प्रदेश १, छिनोफानो आज : यी सांसदले नेकपासमाजवादी रोज्दा सरकार अल्पमतमा

विराटनगर /    नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने प्रदेश १ प्रदेशसभाका सदस्यहरुले आज बुधबार सनाखत गर्ने भएका छन् ।

एमालेबाट अलग भएर गठन भएको पार्टी समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएकोमा बुधबार नै सनाखतको तयारी भएको हो ।

राजेन्द्र राईको नेतृत्वमा समाजवादीमा आबद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भएपनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो । बाग्मती र सुदुरपश्चिमा समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन् ।

यसअघि माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ । यसअघि नेपाल समूहमा आबद्ध भएका १८ सांसदमध्ये कम्तिमा १० जनाले समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।

आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारी दिनेसहितका विभिन्न ‘अफर’ गरेका छन् । तर, उनले प्रभाबमा १० जना सांसदमध्ये कोहि नपर्ने बरु थप सांसदले सनाखत गर्ने राईको भनाइ छ ।

प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले पनि आचार्य नेतृत्वको एमाले सरकार अल्पमतमा पर्नेगरि सांसदहरुले बुधबार नेकपा समाजवादी रोज्दै सनाखत गर्ने जानकारी दिए । उनले अहिले आफूहरुसँग रहेका १० जनाले एकसाथ सनाखत गर्ने निर्णय भइरकेको जानकारी दिँदै २२ गतेसम्ममा थप सांसदहरु पनि आउने दावी गरे ।

अहिलेसम्म सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङदले नेकपा समाजवादी रोज्ने देखिएको छ । केहिदिनदेखि सामूहिक रुपमा बसेर छलफल गर्दै आएका उनीहरुले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् ।

बुधबार १० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् ।

बुधबार, १६ भदौ, २०७८, बिहानको ०९:२० बजे

सम्बन्धित खवर