माओवादी केन्द्रले तीन महिने रुपान्तरण अभियान चलाउने

दमक/ नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले आइतबार केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानका लागि आफूसहितका नेताहरुको जिम्मेवारी तोकिएको र सोहीअनुसार देशभरका वडातहसम्म परिचालित हुने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने जनाएको छ ।
अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । ’नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने छ । अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ’ केन्द्रीय सदस्य राजन दाहालले भने, ’सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुनेछ । ’
नेपालको सन्दर्भमा माओवादी आन्दोलनले एउटा विशिष्ट पहिचान र महत्व स्थापित गरिसकेको छ । माओवादी एउटा पार्टी मात्र नभएर आन्दोलनको रूपमा अगाडि आयो र अहिले पनि विभिन्न शाखाहरूमा त्यो आन्दोलन क्रियाशील नै छ । आजको माओवादी आन्दोलन समग्रमा उभारको चरणमा त छैन तर यो उतार अथवा तल झरेको स्थितिमा पनि छैन । यो एउटा ठहरावको स्थितिमा छ । यो विकास र पतन दुवै नभइसकेको अवस्था हो ।
अहिले नेपालको कम्युनिष्ट आन्दोलन ७५ वर्षको परिपक्व चरणमा छ । माओवादी आन्दोलन नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनकै एउटा शाखा हो । यो अवधिमा यसले उतार र चढावका अनगिन्ती आरोह–अवरोहहरू पार गरेको छ । धेरै ठूला–ठूला कष्टहरू यसले खेपेको छ। धेरै ठूल्ठूला मूल्य यसले चुकाउनुपरेको छ ।
विगतमा चुकाएको मूल्य र भोगेको कष्टको तुलनामा अहिलेको समस्या ठूलो होइन । विगतमा प्रतिबन्ध, विभाजन र जनतामा संगठन गर्न नजाने अभ्यास पनि थिए । त्यो भन्दा अहिलेको अवस्था विल्कुल फरक छ ।
माओवादी योगदानको मूल्याङ्कन गर्दा विद्रोही भएर निर्वाह गरेको भूमिका र सरकारमा रहँदा खेलेको भूमिका, दुईवटै कोणबाट हेर्नुपर्छ । यसरी हेर्दा माओवादी धाराको औचित्य र नेतृत्वको रूपमा भोलिको संभाव्यता पुष्टि हुन्छ । विद्रोही भएर गरेका कामहरू स्थापित नै छन् । सामाजिक न्याय, समानुपातिक समावेशिता लगायतका आजको राजनीतिक जगसहितको राजनीतिक परिवर्तन माओवादीको कारणले आएको छ । विद्रोही भएर माओवादीले देशलाई यहाँसम्म ल्याउन निर्वाह गरेको भूमिका मूलतः नेतृत्वदायी छ ।
माओवादीको आजको पहिलो चुनौती भनेकै सरकारले गरिरहेका राम्रा कामहरूको सही र दिगो संगठनात्मक रूपान्तरण हो । ०६२÷६३ पछि माओवादी सरकारमा पुगेपछि गरेका कामहरूलाई स्थापित गर्न पनि हामीले महत्वका साथ काम गर्नुपर्छ । माओवादी सत्तामा गएपछि देशमा ठूला भौतिक विकासको सुरुवात भएको छ । १५–२० वर्षअघि देश जुन अवस्थामा थियो, आज त्योभन्दा विल्कुलै फरक अवस्थामा पुगेको छ । गाउँगाउँमा पक्की बाटाहरू पुगेका छन् । खानेपानीका समस्या एक ढंगले समाधान भएका वा हुँदै गरेको स्थिति छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढेको छ ।
