा मुलुकले अग्रगति लिन सक्ला कि भन्ने अपेक्षा जनमानसमा पैदा गराएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा भइसकेको भएपनि अझै केही प्रगतिपक्षधरहरु मोर्चा बाहिरै छन्, उनीहरुलाई पनि समट्न सक्नुपर्छ । अहिले मोर्चा बनेका दलहरु मध्ये विप्लव नेतृत्वको पार्टी संसद बाहिरको दल हो । नेकपाका महासचिव विप्लव पनि समाजवादी मोर्चामा सामेल भएर मुलुकमा अन्याय, अत्याचार र भष्टाचारका विरुद्ध संघर्ष गर्दै समाजवादको यात्रामा समाहित हुन सहमत भएका छन्, यो सकारात्मक पक्ष हो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा घोषणा गर्दै भनेका छन्– ‘नेकपालाई बचाउन सकिएन । अब समाजवादी मोर्चा बनाएर कम्युनिष्टहरू एक ठाउँमा उभिन्छौँ ।’ तर उनले भने झै मोर्चाको दिर्घायू सुनिश्चित हुने कुरामा भने शंका गर्ने ठाउँ धेरै छन् ।अहिले को अघि को पछि वा को ठूलो को सानो भन्दा पनि कसले समग्र मुलुक र जनताको हित चाहेका छन् भन्ने विषय मुख्य कुरा हो । हुन त नेपालको संविधान, २०७२ ले स्वीकार गरेको बाटो समाजवाद उन्मुख शासन प्रणाली हो । २०७४ को संघीय र प्रादेशिक चुनावमा नेपालका दुई ठुला राजनीतिक पार्टीले चुनावी मोर्चाको कुरा गर्दा खिसीट्युरी गर्नेहरूको जमात ठूलो थियो । करिब दुईतिहाइको नतिजा हातमा पार्दा पनि पार्टीहरू नसम्हालिँदा जनता निराश बनेकै हुन् । जनताले विकास चाहेका छन् सुशासन चाहेका छन् तर उल्टै मुलुकको खर्च बढेको छ, भ्रष्टाचार छताछुल्ल भएर देखिएको छ, महँगी छ, रोजगार सिर्जना हुन नसकेर युवा जनशक्ति विदेश पलायन भएको छ । यो सबै हुनुमा राजनीतिक, प्रशासनिक नेतृत्व, विकास निर्माण क्षेत्रमा संलग्न एवं साधन र स्रोतको प्रभावकारी सदुपयोगको अभाव हो ।
समाजवादी आन्दोलनको प्रदुर्भाव समाजका सबैभन्दा शोषित, उत्पिडित वर्गको मुक्तिका निम्ति सुरु भएको हो । मानव समाज दास, मालिकको नेतृत्वमा, समान्तहरुको नेतृत्वमा र पुँजीपतिहरुको नेतृत्वमा अगाडि बढ्ने कामहरु हुँदै आएको हो र खास गरेर पूँजीवादी क्रान्तिको क्रममा स्वतन्त्रता, भातृत्व र समानताका नाराहरु मुखरित भए । यसले नवोदित मध्यम वर्ग र पूँजीपति वर्गलाई समाजमा सबैभन्दा प्रगतिसिल वर्गका रुपमा स्थापित गराइदियो र पूँजीवादी युगमा उत्पादको गति र मात्रा एकदमै तीब्र गतिमा बढ्यो तर पूँजीवादले आफूले प्रतिवद्धता जनाएको स्वतन्त्रता, भातृत्व र समानतालाई समेत व्यावहारमा लागु गर्न सकेन ।
२०५२ देखि सुरु भएको सशस्त्र जनयुद्धको बाटो हुँदै २०६२÷६३ मा पुग्दा नेपालका सात राजनीतिक पार्टी नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन संविधान सभाको चुनाव गर्न सहमत भए । सामाजिक सञ्जालमा भनिएझै आयातित आन्दोलनको दस्ताबेज २०७२ को संविधान थिएन । त्यो त परिवर्तनको दस्ताबेज थियो । नेकपा माओवादीको आयोजनामा लडिएको सुनौलो दिनको सपना नै नेपालको समाजवादी आन्दोलन थियो । त्यही आन्दोलन र लोकतान्त्रिक गणतन्त्रकै उपज हो, गाउँ गाउँसम्म सडक, बिजुली, शिक्षा र स्वास्थ्य विस्तार भएको । अब सुशासन र समृद्धिको यात्रामा समग्र अठोट चाहिएको छ । राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो । मुलुक समृद्ध बनाउन इमान चाहिन्छ भनेर कार्य गर्ने हो भने अवस्था पक्कै सुध्रिने छ । मुलुकलाई चाहिएको सुशासन र समृद्धि हो । देशको राजनीतिक प्रणाली जनताले नै चलाउन सक्छन् भन्ने नेपालीले प्रमाणित गरिसकेका छन् । सर्वसाधारण परिवारकै सन्तान राष्ट्रप्रमुख हुनु नागरिक सर्वोच्चता हो । तर विधि र सुशासनको अझै खाँचो छ ।
अब एक्लै कुदेर मुलुकको समग्र विकास र समृद्धी सम्भव हुँदैन, समाजवादी मुलुक परिकल्पनाले मात्रै प्राप्त नहुने कुरा हो । मुलु्कको विकास, समृद्धी र सुशासनकालागि र समाजवादको पूर्वतयारी गर्न राष्ट्रिय एकता अहिलेको आवश्यकता र निविकल्प सर्त हो ।