तितेपातीको औषधीय गुण

नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पती हो तितेपाती । जताततै पाइने तितेपातीको औषधीय गुण भने कमैलाई थाहा छ ।
तितेपाती सामान्यतया : पूजाआजा या श्राद्द्धमा प्रयोग गरिन्छ । यो वनस्पती पशुलाई सोत्तरको रुपमा पनि बिछ्याइन्छ । कुनैकुनै पशुले मिठो मानेर खाने पनि गर्छन् । कतिपय मानिसलाई यसको बास्ना पनि मनपर्छ ।

सहज रुपमा जंगल या खेतबारीमा पाइने यो जडी स्वास्थ्यका लागि निकै उपयोगी सावित भएको छ । गुणका कारण तितेपातीलाई औषधिको राजा नै मानिन्छ । तितेपातीलाई अंग्रेजीमा ‘मगवर्ट’ या ‘ब्ल्याक सेज’ भनिन्छ भने यसको वैज्ञानिक नाम ‘अर्टिमिसिय भल्गरिस’ हो ।

कोरोना महामारीमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनले तितेपातीबाट स्यानिटाइजर समेत उत्पादन गरेको छ । तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयको दावी छ र स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार पारिएको हो ।

तितेपाती आपार औषधीय गुण भएको प्रमाणित भइसकेको छ । तितेपातीका विभिन्न प्रजाति भए तापनि नेपालमा ६ प्रजातिका उपलब्ध छन् । यो फूल फुल्ने बिरुवामा पर्छ ।
लामो अनुसन्धानपछि तितेपातीबाट बनेको औषधिबाट मलेरिया निको पार्न सकिने खोज चीनले पहिलो पटक सन् २०१५ मा पत्ता लगाएपछि यसको महत्व झन् बढदै गएको हो । जसका कारण चीनले नोबेल पुरस्कारसम्म जित्न सफल भयो । विभिन्न खाध्यान्नलाई बिग्रन नदिन र किरा लाग्नबाट बचाउन अहिले पनि परमपरागत रुपमा गाउँघरका किसानहरु तितेपाती प्रयोग गर्छन् ।

यसको उपयोग जडिबुटीका रुपमा र सौन्दर्य प्रसाधन अत्तर (पर्फ्युम) बनाउनका लागि पनि प्रयोग गरिन्छ । साधारणतया जहाँ पनि हुर्कने भएकाले यो वनस्पती खेती गर्न पनि कुनै कठिनाइ छैन ।

तितेपातीबाट तेल निकाल्न मिल्ने र यसको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने विज्ञहरुको दावी छ । बाली भित्र्याउनुअघि तितेपातीबाट बनेको औषधि छर्केर भन्डारण गर्नाले कुनै घुन या किरा नलाग्ने हुनाले किसानका लागि पनि निकै उपयोगी मानिएको छ ।
पाक विज्ञानमा पनि तितेपातीलाई एक ‘हर्ब’को रुपमा र ‘हर्बल टी’ मा प्रयोग गर्न सकिन्छ । कपालको चाया हटाउनदेखि लुतो लागेमा र चोटपटक लागेमा समेत गाउँघरमा तितेपाती प्रयोग गरेको पाइन्छ। चर्म रोग र सुन्निएको ठाउँमा पनि तितेपाती उपयोगी वनस्पती मानिन्छ। तितेपातीले कसैकसैलाई साइड इफेक्ट र एलर्जी पनि हुनसक्ने हुनाले बुझेर मात्र सेवन गर्नु उत्तम मानिन्छ ।

तितेपाती सेवन गर्दा हुने फाइदा :

युरिक एसिड भएकालाई तितेपाती निकै उपयोगी मानिन्छ ।

शरीरमा एलर्जी हुनेका लागि फाइदाजनक ।

कपालमा चाया पर्ने समस्या छ भने पनि तितेपाती कुटेर नुहाउँनाले हराउँछ ।

सेतो तितेपातीलाई पानीमा उमालेर सेक्नाले दुखेको, ठोक्किएको ठाउँमा आराम हुन्छ ।

डिप्रेसन र निन्द्रासम्बन्धी समस्या भएकालाई पनि तितेपाती अति उपयोगी मानिन्छ ।

शरीरमा जुका या चुर्ना परेमा तितेपातीको जराको पाउडर बनाएर बिहान मन तातो पानीमा एक चम्चा खानाले स्वत ः हराएर जान्छ ।

मधेमेहका रोगीका लागि पनि यो उत्तम मानिन्छ । यसको जराको पाउडर एक हप्तासम्म बेलुका सुत्ने बेलामा पानीमा घोलेर खान सकिन्छ ।

