रेडपान्डा संरक्षणः सुन्दरता एक, चुनौती अनेक

रेड पान्डा अर्थात हाब्रे एक सुन्दर प्राणी हो । यो निकै लजालु स्वभावको हुन्छ । रूखको हाँगामा सुत्ने यो जनावरले एकान्त जंगल मन पराउँछ । रातो पान्डाको मुख्य आहार निगालोको टुसा र कलिलो पात हो । ऐलुरस फल्जेन्स वैज्ञानिक नामले परिचित यो जनावरका दुई उपप्रजाति छन् । तीमध्ये नेपालमा पाइने उपप्रजाति एलुरस फल्जेन्स फल्जेन्स हो । हाबे्रलाई ठाउँअनुसार रातो पाण्डा, पुडे कुदो, वाह, होप, होपरोक्पा, होपदोगाँ, हाब्रे, निगाले पोन्यो आदि नामले चिनिन्छ ।
नेपाल, भारत, चीन, भुटान र म्यानमार गरी विश्वका पाँचवटा देशमा मात्र रेड पान्डा पाइन्छ । यी पाँच देशको ७० हजार वर्गकिलोमिटर क्षेत्रफलको प्राकृतिक बासस्थानमा रातो पान्डाको संख्या १६ हजार देखि २० हजारसम्म भएको अनुमान गरिएको छ ।
विश्व वन्यजन्तु संरक्षण संघले हाब्रेलाई संकटापन्न प्राणीको समूहमा सूचीकृत गरिएको छ । दुलर्भ वन्यजन्तु तथा वनस्पति अन्तर्राष्ट्रिय व्यापार महासन्धिले यस जनावरलाई अनुसूची–१ मा राखी यसको गैरकानुनी ओसारपसार गर्न बन्देज लगाएको छ ।
यसलाई सन्तुलित पारिस्थितिकीय प्रणालीको सूचक मानिन्छ । हाब्रे वैज्ञानिक अध्ययनको दृष्टिले पनि अति महत्त्वपूर्ण जनावर हो । स्तनधारी जनावार हाब्रे अति लजालु तथा मनमोहक स्वभावको हुन्छ । यो बिहान र बेलुकीको समयमा धेरै क्रियाशील हुने गर्छ । जाजरकोटका साथै हाब्रे पश्चिम नेपालको मुगु जिल्लाको नाम्लुङ उपत्यकादेखि पूर्वी नेपालको ताप्लेजुङ पाँचथर, इलाम, संखुवासभा साथै नेपालका नौवटा संरक्षित क्षेत्र रारा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कञ्जनजंघा संरक्षण क्षेत्र र ढोरपाटन सिकार आरक्षण र हिमाली भेगका राष्ट्रिय एवं सामुदायिक वनहरूमा पनि पाइने गर्छ ।
रातो पान्डा समशीतोष्ण हावापानीमा पाइने निगालो प्रजाति पर्याप्त रहेको चौडापाते पतझर र कोणधारी वनहरूमा पाइने गर्छ । हाब्रे करिब २२ सय मिटरदेखि ४८ सय मिटरको उचाइसम्म १० देखि २५ डिग्री तापक्रमसम्म औसत वार्षिक वर्षा तीन सय ५० मिलिमिटर भएको उच्च भेगका जंगलमा बस्न रुचाउँछ ।

विभिन्न मानवीय तथा प्राकृतिक प्रकोपका कारण यस जनावरको बासस्थानको विनाश भइरहेको छ । त्यसैगरी खण्डीकरण, अव्यवस्थित चरीचरनको चाप, जथाभावी जडीबुटी संकलन, पासो तथा धराप थाप्ने क्रियाकलाप, घरपालुवा कुकुरहरूको आक्रमण, बासस्थानमा डढेलो लाग्नु÷लगाउनु र विकास निर्माणका कामले यसको अस्तित्व संकटमा परेको छ । यसको प्रत्यक्ष असरस्वरूप हाब्रेको संख्या दिनानुदिन घट्दै गएको विज्ञहरू बताउँछन् ।
संकटापन्न संवेदनशील प्रजातिका रूपमा रहेको रेड पान्डाको चोरी सिकारी दैनिक रूपमा हुने गरेको छ । एकातिर भोजपत्र, निगालो लगायतका वनजंगल विनाश गर्ने क्रम पनि बढेको छ भने रेड पान्डाको चोरी सिकार पनि त्यत्तिकै हुने गरेको छ । रेड पान्डाको मासु खाइन्छ । यसको छाला र हड्डी अन्तर्राष्ट्रिय बजारमा निकै महँगो मूल्यमा बिक्री हुन्छ भन्ने भ्रममा परेर चोरी सिकार हुने गरेको वरिष्ठ वन्यजन्तुविज्ञ तथा प्राध्यापक करन शाहले बताए ।

