नेपालभर जलपंक्षीको गणना शुरु

दमक / देशभरि नै शनिबारदेखि जलपंक्षीको गणना शुरु भएको छ । हरेक वर्ष जनवरी १ देखि १६ तारिखसम्म जलपक्षी गणना गरिंँदै आएको छ । अन्तरराष्ट्रिय संस्था वेटल्यान्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभरि नै जलपंक्षी गणना गर्ने गर्छ ।
सोहीअनुसार देशभरि जलपंक्षी गणना गर्न लागिएको वेटल्यान्ड इन्टरनेशनलका राष्ट्रिय संयोजक चराविद डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी गणना शुरु गरिनेछ ।
पंक्षी गणनामा चराको प्रजाति र संख्या गणना गर्ने गरिन्छ । गणना गर्ने प्रक्रिया छिट्टै सकिने भए तापनि यसको प्रजाति, संख्या छुट्ट्याएर कुल संख्या गणना गर्न समय लाग्ने र अन्तिम गणना गरी वेटल्यान्ड इन्टरनेशनलमा पठाइने बताइएको छ । गणनामा एउटा समूहमा कम्तिमा १० जना रहने र एक जना टीम कोअर्डिनेटर रहने गणक समितिले जनाएको छ ।
हरेक वर्ष गरिंँदै आएको जलपंक्षी गणनामा यस वर्ष जलपक्षीको प्रजातिसंँगै संख्या पनि बढ्ने अनुमान गरिएको छ । विगत केही वर्षदेखि जलपक्षीको प्रजातिको संख्या बढे पनि चराको कुल संख्या स्थिर थियो । देशका संरक्षित क्षेत्र तथा निकुञ्ज, ताल तलैयामा जलपक्षीको संख्या घट्दै गएपनि नेपालमा चराको प्रजाति बढ्दै गएको छ ।
चराका प्रजाति संख्या र कुल संख्यामा उतारचढाव भइरहँदा चरा संरक्षणमा चुनौती देखिएको छ । जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोग, चोरी शिकार र प्रशस्त आहारा नहुंँदा चरा संरक्षणमा चुनौती थपिएको चराविदहरू बताउंँछन् ।
नेपालमा अहिलेसम्म देशभर ६० हजारको संख्यामा चरा छन् भने चितवनमा मात्रै १० हजारभन्दा बढी चरा छन् । नेपालमा सबैगरी ८ सय ८७ प्रजातिका चरा पाइन्छ भने चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा पाइन्छन् ।

शनिबार, १७ पुष, २०७८, बिहानको ०८:५६ बजे

सम्बन्धित खवर