ताप्लेजुङमा बोलेरो दुर्घटना, १३ जना घाइते

ताप्लेजुङ, ९ असोज / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा नाबालिकासहित तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् ।
ताप्लेजुङका प्रहरी प्रमुख नायब उपरीक्षक राजन लिम्बूका अनुसार तिरिङ्गेदेखि पाथीभरा दर्शनमा जाने तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजेको समयमा दुर्घटना भएको थियो । उकालो भाग रहेको कच्ची सडकबाट जिप अचानक चिप्लिएर करिब ७० मिटर तल झरेर दुर्घटनाग्रस्त बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ लिम्बूले बताए।
सो जिप दुर्घटनाका घाइतेमध्ये ७० वर्षीया धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर सिफारिस (रेफर) गरिएको पनि प्रनाउ लिम्बूले जानकारी दिए । अन्य घाइते हुनेमा जिपका चालक २१ वर्षीय भक्त कार्की, ६२ वर्षीया फूलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया विमला डाँगी बस्नेत रहेका छन् ।
यस्तै दुई बालिका छ वर्षीया युनिसा बस्नेत, चार वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत, ३८ वर्षीय चन्द्रबहादुर कार्की र ४१ वर्षीय कर्णबहादुर कार्की घाइते भएका छन्। कर्णबहादुर झापाको बाह्दशी गाउँपालिका–२ निवासी हुन भने बाँकी सबै तिरिङ्गेका रहेको खुल्न आएको छ । यता एक जनाबाहेक सबै घाइतेको ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

