जथाभावी रकम राख्दा सेनाको सवा ६ करोड डुब्यो

दमक/ संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापना गर्ने कार्यमा भाग लिएबापत नेपाली सेनाले प्राप्त गर्ने रकममध्ये कल्याणकारी कोषमा जम्मा भएको केही रकम असुल नभई डुबेको छ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा जम्मा रकमको कुल निपेक्षमध्ये केही विकास बैंक र वित्तीय संस्थाहरूबाट प्राप्त हुनुपर्ने मुद्दती एवं बचत खाताको साँवा रु. ५ करोड ३ लाख र ब्याज रु. १ करोड २४ लाखसमेत रु. ६ करोड २७ लाख असूल नभई डुबेको हो ।

विवरण अनुसार, नेपाली सेनाले जथाभावी रकम राख्दा युनाइटेड विकास बैंकमा लगानी गरेको साँवा १ करोड ५७ लाख रुपैयाँ, नेपाल शेयर मार्केट एन्ड फाइनान्स लिमिटेडमा साँवा २ करोड ३३ लाख, ब्याज ५१ लाख गरी जम्मा रु. २ करोड ८४ लाख, सम्झना फाइनान्स लिमिटेड साँवा रु. १ करोड र ब्याज ६७ लाख गरी १ करोड ६७ लाख रुपैयाँ र हिमालय फाइनान्स लिमिटेडमा साँवा रु. १३ लाख र ब्याज ६ लाख गरी जम्मा रु. १९ लाख रकम जोखिममा रहेको देखिन्छ । यी वित्तीय संस्था विभिन्न कारवाहीमा परेर बन्द भइसकेका छन् ।

त्यसैगरी सैनिक कल्याणकारी नियमावली, २०६५ को नियम १८ मा मिसनमा खटाएबापत प्राप्त गर्ने भत्ता, मेसिनरी औजार तथा उपकरण डिप्रिसिएबलबापत प्राप्त हुने शोधभर्ना रकमलगायतका अभिलेख शान्ति सेना निर्देशनालयले राख्नुपर्ने उल्लेख छ । सो अनुसार २०६८।६९ देखि २०७४।७५ सम्ममा संयुक्त राष्ट्रसंघबाट रु. ६७ अर्ब ९६ करोड प्राप्त भएकोमध्ये रु. ४१ अर्ब ९४ करोड खर्च भई रु. २६ अर्ब २ करोड बचत रहेको देखिन्छ ।

प्राप्त विवरण अनुसार २०७५ आषाढसम्ममा कोष अन्तर्गतका विभिन्न एकाईमा फछ्र्यौट गर्न बाँकी पेश्की रु. ८५ करोड ७६ लाख बाँकी छ । त्यसैगरी विदेशी मुद्रातर्फको पेस्कीमध्ये अमेरिकी डलर ३ करोड ३९ लाख १९ हजार फछ्र्यौट हुन बाँकी रहेको छ । शान्ति सेना सञ्चालन निर्देशनालयमा २०७५ असारसम्मको जम्मा रु. ७९ करोड ९० लाख, सुनाचरी इमल्सन प्लान्टमा रु. ३ करोड ९० लाख, इञ्जिनियरिङ तथा कल्याणकारी निर्माण कार्यसमितिमा रु. ७८ लाख, नेपाली स्वास्थ्य महानिर्देशनालय रु. ७७ लाख, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु. २३ लाख, भेट्रान्स तथा सिभिल अस्पताल निर्माण कार्यदलमा रु. १० लाख र कल्याणकारी योजना निर्देशनालयमा रु. ८ लाख गरी जम्मा रु. ८५ करोड ७६ लाख पेश्की बाँकी महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५ मा उल्लेख छ

सांघु न्युज बाट

बिहिबार, १६ साउन, २०७६, दिउँसोको ०४:५८ बजे

सम्बन्धित खवर