दमक/ झापाको दमक नगरपालिकाको आव वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम र बजेट यसपाली भने सहजतापूर्वक सर्वसम्मत रुपमा पास भएको छ । गत वर्ष भने चालू आवको बजेट पास गर्न बसेको नगर सभामा नेकपा एमाले तर्फका सभासद्हरुले व्यापक अवरोध र विवाद गरेका थिए । तर यसपाली भने यही असार १० गते पेश भएको आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १९ गते बसेको कार्यपालिकाको बैठकले असार १५ भित्र आएका केही सुझावहरुलाई समेट्दै सामान्य संशोधन गरेको आधारमा बुधबार बसेको १३ औं नगर सभाबाट विना कुनै अवरोध पास पारित गरिएको छ । यसलाई नगरपालिकाका जनप्रतिनिधिहरु बीचको आपसी समझदारी, समन्वय र आम नगरवासीहरुको चाहनालाई सम्बोधन गरिएको रुपमा लिनुपर्ने दमक नगर प्रमुख राम कुमार थापाले प्रतिक्रिया दिएका छन् । विगतमा जे जे भएपनि अबका वर्षहरुमा सहकार्य, समन्वय र सहमतिको यो संस्कृतिको परम्परा थालनी भएको साथै यसले निरन्तरता पाउने पनि उनले बताएका छन् ।

नगरका योजना र कार्यक्रमहरुलाई नीतिगत रुपमा र अहिले पारित गरिएको बजेट जसरी समझदारीपूर्वक ल्याइयो, त्यसरीनै कार्यान्वयनको चरणमा लैजाने सन्दर्भमा पनि एकढिक्का भएर अघि बढ्ने नगर प्रमुख थापाले विश्वास दिलाए । उनले दमकवासीहरुका समस्या र चुनौतीहरुलाई सामना गर्न तथा विकासको दिशामा अग्रसर गराउन साथै समृद्ध नगर सुखी नगरवासीको अवधारणालाई साकार पार्न सबै जनप्रतिनिधि र सरोकारवालाहरु उत्तिकै दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । असार १० गते पहिलो र २० गते बुधबार बसेको दोश्रो बैठकबाटै दमक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएकोमा सबै जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै नगर सभा सफल पार्न सहयोग गरेकोमा खुशी प्रकट गरे । दमक नगरपालिकामा नगर प्रमुख र १ वडाध्यक्ष राप्रपा, उप–प्रमुख सहित केही वडाध्यक्ष नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्छन् भने धेरैजसो वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरु नेकपा एमालेका रहेका छन् । नगर प्रमुख र उप–प्रमुख अल्पमतमा भएको दमक नगर सभामा यसरी सर्वसम्मत रुपमा बजेट पास हुनुले दमक नगरवासीहरुमा भने सकारात्मक सन्देश प्रवाह भएको विश्लेषकहरुको भनाई रहेको छ ।

बुधबारको नगर सभामा दमक–६ का वडा सदस्य कमल कुमार श्रेष्ठले आफूले नगर प्रमुख र उप– प्रमुखको कोषको खर्चको हिसाव किताव कार्यपालिका बैठकमा सार्वजनिक हुनुपर्ने माग गरेकोमा सो को सम्बोधन असार १९ गतेको कार्यपालिका बैठकबाट संशोधन भएको र घर बहाल कर २ प्रतिशत मात्र राख्नुपर्ने प्रस्ताव पनि समेटिएकाले बजेट पारित गरिएको बताए । नगर सभाको खुला सत्रमा १० जना नगर सभासद्हरुले नीति तथा कार्यक्रम साथै बजेटमा समेटनुपर्ने भन्दै केही कुराहरु राखेका थिए भने केही मागहरु समेटिएको भन्दै केही थप सु्झावहरु दिएका थिए । ती सुझावहरु अधिकांश आफूहरुले समेटेको र केही नसमेटिएको भए सकारात्मक रुपमा ग्रहण गरी विभिन्न कार्यक्रम मार्फत् व्यवहारमा कार्यान्वयनमा ल्याइने प्रतिवद्धता नगर सभाको अध्यक्षता गरेका नगर प्रमुख थापाले जाहेर गरेका थिए ।

नगर सभामा बुधबार पेश भएको विभिन्न समितिका प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट, विनियोजन विधेयक, राजश्व संकलन तथा परिचालन विधेयक तथा आर्थिक विधेयक निर्णयार्थ प्रस्तुत गरिएकोमा हुन्छ र हुन्न भन्ने ध्वनि मत दिन अनुरोध गर्दा सबै जनप्रतिनिधिहरुले हुन्छ भनेका थिए । साथै ताली लगाउँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास गरेका थिए । नगर सभाले विभिन्न समितिहरु जस्तै ः सामाजिक विकास, न्यायिक, पूर्वाधार विकास, आर्थिक विकास, वातावरण, सुशासन तथा स्थानीय सेवा र वातावरण समितिको प्रतिवेदन पनि पारित गरेको छ । नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेकी थिइन् भने बुधबारको नगर सभाको दोश्रो बैठकमा पनि उनै उप–प्रमुख भट्टराईले माथि उल्लिखित सबै प्रस्तावहरु स्वीकृतार्थ पेश गरेकी थिइन् । बुधबारको नगर सभामा नगर सभासदहरु कमल कुमार श्रेष्ठ, भूमिका आचार्य, नरेश बञ्जरा, डेन्जोङ शेर्पा, चन्द्रकला विक, पदम गिरी, ललित विक, हुकुम बस्नेत, नरेश सुनुवार, हरिमाया चुडाल र गजेन्द्र धिमालले आ–आफ्ना सुझावहरु राखेका थिए ।

Facebook Comments Box