विराटनगर / नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टी बिगार्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन् ।

नेकपा एकीकृत समाजवादी मोरङले विराटनगरमा गरेको प्रशिक्षण कार्यक्रममा महासचिव भुसालले गुटबन्दी, गालीगलौज गर्ने जस्ता गतिविधि ओलीबाट भएको बताए ।

उनले ओली प्रधानमन्त्री भएपछि भाष्य नै बिग्रिएको आरोप समेत लगाएका छन् । ‘प्रधानमन्त्रीले महिनामा ३ पटक मात्रै राम्रा कुरा गरे भने तीन करोड जनतामा सकारात्मक सोच बन्छ,’ महासचिव भुसालले भने, ‘तर ओलीजी ले प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको पद जस्तो गरेर उडाउनु भयो ।’

केपी ओली प्रधानमन्त्री हुँदा विदेशीसँग गरिने व्यवहारबाटै उनको राष्ट्रवादबारे थाहा हुने भुसालको भनाइ थियो ।

केपी ओलीकै कारण नयाँ शक्तिहरूको उदय भएको उनले बताए । ‘अहिले घण्टीले केही पनि गरेको छैन । यो हावा हुरीबाट आएको जस्तो देखिन्छ । तर हामी सुध्रिएनौं भने घण्टी मात्रै होइन शंखको पनि उदय हुन सक्छ । हामीलाई छेस्कोले पनि असर गर्न सक्छ । अब यसलाई सुधार गरेर जानुपर्छ’ उनले भने ।

दुई तिहाइको सरकार नढालेको भए घण्टीहरूको उदय नहुने उनको जिकिर छ । महासचिव भुसालले नेकपा एमालेले नर्कको बाटो रोजिसकेको समेत बताए ।

उनले एकीकृत समाजवादीको वडा देखिनै अब बन्ने पदाधिकारीले ५ वर्षे खाका ल्याउनु पर्ने बताए ।

उसको खाका हेरेर मात्रै कमिटीमा राख्ने उनले बताए । ५ वर्षमा भित्रमा समाजवाद ल्याउने गरी समाजवादी पार्टी बनाउने योजना पार्टी रहेको उनको भनाइ थियो ।

एकीकृत समाजावदीले मोरङमा ४५ औ पुस्पलाल स्मृति दिवस तिन दिन सम्म मनाउने भएको छ । शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ भने आइतवार बिहान विराटनगरको पुष्पलाल चोकमा पुष्पलालको शालिकमा माल्यापर्ण गर्ने र बेलुका सबै पालिकमा दिप प्रज्वलन गर्ने एकीकृत समाजावदीका नेता महेश रेग्मीले बताए । रेग्मीका अनुसार सोमबार ट्राफिक चोकमा रक्तदान गरीने भएको छ ।

Facebook Comments Box