चोखो र शुद्ध वनस्पती भएको हुनाले धार्मिक रुपमा पनि यसको महत्व उच्च छ ।

शरीरमा एलर्जी हुने समस्या भएकाहरुका लागि पनि तितेपाती राम्रो मानिएको छ।

बाथ, पित्त र कफ (त्रिदोष) जस्ता रोगलाई नियन्त्रण गर्न निकै उपयोगी सावित हुन्छ ।

तितेपाती काटेर आलु वा अन्य अन्नलाई छोपेर भन्डारण गर्नाले किरा लाग्दैन ।

तितेपातीलाई हल्का सुकाएर पकाई खोटो बनाएर दिनहुँ एकएक चम्चा खानाले सम्पूर्ण रोगलाई नियन्त्रण गर्ने काम गर्छ ।

महिनावारी गडबड भएका महिलाका लागि पनि तितेपाती उत्तम जडी हा । तर गर्भवतीका लागि भने यो राम्रो मानिँदैन ।

यसको जुस ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउँछ ।

तितेपातीको तेल पनि :

तितेपातीको तेल पनि निकाल्न सकिन्छ र यो मानव शरीरको मस्तिष्कका लागि अति नै राम्रो मानिन्छ । कसैलाई नर्भस हुने समस्या छ भने तितेपातीको तेल र रोजमेरीको तेल मिसाएर प्रयोग गर्नाले समस्या विस्तारै हट्दै जान्छ । तितेपतीको तेल नेपालमा पनि उत्पादन गर्न सुरु गरिएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ठूलोगाउँमा गत वर्षबाट उत्पादन गर्न सुरु गरिएको तितेपातीको तेल अहिले सानो स्केलमा भएतापनि पछि बढ्दै जाने सञ्चालकहरुको दावी छ ।
पेट सम्बन्धी समस्या हुनेले तितेपातीको तेल र क्यारिएर आयल अर्थात् वनस्पती तेल मिसाएर मसाज गर्नाले निकै आराम हुन्छ । खाना अपच हुने समस्या भएकाहरुका लागि पनि यो तेल उत्तम छ ।

पकवान क्षेत्रमा पनि तितेपाती :

तितेपातीलाई उत्तरी युरोपतिर एक कमन हर्बको रुपमा खाना पनि प्रयोग गरिन्छ । विभिन्न सुप, सलादहरुमा तितेपातीको फूल, पात या डाँठसम्म एक सुगन्धित जडीको रुपमा प्राचीन समयदेखि प्रयोगमा ल्याइएको छ । मासुका आइटममा र ‘हर्बल टी’को रुपमा पनि मिसाएर प्रयोग गरिन्छ । तितेपातीको प्रयोगले शरीरमा पाचनशक्ति मजबुत हुने र निकै बासनादार हुने हुँदा खानामा यसको प्रयोग बढ्दै गएको हो ।

‘फ्याटी एसिड’ कम र भिटामिन सी पर्याप्त हुने हुँदा स्वास्थ्यका लागि पनि निकै राम्रो मानिन्छ

तितेपातीको प्रयोग:

तितेपाती प्रयोग गरेर लस्सी र जेल्ली पनि बनाइन्छ । युरोपियनहरुले मसरुम सुपमा पनि तितेपाती मिसाएर बनाउँदा निकै चाख दिएर पिउँछन् । जिनमा मह, बुलेस फ्रुट, तितेपातीको फूल मिसाएर खाँदा पनि निकै उत्तम मानिएको छ ।

कोरियनहरुले पनि तितेपातीलाई राइस प्यान केक, दुनोट, जस्ता खानामा परमपरादेखि नै प्रयोगमा ल्याएको पाइन्छ । बिटर फ्लेभरिङ्ग एजेन्टको रुपमा मासु या माछाको परिकारमा तितेपाती प्रयोग गरिन्छ । वियर तथा अन्य ड्रिङ्समा पनि बिटर (तितो) सुगन्ध र प्युरिटीको लागि व्यापक प्रयोग गरेको पाइन्छ । तसर्थ तितेपाती पशुलाई खाना र सोत्तर मात्र होइन, मानव जीवनमा पनि पर्याप्त फाइदा पु¥याउने एक अमूल्य जडीको रुपमा लिनु आजको आवश्यकता भएको छ ।

तितेपातीको स्यानिटाइजर

नेपालमै पनि तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गर्न थालिएको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विज्ञहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको तितेपातीको स्यानिटाइजर विश्वमा पहिलो मानिएको छ । कोरोना भाइरसको महामारीलाई कम गर्ने उद्देश्यका साथ तयार पारिएको यो स्यानिटाइजर निकै लोकप्रिय र प्रभावकारी सावित भएको छ । अन्य स्यनिटाइजरमा अत्यधिक अल्कोहल प्रयोगका कारण मान्छेको छाला जाने हुँदा तितेपाती मिसिएको स्यनिटाइजर प्रभावकारी हुनसक्ने सबैको ठम्याइ छ । यसरी नेपालमै उत्पादन भएको तितेपातीको स्यानिटाइजर किसान तथा खुद्रा व्यापारीलाई निस्शुल्क वितरण गरिएको छ ।

शुक्रबार, १८ चैत, २०७८, बिहानको ०८:५९ बजे

सम्बन्धित खवर