एमाले विधान महाधिवेशन आजदेखि

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) सुरु हुँदै छ। यसको सबै तयारी पूरा भइसकेको जानकारी एमालेले बिहीबारै पत्रकार सम्मेलन गरेर दिइसकेको छ।

विधान महाधिवेशन मूल समारोह समितिले दिएको जानकारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ः१५ बजे विधान महाधिवेशन उद्घाटन गर्नेछन्। उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गरिनेछ भने दोस्रो दिन असोज १६ गते समूहगत छलफल गरिनेछ।

ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो।

एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ। महाधिवेशनमा देशैभरबाट गरी करिब पाँच हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ। हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो।

के छ ओली र अरू नेताको रणनीति !
केपी शर्मा ओलीमाथि पार्टीलाई विधि र पद्धतिभन्दा बाहिरबाट सञ्चालन गर्ने गरेको आरोप लाग्ने गर्छ। नेकपा कायम रहँदा उनले विधि, पद्धति र नीतिलाई मिचेको आरोप पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले लगाउने गरेको थियो। २०७७ फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किए। त्यसपछि पनि नेता नेपालले एमालेभित्र विधि, पद्धति र नीतिको कुरा निरन्तर उठाइरहे।

अन्तरसंघर्षकै परिणाम २०७८ भदौ २ गते एमाले औपचारिक रुपमै विभाजन भयो। नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भयो। अहिले नेकपा एमाले र एकीकृत समाजवादी एक अर्कालाई शत्रुकै रुपमा अभिव्यक्ति दिइरहेका छन्। पार्टीबाट एक तप्का छुट्टिएर अर्को पार्टी गठन गरेकै बेला नेकपा एमालेले पार्टी जीवनमै पहिलो पटक विधान महाधिवेशनको आयोजना गर्न गइरहेको छ। शुक्रबारदेखि सुरु हुने महाधिवेशन आइतबारसम्म चल्नेछ। मंगलबार सञ्चारमाध्यमका सम्पादहरुसँगको छलफलमा ओलीले एमालेलाई विधि र नीति अनुसार अघि बढाउन पार्टीको विधान महाधिवेशन आयोजना गर्न लागिएको बताए।

अहिलेसम्म विधि, नीति र पद्धतिसहित नेतृत्व चयन गर्ने काम राष्ट्रिय महाधिवेशनबाट नै हुँदै आएको थियो। तर, यसपटकदेखि भने नयाँ अभ्यास गर्न थालिएको हो। एमाले नेताहरुले विधान महाधिवेशनबाट पार्टी थप सशक्त र सुदृढ भएर अघि बढ्ने बताउँदै आएका छन्।

‘योभन्दा अगाडि एउटै मञ्चबाट नीति निरुपण र नेतृत्व चयन गर्ने बाटो अवलम्बन गर्दै आएका थियौं’, एमाले प्रवक्ता एवं सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘पछिल्ला अनुभवले नीति र नेतृत्वको प्रश्न एकै ठाउँमा राख्दा नीतिका प्रश्नहरु ओझेलमा परेको अनुभूति भएपछि त्यसमा मात्रै केन्द्रित भएर छलफल गर्नका लागि विधान महाधिवेशनको अलग प्रबन्ध गरिएको हो।’

नेकपा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले अझ सुदृढ गर्दै नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको केन्द्रमा कसैले पनि हल्लाउन नसक्ने गरी जबरजस्त रुपले स्थापित गर्न चाहेको उनी बताउँछन्।

नेकपा एमालेले आगामी दशौं महाधिवेशनबाट पार्टीभित्र गुटबन्दी अन्त्य गर्नेदेखि लिएर सशक्त पार्टी बनाएर लैजाने निष्कर्ष पनि निकालेको छ। त्यसैले विधान महाधिवेशनले नेकपा एमालेको भविष्य कस्तो निर्धारण गर्छ भन्ने प्रष्ट्याउने छ। विगतमा पनि विधि र नीतिका थुप्रै विषयमा छलफल र निर्णय गरेको एमालेले व्यवहारिक रुपमा भने कार्यान्वयन नगरेको नेताहरुकै गुनासो छ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ अहिले उठाइएको विषय विगतदेखिकै भएको भन्दै काम र व्यवहारले नै आगामी दिनलाई पुष्टि गर्ने बताउँछन्। ‘कुराहरु त यिनीहरुले धेरै गरे तर आफ्नै कुरालाई उपेक्षा गरेको देखियो’, उनी भन्छन्, ‘एउटा कुरा भन्ने र अर्को कुरा गर्ने प्रवृत्ति छ।’

नेकपा एमालेको नवौं महाधिवेशनले नेतृत्वका लागि ७० वर्षको उमेर हद कायम गरेको थियो। त्यसलाई अहिलेको प्रस्तावित विधानमा पनि यथावत नै राखिएको छ। त्यस्तै दुई कार्यकालभन्दा बढी पदाधिकारीमा दोहोर्‍याउन नपाइने भन्ने पनि उल्लेख छ। तर, त्यो व्यवहारिक रुपमा कार्यान्वयन हुन्छ वा हुँदैन, हेर्न बाँकी छ।

‘७० वर्ष पछाडि रिटायर्ड हुने भन्ने तर नहुने, दुई कार्यकालभन्दा बढ्ता पदाधिकारी नहुने भन्ने तर हुने; यी लगायत कुन कुरामा यिनीहरु अडिग छन् र?’, उनी भन्छन्, ‘वचन पालना गरेकै छैनन्। अहिले पनि वचन पालना गर्लान् भन्ने देखिँदैन।’

 

‘अबको समाजवादको निर्माण कुन विचारधारा र सिद्धान्तले गर्न सक्छ। सही विचार र सिद्धान्त के हो भन्ने कुरा विधान महाधिवेशनले प्रष्ट पार्नेछ’, विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ भन्छन्, ‘यो महाधिवेशन एउटा महत्त्वपूर्ण उपलब्धिका रुपमा हुनेछ।’

पार्टीमा हिजो देखापरेको संगठनात्मक अराजकता र दक्षिणपन्थी प्रवृत्तिको भण्डारफोर गर्न पनि महाधिवेशन फलदायी हुने उनी बताउँछन्। तीन दिने विधान महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको मूल व्यवस्थापन समितिले जनाएको छ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत समेत गरी झण्डै सात हजारको संख्यामा प्रतिनिधिहरु सहभागी हुन लागेका छन्।

शुक्रबार, १५ असोज, २०७८, बिहानको ०७:२२ बजे

सम्बन्धित खवर