कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।


बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधानअनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन्।
उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन्। बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताए।
उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताए। सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उनले माग गरे।
उनले भने ‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधानअनुसार चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो। महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि तत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ। विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको छ। भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ। योजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या। सुधारको पाटो, विधानअनुसार मेरो, तेरो नभनी फिल्डमा पठाउने। अब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ। जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ। बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ।’
त्यस्तै केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए।
उनले माओवादी पार्टीजति विधानमा अरू कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए।
उनले भने ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने। अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन। सिद्धियो झर्ने ठाउँ। अब उकालो लाग्ने। ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरुको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने। ०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने। जनताको हामीसँग विश्वास गुमेको छ। जनता रिसाएका छन्। रिसाएका जनताको मन खुशी बनाउने। ३ महिनाभित्र विधान सम्मेलन गर्ने। किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन। हामी जतिबेला पायो त्यतिबेला बदल्दीन्छौँ। परिवर्तन गर्छौं। थपिदिन्छौँ। घटाइदिन्छौँ। अब आइन्दा नगर्ने भन्ने छ।’
केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताए। त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए।
उनले भने – ‘वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषी हुँ। पार्टीको संगठन राम्रो भएन। जनतामा हामी कम गयौँ। टाठाबाठा, जान्नेसुन्ने, धनिमानी, हुनेखानेहरुमा बढी समय बितायौँ। शहरिया, बजारिया भयौँ। ग्रामिण जीवनमा गएनौँ। किसान, मजदुर, श्रमप्रति हामीले ध्यान दिएनौँ। समाजवादउन्मुख कार्य हामीले गर्न सकेनौँ। यो कुरा चाँडै गर्नुपर्यो भन्ने कुरा छ। एउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरु चुनावबाट आउनुपर्यो।’
केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए। उनले सरकारको कामले जनतालाई आशा जगाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताए। आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उनले बताए।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए। उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामुहिकतामा विश्वास गर्नुपर्ने बताए।
केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताइन्। उनले पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन्।
केन्द्रीय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए। बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गरे।
केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताए। बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उनले जानकारी दिए।
उनले भने ‘सरकारले भ्रष्टाचार नियन्त्रणको सम्बधमा गतिलो ढंगले दोषीलाई कारबाही गर्ने काम गरिरहेको छ, पार्टीभित्र वा बाहिरका हुन जोसुकै हुन्। त्यसलाई निर्मम ढंगले कोच्नुपर्छ। यो टड्कारो रुपमा उठेको छ।’
केन्द्रीय सदस्य शाक्यले पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गरे।