विश्वासको मत सामना गर्दै संसद फेस गर्छु — मुख्यमन्त्री आचार्य

बैकल्पिक खवर

१६ भदौ विराटनगर / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफू पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री बनेको भन्दै राजीनामा नदिने प्रष्ट पारेका छन् ।

नेकपा एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा संचारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

संविधानतः विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद् ‘फेस’ गर्ने उनले बताए । ‘म संविधानअनुसार मुख्यमन्त्री भएको हुँ । त्यसैले संवैधानिक प्रावधान अनुसार चल्छु’, आचार्यले भने, ‘संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत फेस गर्छु, राजीनामा दिन्न ।’

उनले संसद्ले गरेको निर्णय आफूलाई स्वीकार्य हुने र संसद नै फेस गर्ने दोहो¥याए । उनले संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास जाहेरसमेत गरे । ‘म काम गर्ने मान्छे हुँ । त्यसैले काम चाहने साथीहरूले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

संसद्ले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै उनले आफू काम गर्ने मान्छे भएको र काम गर्नै आएको बताए । यसअघि, आचार्यलाई नेकपा (माओवादी केन्द्र) र कांग्रेससहितका विपक्षी दलले मुख्यमन्त्रीमा प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, पछि उनले एमाले रोजेर उतै गएपछि उनको पक्षका सांसहरू समेत विभाजित भएका छन् ।

बुधबार, १६ भदौ, २०७८, रातीको ०८:४७ बजे

सम्बन्धित खवर