भोट कसलाई दिने ?

विमल लामिछाने

     —-  समाजको चाहना एकातिर हुन्छ, नेतृत्वको आवश्यकता अर्कै हुन सक्छ । असल नेतृत्वले दुबै पक्षलाई सन्तुलन गरेर समाजलाई अगाडि बढाउँछ । तर, शक्तिलाई व्यक्तिगत आर्जनको माध्यम बनाउने, समाजको विकास गर्ने नाममा समाजलाई भ्रष्टीकरणतिर लैजाने नेतृत्वको प्रभाव बढ्दै गएकोप्रति मतदाता सचेत हुन जरुरी छ ।    —–

       विमल लामिछाने  

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उत्साहजनक रूपमा करिब डेढ लाखले उम्मेदवारी दर्ता गराएका छन् । छ महानगर, ११ उपमहानगर, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिकाका प्रमुख र अध्यक्ष र उपप्रमुख र उपाध्यक्ष अनि छ हजार सात सय ४३ वडाका अध्यक्ष र सदस्य गरी करिब ३५ हजार पदका निम्ति विभिन्न राजनीतिक दल सम्बद्ध र स्वतन्त्र उम्मेदवारहरू आ–आफ्ना चुनावी कार्य सूचीसहित चुनावी मैदानमा ओर्लिएका छन् ।
नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी बैशाख ३० गते हुने निर्वाचन दोस्रो हो । आगामी स्थानीय तहको निर्वाचनमा प्रदेशभरिमा नयाँ मतदाता तीन लाख ५१ हजार छ सय १० जनाले पहिलो पटक आफ्ना मताधिकार प्रयोग गर्ने तयारी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार सात सय ७४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए । कतिपय पालिकामा जनताले सोचे अनुसार काम नहुँदा र आफूले चुनेकाजन प्रतिनिधि नै भष्टाचारी भइदिँदा जनतालाई आफ्नो विगतको मतको दुरुपयोग भएकोमा पछुतो पनि भएको छ ।

अब त धेरै ठूला शहर बाहेकका गाउँ–ठाउँमा त हर उम्मेदवारको कुण्डली मतदातालाई थाह भइराखे कै पनि हुन्छ । यस्तोमा स्थानीय विकासप्रति उनीहरूको दृष्टिकोण कति मजबुत छ, योजना–कार्यक्रम कति कार्यान्वयनयोग्य तथा विश्वसनीय छन् र उनीहरूको नेतृत्व कौशल र चरित्र कस्तो छ भन्ने जाँचेर मात्रै मतदाताले उम्मेदवार छनोट गर्नुपर्छ । क्षणिक लोभलालचमा परेर वा पर्याप्त सोचविचार नपु¥याइकन मतदान गर्दा पछि पाँच वर्षसम्मै पछुताउनुपर्ने हुन्छ । त्यसैले जसलाई मत दिँदा भोलि पालिकाको भाग्य चम्कियोस् र पालिकाबासीले पाँच वर्षसम्म पछुताउनु नपरोस् भन्ने हेक्का मतदाताले अहिले राख्नैपर्ने हुन्छ ।

समाजको चाहना एकातिर हुन्छ, नेतृत्वको आवश्यकता अर्कै हुन सक्छ । असल नेतृत्वले दुबै पक्षलाई सन्तुलन गरेर समाजलाई अगाडि बढाउँछ । तर, शक्तिलाई व्यक्तिगत आर्जनको माध्यम बनाउने, समाजको विकास गर्ने नाममा समाजलाई भ्रष्टीकरणतिर लैजाने नेतृत्वको प्रभाव बढ्दै गएकोप्रति मतदाता सचेत हुन जरुरी छ ।

कतिपय स्थानमा यसअघि चुनाव जितेकाहरू फेरि पनि उम्मेदवार बनेका छन् भने उनीहरूलाई यसबीचका उनले गरेका काम र उपलब्धि निर्धक्क सोध्नुपर्छ । पुराना वाचा स्मरण गरेर त्यसप्रति जवाफदेही बन्न लगाउनुपर्छ । अनि मात्रै चुनावी पद्धति राम्रो बन्न सक्छ । त्यसैले भोलि पालिकाहरूलाई कस्तो बनाउने, आफ्नो गाउँको विकास कस्तो हुनुपर्छ । हाम्रो समाजको विकास गति कतातिर फर्काउने र समग्रमा गाउँ कस्तो बनाउने यति बेला मतदाताहरू कै हातमा छ ।
समाजमा विभिन्न किसिमका मतदाता रहेका छन् । एकथरी राजनीतिक दलका कटिबद्ध कार्यकता तथा अचेत भक्त छन् । जो राम्रो–नराम्रो छुट्याउने चेतना राख्दैनन् र राख्नुपर्ने जरुरी पनि ठान्दैनन् अनि आफू आबद्ध र समर्थित दलले जसलाई उठाए पनि आँखा चिम्लेर मतदान गर्छन् ।

अर्कोथरी आममतदाताका लागि यो अवधि आफ्नो हृदयको उम्मेदवार छनोट गर्ने अवसर हो भन्ने पनि छन् । यसबीचमा उनीहरूले जस्तो उम्मेदवारलाई भोट दिने निक्र्योल गर्छन्, त्यसले नै आगामी पाँच वर्षका लागि पालिकाको भविष्य तय गर्नेछ । तसर्थ, मतदाताहरूले कुनै पनि क्षणिक लोभलालच, चिनजान, नाता सम्बन्ध, व्यक्तिगत आश्वासनभन्दा माथि उठेर समाज र पालिकाको समग्र हित हेर्न सक्ने व्यक्तिलाई अमूल्य मतदान गर्नुपर्छ ।

