कोशीमा एमालेले छान्यो मन्त्री हुनेको नाम

संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित
पाँच सदस्य मन्त्रिपरिषद् गठन गर्ने एमालेका प्रमुख सचेतक रेवतीरवण भण्डारीले जानकारी दिए ।
भण्डारीले एमालेबाट सुरुमा मन्त्री बन्नेको पनि टुंगो लागिसको जानकारी दिए । जसअनुसार कार्कीसहित तीलकुमार मिन्याङ्बो ऊर्जा तथा सिँचाइ मन्त्री, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री, पाँचकर्ण राई वनमन्त्रीमा नियुक्त हुनेछन् । यसैगरी सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुन लागेको उनले जानकारी दिए ।
बिहीबार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

