परिवार नियोजन गर्नेहरुको संख्या घट्दै

   दमक/ परिवार नियोजन गर्नेहरुको संख्या घट्दै गएको र साधनहरु प्रयोग गर्नेहरुको तथ्यांकसमेत क्रमश घटेको स्वास्थ्य अभियन्ताहरुले बताएका छन् । मंगलवार झापाको चारपानेमा आयोजित अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले परिवार नियोजनका साधनहरुमा अझैपनि सर्वसाधारणले विश्वास गर्ने बातावरण भइनसकेको बताएका हुन् ।
परिवार नियोजन कार्यालय झापाका अधिकृत शशिकुमार भट्टराईले शुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी पर्याप्त योजना भएपनि कार्यानवयनको पाटो फितलो भएको बताए । उनले कतिपय परिवार नियोजनका साधनमा आम समुदायमा विश्वासनीयता बढाउन अझैपनि नसकेको बताए ।
कार्यक्रमको सहजीकरण गर्दै बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टरका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देवले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या पछिल्ला वर्षमा बढ्दै गए पनि मातृ तथा शिशु सेवाको गुणस्तरमा सुधार आउन नसक्दा अझै पनि शिशु मृत्युदर घट्न नसकेको बताए । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष जन्मिने छ लाख शिशुमध्ये छ हजार मृत शिशु जन्मिने गरेका उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख युवराज घिमिरेले परिवार नियोजन र परिवार योजना छुट्टै विषय भएकाले एउटै रुपबाट हेर्न नसकिने बताएका छन् । उनले परिवार योजनाले फेमिली प्लानिङको पक्षपोषण गर्ने र परिवार नियोजनले परिवार नियन्त्रणको पक्षपोषण गर्ने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत इन्द्रबहादुर बानियाले बाल मृत्युदर र मातृत्व मृत्युदर घटाउन सचेतना आवश्यक रहेकाले समुदायमा सचेतना अभिवृद्धी गर्न र सुसुचित गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको स्मरण गरे ।
उनले सञ्चार माध्यमहरु मार्फत जनचेतना अभिबृद्धि गर्न सरोकारवालाहरुसँग समन्वय गर्दै उपलब्ध स्वास्थ्य सेवा प्रयोग गरी परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर कम गर्ने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जगाउन सञ्चार माध्यमको भुमिकाको वारेमा चर्चा गरिएको थियो । कार्यक्रमममा अझैपनि नेपालमा ४७ प्रतिशतले परियार नियोजनका साधान प्रयोग नगरेको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रम बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टर राजविराजले आयोजना र स्वास्थ्य कार्यालय झापाको सहयोगमा भएको थियो । अन्तरक्रिया कार्यक्रममा झापाका २० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

बुधबार, १८ जेठ, २०७९, बिहानको ०७:३९ बजे

सम्बन्धित खवर