सूचना प्रविधिमा आएको ठूलो परिवर्तनबाट नागरिक लाभान्वित हुन सकेका छन् । यी माओवादी सरकारमा गएपछि भएका परिवर्तन हुन् । विगतमा पनि सरकारहरू थिए । तर माओवादीको सरकारमा यात्रासँगै विकास निर्माणको क्षेत्रमा ठूलो परिवर्तन आएको छ । स्वाभाविक रूपमा यसको जस माओवादीलाई जान्छ । माओबादी केन्द्रको केन्द्रीय बैठकमा पनि यही विश्लेषण भएको छ । माओवादी सरकारमै आएपछि नै देशकै समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । विद्युतमा देश आत्मनिर्भर बन्दै गएको छ । साना किसानको ऋण मिनाहा, निश्चित युनिटसम्म विपन्न परिवारलाई बिजुली निःशुल्क प्रदान जस्ता काम पनि माओवादीको नेतृत्वमै भएको हो । अहिले भ्रष्टाचार विरूद्ध जेहाद छेडेर सुशासनको पक्षमा उभिएको माओवादीले देशमा आशावादको नयाँ दियो बालेको छ ।
माओवादीका केही नकारात्मक पक्षहरू पनि छन् जसले पार्टीलाई ठहरावमा राख्न भूमिका निर्वाह गरेको छ । पहिलो, आजको माओवादी आन्दोलनसँग आवश्यकता अनुरूप स्पष्ट वैचारिकी छैन जसले यसलाई रणनैतिक रूपमा लामो समयसम्म अगाडि लैजान सकोस् । आजको कर्मलाई कहाँनेर लगेर नेपाल परिवर्तन र रूपान्तरणको आन्दोलनसँग जोड्ने भन्ने र आजकै कर्मलाई पनि हिजोकोबाट अलग कहाँबाट गर्ने भन्नेमा वैकल्पिक राजनीतिको रूपमा एउटा स्पष्ट वैचारिकी बनाउन सकेको छैन ।
दोस्रो, नेतृत्व स्थापित भएको छ तर यो भित्रैबाट सुगठित छैन । यसभित्रका अवयवहरू गतिशील भएको र एकअर्काको आन्तरिक स्वीकार्यता राम्रो भएको स्थिति छैन । हिजोको माओवादी पार्टी अनेकौं धाराहरूमा विभाजित भएको छ । एउटै माओवादी पार्टीभित्र पनि अनेकौं धाराहरू छन् । पार्टीले यसबाट अनेकौं समस्या भोगिरहेका छौं । यसरी सुगठित, संगठित नहुनु माओवादी पार्टीको अर्को समस्या हो ।
साथसाथै, केही पुराना दागहरू छन् जसलाई हामीले राम्ररी मेटाउन सकेका छैनौं । कम्युनिष्ट आन्दोलनमा लागेका, माओवादी धारामा लागेका अनगिन्ती पुराना दागहरू छन् । जस्तै, लोकतन्त्र, हिंसा, हामीले संहालेका मन्त्रालयहरूका काम र मन्त्रीहरूको पर्फर्मेन्सका बारेमा, नेताहरूका सम्बन्ध र सञ्जालका बारेमा अनगिन्ति प्रश्नहरू छन्। पब्लिक अडिटमा उत्तीर्ण हुन नसकेर ती दागहरूसहित हामी छौं। त्यो पनि हाम्रो एउटा नकारात्मक पक्ष हो ।
माओवादीसँग नयाँ अपिलिङ पावर पनि घट्दो छ । जनयुद्धले एउटा अपिल गरेको थियो । पञ्चायतकालले एउटा अपिल गरेको थियो । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको पक्षमा लड्नको लागि आज सकारात्मक कुराहरू हुँदाहुँदै पनि यसको अपिल पावर कमजोर छ । कम्तिमा नागरिकलाई अपिल गरेको अनुभूति छैन ।
स्वार्थ समूहलाई साथ दिने, सिनियर र सक्षम नेतालाई तल माथि दुवै तिरबाट छेक्ने संस्कार पार्टीमा बढ्दो छ । यसलाई नसच्याई माओवादी पुनःनिर्माणको प्रक्रिया सुरु नै हुँदैन । माथिदेखि तलसम्म नेतृत्वको जिम्मेवारीको सन्दर्भमा ठूलो बदलाव ल्याउन सके मात्र यसले माओवादी पार्टी पुनर्निर्माणको एउटा ठोस कामको सुरुवात हुन्छ ।
००

