दमक /   नेपालमा जलविद्युत उत्पादनको सम्भाव्यता उच्च रहेको प्रतिवेदनहरु यत्रतत्र छन् । विभिन्न समयमा गरिएका अध्ययनबाट पनि ८४ हजार मेगावाट विजुली उत्पादनको सम्भावना नेपालमा रहेको देखिएको थियो । तर, पछिल्ला तथ्याङ्कहरुले भने योभन्दा पनि ठूलो क्षमतामा बिजुली उत्पादनको सम्भावना देखाएको छ ।

सरकारले नदी प्रवाहमा आधारित आयोजना (आरओआर) मा आधारित आयोजनाको डिजाइन (क्यू) घटाएमा उत्पादन सम्भावना बढ्ने देखिएको हो ।

सरकारले जलविद्युतमा ‘क्यू २५’ गरेमा बिजुलीको उत्पादन ८० प्रतिशतसम्मले बढ्ने निजी क्षेत्रको भनाइ छ । हाल नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको डिजाइन ‘क्यू ४०’मा गर्नुपर्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा आबद्ध विभिन्न व्यवसायी नेपालमा डेढ लाख मेगावाट बिजुली उत्पादनको सम्भावना रहेको बताउँछन् ।

यस्तै, भारत र बंगलादेशले समेत नेपाल बिजुली उत्पादनमा दक्षिण एसियाको ‘पावर बैंक’का रुपमा रहेको निष्कर्ष निकालेका छन् ।

बिजुली उत्पादनमा ठूलो सम्भावना रहे पनि नेपालले हालसम्म न्यूनमात्रै प्रगति गरेको छ । लाखौँ मेगावाट बिजुली उत्पादनको सम्भावना रहँदासमेत ११० वर्षभन्दा लामो इतिहासमा जम्मा २७ सय ९४ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

तथ्याङ्कअनुसार आजको मितिसम्म निजी क्षेत्रबाट १६ सय ५५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै, विद्युत प्राधिकरणको लगानीका आयोजनाबाट ६६१ मेगावाट र प्राधिकरणकै सहायक कम्पनीहरुबाट ४७८ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

तर, यो नेपालको बिजुली उत्पादनमा रहेको सम्भावनाको एक प्रतिशत पनि नरहेको व्यवसायीहरु बताउँछन् । इप्पानका उपमहासचिव प्रकाश दुलाल क्यू–४० मा आयोजना डिजाइन गर्दा नै ७२ हजारभन्दा धेरै मेगावाट बिजुली नदी प्रवाहमा आधारित आयोजनाबाट उत्पादन गर्न सकिने बताउँछन् ।

क्यू–२५ गरेमा यो क्षमता बढेर १ लाख १२ हजार पुग्ने र जलाशय र अर्ध जलाशययुक्त आयोजनाको ४८ हजार मेगावाट उत्पादन क्षमता हुन्छ । यस्तै, सोलारबाट ३० हजार मेगावाट बिजुली उत्पादनको सम्भावना नेपालमा छ ।

 

Facebook Comments Box