नेपालमा अध्ययन तथा अनुसन्धान
वन्यजन्तु अध्येता डम्बर विष्टले द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्टे«लियाबाट रेड पान्डाको पर्यावरणमा विद्यावारिधि गर्दैछन्, उनले रेड पान्डा नेटवर्कसँग सहकार्य गरेर इलाम र पाँचथरका १० वटा रेड पान्डामा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरी तिनका गतिविधि अध्ययन गरिरहेका छन् ।
वन्यजन्तु अध्येता डम्बर विष्टले द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्टे«लियाबाट रेड पान्डाको पर्यावरणमा विद्यावारिधि गर्दैछन् । उनले रेड पान्डा नेटवर्कसँग सहकार्य गरेर इलाम र पाँचथरका १० वटा रेड पान्डामा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरी तिनका गतिविधि अध्ययन गरिरहेका छन् ।
उनका अनुसार जीपीएस जडित रेड पान्डाको गतिविधि अस्ट्रेलियाबाटै कम्प्युटरमार्फत अध्ययन भइरहेको छ । ती जीपीएसमा ‘भेरी हाई फ्रिक्वेन्सी’ –भीएचएफ) कोलर प्रविधि पनि जडित छ । यो अध्ययन सन् २०२२ को मध्यसम्ममा सम्पन्न हुनेछ । रेड पान्डा नेटवर्क सम्बद्ध सोनाम टासी लामाले वेला बखत एन्टेना प्रयोग गरेर स्थलगत रूपमा जानकारी लिँदैछन् । जीपीएसमा प्राविधिक गडबडी उत्पन्न भए भीएचएफबाट जानकारी हासिल गरिन्छ । रेड पान्डामा जीपीएसबाट गरिएको विश्वकै यो पहिलो अध्ययन हो । यो अध्ययनबाट अहिलेसम्म थाहा हुन नसकेको रेड पान्डाको धेरै गतिविधि र जानकारी प्राप्त हुने अपेक्षा छ ।
स्व. प्रह्लाद योञ्जन रेड पान्डामा विद्यावारिधि गर्ने पहिलो दक्षिण एसियाली हुन् । उनले सन् १९८६ मा ६ वटा रेड पान्डामा भीएचएफ कोलर राखेर अध्ययन गरेका थिए । रेड पान्डामा पहिलोपटक चीनमा सन् १९८५ मा भीएचएफ कोलर प्रयोग भएको थियो । एउटा रेड पान्डामा यो यन्त्र जडान गरिएको थियो । यसैगरी, चीनमा सन् १९९१ र २००२ मा क्रमशः दुई र ६ वटा रेड पान्डामा भीएचएफ कोलर जडान गरिएको थियो ।
सन् २००३ मा दार्जिलिङस्थित एक जन्तु उद्यानले दुई वटा रेड पान्डामा भीएचएफ कोलर जडान गरी जंगलमा छाडेको थियो । स्व. योञ्जनपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका हरि शर्माले ताइवानबाट रेड पान्डाको इकोलोजीमा विद्यावारिधि गरे । रेड पान्डा सम्बन्धी शर्माका सात वटा लेख प्रकाशित छन् ।
नेपालका रेडपाण्डा अमेरिका र यूरोपमा, सरकार बेखबर
नेपालमा पूर्वको ताप्लेजुङदेखि पश्चिमको कालीकोटसम्म २३ जिल्लामा पाइने रेड पान्डा दिनानुदिन संकटमा पर्दै गएको छ । यो विश्वकै संकटापन्न वन्यजन्तु भनेर पनि चिनिन्छ । नेपालका रेड पान्डा अमेरिका र युरोपका चिडियाखानामा पु¥याइएपनि लाभांशबारे सरकार बेखबर बनेको छ ।
जीवाश्म अनुसार यो जन्तु उहिले युरोपमा पनि थियो । उत्तर अमेरिकामा रेड पान्डा जस्तै राकून भनिने वन्यजन्तु पाइन्छ । यी दुई प्रजाति करीब चार करोड वर्षपहिले छुट्टिएका हुन् । रेड पान्डा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा करीब १० हजार संख्यामा भएको अनुमान छ ।
रेड पान्डा पर्यटनका लागि आकर्षक वन्यजन्तु हो । विश्वका धेरै देशका चिडियाखानामा यो जन्तु राखिएका छन् । कैयौं वन्यजन्तुप्रेमी प्राकृतिक वासस्थानमा रेड पान्डा हेर्न नेपाल, चीन, भारत, भुटान र म्यानमार पुग्छन् । वाइल्ड लाइफ फोटोग्राफरहरू तस्वीर खिच्न हप्तौं जंगलमै बिताउँछन् ।

