काठमाडौं । पार्टी गठनको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा आशाभन्दा निराशाले बढी स्थान पायो । बैठकमा केन्द्रीय सदस्य बाहेक पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीलाई बोल्ने समय छुट्याइएको थिएन । तर आफूमाथि केही प्रश्न उठेपछि पार्टी सचिव रामकुमारी झाँक्रीले समय मागेरै स्पष्टिकरण दिइन्, अध्यक्ष नेपालमाथि तमाम प्रश्न तेर्स्याइन् ।

‘कार्यकर्ताहरू गतिशील छन् र अझै तेज गतिमा हिँड्न चाहन्छन् । तर संस्थाका रूपमा पार्टीले त्यसलाई पकड्न सकेको छैन । सैद्धान्तिक, वैचारिक पाटोमा स्पष्ट नभएकै कारण यो संकट देखिएको छ’, उनले भनिन्, ‘राजनीतिक हिसाबले कहाँ उभिने भन्ने स्पष्ट छैन । नेता र कार्यकर्तालाई जिम्मेवारी दिइँदैन । नेतृत्वको दृष्टिकोण स्पष्ट छैन । यस्तै हो भने कमरेडहरू पार्टीको अस्तित्व रक्षामै चुनौती हुनसक्छ ।’

झाँक्रीले बैठकमा आफूले काम गर्न चाहेको, तर जिम्मेवारी नै नपाएको कुरा स्पष्टै राखिन् । ‘अहिले आएर यो वातावरण बनेको छ । अब जिम्मेवारी पाउने हो भने काम गर्न सकिन्छ’, उनले भनिन्, ‘मैले यो पार्टीमा काम नै गर्न पाइन । तिमीले किन काम गरिनौं भनेर पनि कसैले सोधेन । मैले जसरी सोच्छु त्यसरी पार्टी हिँड्दै हिँडेन ।’

राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले सुरुदेखि नै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।
राजनीतिक पार्टीको बैठकमा विचारमाथि छलफल हुनु नकारात्मक कुरा होइन । अझ एउटै लक्ष्यका लागि फरक विचार र कार्यक्रमको प्रस्ताव हुनु त राजनीतिक पार्टीका लागि झनै सकरात्मक विषय हो । तर त्यसको छलफल कति स्वस्थ भयो र निर्णय प्रक्रिया कस्तो रह्यो भन्ने कुराले नै परिणाममा पुग्ने हो । त्यसैले खनालले बैठकमा राखेको फरक विचार ठूलो विषय होइन ।

‘तर उनले मात्रै होइन केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पनि पार्टी अध्यक्ष नेपाल र उनको कार्यशैलीलाई लिएर प्रश्न उठाए भने उनको कार्य क्षमतामाथि पनि प्रश्न उठेको छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले सुरुदेखि नै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । नेता खनालले पहिलो दिनै अध्यक्षको प्रतिवेदनमाथि गम्भीर वैचारिक र कार्यनीतिक प्रश्नहरू उठाइ दिए । जसले गर्दा उनी बैठकमा प्रश्नको जवाफ दिनुपर्ने दायित्वबाट मुक्त भए ।

तर अन्तिम दिनसम्म आइपुग्दा खनालले आफ्ना विचारलाई फरक मतका रूपमा भन्दा पनि पार्टीको सुधार र निर्माणका लागि भएकाले त्यही रूपमा बुझ्न अनुरोध गरे ।

गठन भएको दुई वर्ष बितिसक्दा सम्म पनि पार्टीले आकार लिन नसक्नु, चुनावको बहानामा पार्टीको सक्रियता रोकिनु, तर परिणाममा एकीकृत समाजवादी संसदको राष्ट्रिय दल पनि बन्न नसक्नु, एमालेबाट विभाजनपछि आएका नेता कार्यकर्ता फर्किने क्रम बढ्नु आदिको दोष केन्द्रीय समिति बैठकपछि अध्यक्ष नेपालमाथि थुप्रिएको छ ।

बैठकको अन्तिमसम्म आइपुग्दा अहिलेकै अवस्थाबाट उठ्नसक्दा पनि केही हुन्छ कि भन्ने आशामा देखिन्छन् । स्थानीय चुनाव र पछिल्लो आम चुनावपछि एकीकृत समाजवादीभित्र एक प्रकारको हतासा नै थियो । सचिवालयमार्फत जिम्मेवारी बाँडफाँट हुने र सबै कमिटीलाई सक्रिय बनाउने निर्णयले त्यसलाई अलिकति भए पनि चिर्ने कोशिस गरेको छ ।

तर बाँकी रहेको त्यो उत्साह तल्ला कमिटीमा प्रसार हुन्छ कि हुँदैन र निर्णय कति कार्यान्वयन हुन्छ भन्ने अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालसहित समग्र केन्द्रीय नेतृत्वको परीक्षा हुनेछ ।

Facebook Comments Box