दमक /  पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ भने कोदोमात्रै ५१ करोडको आयात भएको छ । स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको अन्न, तरकारी र फलफूल नै ठूलोमात्रामा भारतबाट आयात भएको पाइएको हो ।
मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।
आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।
यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।
कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।
सोही अवधिमा ३१ करोड ९८ लाख बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजारको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।
पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजारको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, दुई करोड ७१ लाख ५२ हजारको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, चार करोड ९८ लाखको तीन हजार एक सय १३ मेट्रिक टन लौका, तीन करोड १० लाख बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र तीन करोड ४० लाख ९६ हजारको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्यांक छ ।
सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर, ६ करोड ६६ लाख ६६ हजार बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाखको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजारको चार हजार तीन सय २८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात गरिएको छ । तीन अर्ब ३५ करोड नौ लाख ८१ हजारको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजारको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र रु. दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको छ ।
कार्यालयको तथ्यांक अनुसार आव २०७९÷०८० मा पूर्वीनाका काँकडभिट्टा हुँदै ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार ३१२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला भारतबाट आयात भएको छ । प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् ।

यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख मूल्य बराबरको ६७१ मेट्रिक टन स्याउ र रु. ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार ५३१ मेट्रिक टन भुइँकटहर नेपालले आयात गरेको छ ।
भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भुइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन् । बिगत एक वर्षमा भारतबाट ३७ करोड चार लाख ६४ हजार मूल्य बराबरको सात हजार ७१८ मेट्रिक टन सुन्तला र १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको ५५२ मेट्रिक टन काँचो नरिवल आयात भएको छ ।
एक वर्षमा पूर्वीनाकाबाट रु. १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिक टन अंगुर र रु. २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको दुई हजार ७६३ मेट्रिक टन अनार आयात भएको छ ।
पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लामा किवी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फुटको व्यावसायिक रुपमा खेती हुन थालेको छ । तैपनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन ।

Facebook Comments Box