सचेतना नगराउँदा संकटमा पर्दे
नेपालमा पूर्वको ताप्लेजुङदेखि पश्चिमको कालीकोटसम्म २३ जिल्लामा ५०० वटाको हाराहारीमा भएको अनुमान छ । यद्यपि, यसबारे बृहत अध्ययन भइसकेको छैन । सुदूरपश्चिमका जंगलमा अझै यसको अध्ययन हुन बाँकी छ । स्थानीयवासीले संकटापन्न वन्यजन्तु भएको थाहा नपाउँदा मार्ने गरेका छन् । अर्कोतिर, यसको छाला तथा हाड महँगो मूल्यमा बिक्री हुन्छ भन्ने भ्रमले चोरी शिकारी हुने गरेको छ ।
रेड पान्डाका दुई प्रजाति
अहिलेसम्म रेड पान्डा दुई प्रजातिका रहेको अध्यायनले देखाएको छ । यसअघि यी दुई प्रजातिलाई उप–प्रजाति मानिएको थियो । यो तथ्य रेड पान्डाको डीएनए अध्ययनपछि प्राप्त भएको हो ।
डीएनए अध्ययन अनुसार नेपाल, उत्तरपूर्व भारत र भुटानमा पाइने प्रजातिको वैज्ञानिक नामकरण ‘आइलुरस फुल्जेन्स’ गरिएको छ । वैज्ञानिक नामका अतिरिक्त यसलाई हिमालयन रेड पान्डा उपमा दिइएको छ । अर्को प्रजातिको वैज्ञानिक नाम ‘आइलुरस स्टेनी’ हो । यसलाई चाइनिज रेड पान्डा पनि भनिन्छ ।
अध्ययन अनुसार यी दुई प्रजाति करीब दुई लाख ५० हजार वर्र्षअघि छुट्टिएका हुन् । सन् १८५९ मै प्रकाशित पुस्तक ‘द ओरिजन अफ स्पेसिस’ मा चाल्र्स डार्बिनले एकै प्रजाति भिन्दाभिन्दै भूगोलमा बस्दा हजारौं, लाखौं वर्षपछि तिनीहरू पृथक प्रजाति हुने उल्लेख गरेका छन् ।