संविधान बमोजिम स्थानीय विकास र सार्वजनिक सेवाका अधिकांश कार्य स्थानीय पालिकाबाटै हुने भएकाले मतदाताहरूले मतदानका क्रममा उच्चतम् विवेक प्रयोग गर्नु अनिवार्य छ । मतदानका क्रममा मतदाताले उम्मेदवारहरूको भाग्यको फैसला मात्रै सुनाइरहेका हुँदैनन्, आफ्नै भाग्यको निर्धारण पनि गरिरहेका हुन्छन् भन्ने कुराको मतदातालाई हेक्का हुनुपर्छ ।
उन्नत लोकतन्त्रमा उम्मेदवारहरू छान्ने आधार उनीहरूको घोषणापत्र हो, भनिन्छ तर नेपालमा न दलहरू विश्वसनीय तथा कार्यान्वयन योग्य घोषणापत्र बनाउँछन्, न मतदाताले घोषणापत्रका आधारमै मत दिन्छन् । आमनागरिक घोषणापत्रमा भर नपर्नुको एउटा कारण सायद दलहरूले गम्भीरतापूर्वक घोषणापत्र नबनाउनु र चुनाव जितेपछि यसलाई लागू गर्न जोड नदिनु नै हो । यस्तो समयमा नागरिकहरूले दल र उम्मेदवारले देखाउने सपनाको वास्तविकता परीक्षण गर्नुपर्छ, को योग्य उम्मेदवार हो र को अयोग्य हो भन्ने हेक्का राखेर मात्र जनप्रतिनिधि छान्ने थालनी यही निर्वाचनबाट हुनुपर्छ ।

पछिल्लो कालखण्डमा दर्शन, नीति र विचार पक्ष, त्याग क्रमशः ओझेल पर्दै गएका छन् । व्यक्ति हावी हुँदै गएको छ । टिकट पाउन कै लागि दल फेरिरहने, दलहरू पनि चुनाव जित्ने व्यक्ति खोजी गर्ने नाममा पार्टी प्रवेश गर्ने बित्तिकै पैसा खर्च गर्न सक्ने व्यक्तिलाई टिकट दिने चलन हावी भएको छ । आम रूपमा चुनाव जित्ने समाजसेवी मान्छे भन्ने अदृश्यरूपमा आर्थिक लेनदेनको भूमिका देखिने गरेको छ । यो प्रथा ठूला र पुराना भनिएकादेखि सबैजसो दलहरुमा देखापर्न थालेको छ ।

अब दल विचार, मुद्दाले होइन, व्यक्तित्वले चुनाव जित्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । चुनाव जित्ने आधार पैसासहितको व्यक्तित्व भएको छ । कार्यकर्ता समेत पैसा खर्च गर्न सक्ने नेताकै पछि कुद्ने प्रवृत्ति छ । उम्मेदवार भएपछिको खर्च अलग छ, टिकट पाउनै पनि मोटो रकम खर्चनुपर्ने अवस्था रहेको नेता–कार्यकर्ताको यसअघिका चुनावहरुमा पनि रुवाबासी हामीले नहेरेको होइन ।

राजनीतिक दलको सञ्चालन, चुनाव प्रचार तथा व्यवस्थापनमा वित्तीय स्रोत आवश्यक पर्छ नै । तर, त्यस्तो स्रोत कति पारदर्शी छ, गैरकानूनी तरीकाले आर्जन गरिएको सम्पत्तीको बलमा चुनाव लडेका र ऋण काडेर चुनाव भिड्न बाद्य भएकाहरुले जनताका समस्या हेर्न भ्याउलान या चुनावी ऋण तिर्नमै समय खर्चेलान् । स्थानीय निर्वाचनमा पनि यो अवस्थाले अधिक ठाउँमा छोएकै छ । भेष बदलेर दलको चाकडी गर्दै पैसा र पावरको पहुँचमा उम्मेदवार बनेकाहरुलाई जनताले ठेगान लगाउन अब चुक्नु हुँदैन ।

दलहरुले विभिन्न चरणमा राजनीतिक परिवर्तनका निम्ति आन्दोलन गर्दै आए । चुनाव पनि परिवर्तन कै निमित्त हो । एक अर्थमा हेर्ने हो भने चुनाव पनि आन्दोलन नै हो । यो जनमत तयार गर्ने अवसर पनि हो । तर, चुनावमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी नागरिकको हुन्छ ।

जनताले निर्वाचनका माध्यमबाट योग्य तथा सक्षम उम्मेदवारलाई विजयी गराएर आफ्नो गाउँ–ठाउँको विकास गराउनु मुख्य कार्य हो । यस्तो सामुहिक भावनाको उद्देश्य प्राप्तिका लागि मतदाताले आर्थिक वा अन्य किसिमका लोभलालचमा नलागी निष्पक्ष एवम् इमानदार ढंगबाट आफ्नो लोकतान्त्रिक अधिकारको अभ्यास गर्नुको विकल्प पनि देखिँदैन । यसैले यस्तो अवसरको सदुपयोगबाट कुनै पनि नागरिक चुक्नु हुँदैन । यस्तो अवसर सदुपयोगका लागि आफूले सक्दो सहयोग गर्नु र विवेक पु¥याएर निर्वाचनमा सरिक हुनु आमनागरिकको कर्तव्य अनि दायित्व पनि हो ।

आइतबार, १८ बैशाख, २०७९, बिहानको ०७:५९ बजे

सम्बन्धित खवर