विमल लामिछाने

दमक/  नेपालमा उत्पादित बस्तु विदेश निर्यात बढ्न थालेको छ । तर निर्यात गर्ने राष्ट्रिय योजना कति सफल हुँदैछ भन्ने विषयको औपचारिक तथ्यांक सरकारसँग पनि छैन । नेपालमा उत्पादित अलैची, कुचो, भटमास, चिया जस्ता बस्तुहरु निर्यात हुँदै आएको थियो, पछिल्लो समय स्कुस पनि वैधानिकरूपमै भारत निर्यात हुने भएको छ ।

नेपालका लघु, घरेलु तथा साना उद्योगमा उत्पादित सामग्री छिमेकी भारतदेखि युरोप–अमेरिकासम्म निर्यात हुन्छ । परिमाण सानो भए पनि यसको अर्थपूर्ण महत्व रहेको व्यवसायीहरूको भनाइ छ । राज्यले प्रवद्र्धन गरे सानो लगानीमै उत्पादन हुने यस्ता वस्तु आयात रोक्ने गरी निर्यात बढाउन सकिने सम्भाब्यताहरु पनि थुप्रै छन् । पछिल्ला ३ वर्षलाई हेर्दा नेपालले वार्षिक ७० करोड बढीको कुचो र पौने चार करोडमाथिको अचार निर्यात गर्दै आएको छ । नेपालमा उत्पादित टाँकको माग छिमेकी भारत र चीनमा मात्र होइन, अमेरिका, जर्मनी, नेदरल्यान्ड र हङकङसम्म रहेको छ ।

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित यस्ता वस्तु निर्यातले व्यापार घाटा न्यूनीकरणमा भरथेग मात्रै गरेको छैन, महिला, अशक्त, पिछडिएको वर्ग तथा विपन्नलाई उद्यमीसमेत बनाएको छ ।

सियोमा परनिर्भर नेपालले माछा मार्ने बल्छी, दाह्री काट्ने रेजर, भेटेरेनरी भ्याक्सिन, टाँकलगायत वस्तु निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, छुर्पी (कुकुर र बिरालोको खाना), कपाल र त्यसबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि, यार्सागुम्बा, डाइपर, स्यानेटरी प्याड, क्रिसमसका सामग्री, बाद्यबादन, कन्ट्याक्ट लेन्स, मूर्ति, सस, घन्टी, चुरा र टीका, टोपी, ह्याट्स, क्यापलगायत वस्तुसमेत निर्यात भइरहेका तथ्यांकमा छ । सानो लगानीमा उत्पादन हुने यस्ता वस्तु निर्यातले एकातर्फ सम्भावित आयात वृद्धि रोक्न मद्दत गरिरहेको छ भने अर्कोतर्फ स्थानीयस्तरमा रोजगारी एवं उद्यमशीलता विकास गरिरहेका छन् ।

मुख्यगरी अम्लिसोको कुचो निर्यात हुने गरेको छ । त्यस्तै, बाँस, नरिवलको सिन्का लगायतका कुचो पनि निर्यात हुन्छ, तर त्यसको परिमाण भने थोरै छ । कुचोको मुख्य बजार भारत हो ।

हिमाली क्षेत्रमा पाइने लोक्ताबाट नेपाली कागज हातेकागज उत्पादन गरिन्छ । लघु, घरेलु तथा साना उद्यमबाट उत्पादित यस्तो कागज गत आवमा ५२ करोड ७२ लाखको निर्यात भएको मेची भन्सार कार्यालय भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिए ।

नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुर्पी अमेरिका, क्यानडा, जापानलगायतका देशसम्म पुग्छ । विभागका अनुसार गएको आर्थिक वर्षमा दुई अर्ब ९१ करोडको छुर्पी निर्यात भएको थियो । सबैभन्दा धेरै अमेरिका निर्यात हुने गरेको छ । अहिले छुर्पीको निर्यात राम्रो छ, सुरुसुरुमा घरघरमा उत्पादन हुने छुर्पी अहिले व्यावसायिक रूपमा डेरीमा उत्पादन हुन्छ । यसमा किसानदेखि उद्यमीसम्म जोडिएका छन् ।

यस्तै नेपालको मूर्तिकलालाई चीन, युरोप तथा अमेरिकामा बढी रुचाइन्छ । यस्ता सामग्रीको निर्यात पनि उल्लेखनीय मात्रामा हुन्छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा नेपालले २३ करोड ८० लाखको मूर्ति र चार करोड २२ लाखको घन्टी निर्यात गरेको छ ।

नेपालले आफ्नो निर्यात क्षमताको उपयोग गर्न सकेको छैन । खासगरी स्वदशी कच्चा पदार्थमा आधारित वस्तुको निर्यातमा हामीले जोड दिनुपर्छ । नेपालमा कृषि, जडीबुटी, हस्तकलालगायत थुप्रै वस्तु निर्यातको सम्भावना उच्च छ । धेरथोर परिमाणमा निर्यात पनि भइरहेको छ । तर, चिस्यान केन्द्र, संकलन केन्द्र, व्यापार पूर्वाधारलगायतको व्यवस्था गर्ने र उत्पादक तथा निर्यातकर्तालाई सहज रूपमा नगद प्रोत्साहन गर्ने हो भने यस्ता वस्तुको निर्यात बढाउन सकिन्छ । सरकारले विभिन्न २७ वस्तुलाई निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको छ । बजेट र मौद्रिक नीतिले घरेलु, लघु तथा हस्तकलाका उत्पादन र त्यसको निर्यातमा प्रोत्साहन गर्ने नीति लिएको छ । तर, कार्यान्वयन कमजोर छ ।

Facebook Comments Box