विराटनगर / कोशी प्रदेशको सरकार गठनका लागि काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने राप्रपाले सङ्केत गरेको छ ।
राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरू तथा पार्टीका पदाधिकारीहरूसँग अध्यक्ष राजेन्द्र लिङ्देनले झापास्थित आफ्नै निवासमा छलफल गरेका थिए । उक्त छलफलले सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको राप्रपाकी सांसद सविना बजगाईले बताइन् । राप्रपाले प्रदेशमा सम्भावित मध्यावधि निर्वाचन रोक्न हुन सक्ने प्रयास र नयाँ सरकार गठन प्रक्रियामा राप्रपाको भूमिकाको विषयमा छलफल गरेको हो ।
‘हामीले राजनीतिक चरित्र देखाएर यसअघि एमालेसँग भएको सहमति र सहकार्यअनुसार शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा मतदान गरेका हौँ । अझै पनि उहाँले बहुमत जुटाउन सक्नु भयो भने उहाँलाई नै सहयोग गर्ने, बहुमत जुटाउन नसकेको खण्डमा विकल्प खोल्न अध्यक्षलाई जिम्मा दिने निर्णय भएको छ,’ उनले भनिन् । बजगाईंले आफूहरू कुनै पनि दलसँग छलफलको लागि खुला रहेको बताइन् ।
छलफलमा मध्यावधिमा जाने वा नजाने भन्ने विषय पनि उठेको थियो । ‘हामीले मध्यावधिमा जानबाट सकेसम्म रोक्ने, नभए मध्यावधिमा जान पनि तयार हुनुपर्छ भन्ने कुरामा छलफल पनि भयो,’ उनले भनिन् ।
पुस २४ गते एमालेका हिक्मत कार्की नेतृत्वको सरकार गठन हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो । यसैबीच नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र र गठबन्धन दलका नेताहरू काठमाडौँ पुगेका छन् । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रिया भने भोलिदेखि सुरु हुने अनुमान छ ।

Facebook Comments Box