उर्लाबारी, १३ असार / जङ्गली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए ।
खाना खाए लगत्तै ७६ वर्षीया देशमाया राई, ४६ वर्षीय मनकुमार राई, ४४ वर्षीया मङ्गला राई ,२४ वर्षीया सुस्मिता राई र १४ वर्षीया आइसिका राई बिरामीलाई नसा लागेको थियोे । राति ९ बजेदेखि पाँचै जनाले बान्ता गर्दै बरबर्राउन थालेपछि राई परिवारका आफन्तलाई खबर गरिएको थियोे ।
मङ्गला र सुस्मिताको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने अन्य तीनजना अझैसम्म उठ्न सकेका छैनन् । देशमाया राईले भने, ‘‘खुट्टा टेकिदैन, उठ्ने आँट आउँदैन ।’’ अर्का बिरामी मनकुमार राईले उपचारका लागि सहयोग गरिदिन आग्रह गरे ।
पाँचथरमा जंगली च्याउ खादा नौ जना बिरामी
पाँचथरको फिदिम र कुम्मायकमा जंगली च्याउ खादा नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा फिदिम नगरपालिका ११ नागीन निवासी एकै परिवारका पाँच जना छन् ।बिहानको खानामा जंगली च्याउको तरकारी खाँदा ६० वर्षीय श्रीमाया मेयाङवा ३८ वर्षीय प्रिय कुमार मेयाङवा, २१ वर्षीय सुमन मेयाङवा, फालेलुङ सात निवासी ज्वाई ५१ वर्षीय रामप्रसाद केरुङ र जस माया मेयाङवा रहेका छन् ।
बिरामीहरुलाई उपचार पश्चात घर पठाइएको प्रहरीले जनाएकोे छ । उता कुम्मायक गाउँपालिका १ यासोकका ३२ वर्षीय हेमन्त थापा, ६८ वर्षीय लिला थापा, ६० वर्षीय इन्द्रमाया नेपाली र ६० वर्षीय रुद्रबहादुर दर्जी पनि बिरामी परेको जिल्ला प्रहरी कार्यलय पाँचथरका पहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए ।
बिरामीलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएपनि थप जोखिम हुने भन्दै बिर्तासिटी अस्पताल पठाइएको पाँचथर अस्पतालले जनाएको छ । चारै जनाले मंगलबार विहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।

Facebook Comments Box