मध्य तराईमा आँधी हुरीबाट २७ बढीको ज्यान गयो, सौंयौं घाईते

१८ चैत, २०७५ काठमाडौं / मध्य तराईमा हावा,हुरी र असिना पानी कारण भागदौड हुंदा २७ जनाको मृत्यू भएको छ । गएराति आएको भिषण आँधी हुरीका कारण बारा, पर्सा र रौतहटमा भागदौड मच्चदा उनिहरुको मृत्यू भएको हो । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा आइतबार राति कम्तीमा २७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए । पर्साको वीरगञ्ज महानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र बृद्धबृद्धाहरु छन् । विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्। कलैया अस्पतालमा मात्रै मृतकको संख्या १६ पुगिसकेको छ। अन्य स्वास्थ्य संस्थाबाट पनि मृतकको संख्याबारे यकिन तथ्यांक निकाल्ने प्रयास भइरहेको सिडियोले बताएका छन्। कलैया अस्पतालमा उपचार हुन नसकेकाहरुलाई वीरगन्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गरी पठाइएको छ। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जिल्लामा २७ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि गरे। ‘स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी त्यहाँको साधनस्रोतले उद्धार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मृतकको सनाखत हुन बाँकी छ।’ प्रहरी उपरिक्षक सानुराम भट्टराईले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए। घाइतेहरुको कलैया र वीरगन्ज अस्पतालमा उपचारको लागि लगिएको उनले बताए। मानवीय उद्धारको लागि स्थानीय जनप्रतिनिधि, नजिकको प्रहरी र सर्वसाधारणहरु खटेका छन्। घाइतेहरुको उद्धार गर्दै उपचारको लागि अस्पतालमा पुर्‍याउने काम भइरहेको प्रहरी उपरिक्षक भट्टराईले बताए। ‘सबैतिरबाट मानवीय र भौतिक क्षतिको संकलन भइरहेको छ,’ उनले भने, ‘मानवीय क्षति बढी भएको छ।’ फेटा गाउँपालिका, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दियालगायतको ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। हावाहुरीले धेरै सर्वसाधरणको घर समेत उडाएको छ । हावाहुरीका कारण बिजुलीका पोल, रुख र पर्खाल ढलेर सर्वसाधरणलाई किचेको थियो । एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । राति अबेरसम्म उद्धार गरिएको डिआईजी पालले बताए । प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरबलीया, फेटाको वडा नम्बर ६ चैनपुर सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।

सोमबार, १८ चैत, २०७५, बिहानको १०:०९ बजे

सम्बन्धित खवर