अनधिकृत लाभ लिँदै युरोपियन
ललितपुरस्थित सदर चिडियाखानामा दुई वटा हिमालयन रेड पान्डा रुकुमबाट ल्याएर राखिएका छन् । चिडियाखाना प्रवेश गर्नेमध्ये धेरैको ध्यान रेड पान्डाले पनि तानेको छ । युरोप, अमेरिकाका चिडियाखानामा उल्लेख्य संख्यामा रेड पान्डा राखिएका छन् ।
रेड पान्डाविज्ञ हरि शर्माका अनुसार युरोप र अमेरिकाका कतिपय चिडियाखानामा नेपालबाट लगिएका रेड पान्डा राखिएका छन् । रेड पान्डा अध्येता डम्बर विष्टका अनुसार नेपालबाट रेड पान्डा कहिले र कसरी युरोप तथा अमेरिका प¥याइए, अध्ययन भएको छैन ।
अस्ट्रेलियाको एड्लेट चिडियाखानामा एक जोडी जाइन्ट पान्डा राखेबापत उक्त चिडियाखानाले चीन सरकारलाई वार्षिक एक मिलियन अस्ट्रेलियन डलर बुझाउँछ । अर्थात चीनले वार्षिक रु ९ कडोड ८० लाख पाउँछ । तिनबाट बच्चा जन्मिए छुट्टै हिसाब हुने बताइएको छ ।
‘जूलोजिकल सोसाइटी’ लन्डनले सन् २०२० मा प्रकाशित गरेको ‘द डिभलपमेन्ट अफ द रेड पान्डा फ्रम अ फलिङ क्याप्टिभ पपुलेसन टु अ स्टेबल पपुलेसन ड्याट प्रोभाइड्स इफेक्टिभ सपोर्ट टु इन सिटु कन्जरभेसन’ शीर्षक लेख अनुसार युरोपका १८२ संघ, संस्थामा जम्मा ४०७ वटा रेड पान्डा छन् ।
युरोपमा रेड पान्डा संरक्षण गर्न सन् १९८५ मा ‘द रेड पान्डा युरोपियन इन्डेन्जर्ड स्पेसिस् प्रोग्राम’ शुरू भयो । यसले संकटापन्न जन्तु त जोगाएको छ, तर उनीहरूले नेपाल लगायतका देशबाट लगेर आम्दानीको स्रोत बनाएका छन् । एक देशको जैविक स्रोत अर्को देशले यसरी अनधिकृत रूपमा प्रयोग गर्न मिल्दैन । नेपाल जैविक विविधता महासन्धि पक्ष राष्ट्र हो । जैविक स्रोत प्रयोगका सवालमा उक्त महासन्धिका केही बुँदा आकर्षित हुन्छन् । यो विषय युरोपियनलाई थाहा नहुने भन्ने हुँदैन ।
नेपाल सरकारले यसबारे अवश्य खोजबिन गर्नुपर्छ । नेपालको १५औँ पञ्चवर्षीय योजना ९२०७६÷ ७७–२०८०÷८१० मा ‘आनुवंशिक स्रोतमा पहुँच र लाभको न्यायोचित बाँडफाँडका लागि कानूनी व्यवस्था र संरचना निर्माण गरी कार्यान्वयनमा लगिनेछ’ भनिएको छ । यस अनुसार पनि सरकारले नेपालबाट विदेश लगिएका रेड पान्डाको रोयल्टी उठाउन पहल गर्नुपर्छ । तर, अहिलेसम्म यसबारे छलफल नै भएको छैन । जन्तुविज्ञ पनि बेखबर भए जस्तै छन् ।

लजालु स्वभाव र प्रजनन क्षमता


लोपोन्मुख रेडपान्डाको रेखदेख र संरक्षणमा सक्रिय स्थानीयकै पहलमा जंगलमा समागमका लागि सहज र शान्त वातावरण चाहिन्छ । दुर्लभ वन्यजन्तु रेडपान्डाको प्रजनन यामभर उनीहरूको प्रेमालापमा बिघ्न नहोस् भनेर स्थानीय संरक्षण समितिले दुई महिना जंगल प्रवेशमा रोक लगाउने गरेका छन् । रेडपान्डा जब तीन वर्ष पुग्छ, भाले र पोथी समागमका लागि तयार हुन्छन् । भाले लागेको १ सय १२ देखि १ सय ५८ दिनभित्र बच्चा जन्मन्छ ।
यो लजालु स्वभावको जनावर हो, अन्य वन्यजन्तुभन्दा ज्यादै नै । वरपर छिसिक्क केही भयो कि समागम रोकिन्छ, भाले–पोथी अलग्गिएर भाग्छन्, सबै काम चौपट हुन्छ । त्यति मात्र कहाँ प्रजनन क्रममा अवरोध आए जन्माएको बच्चासमेत छाडेर भाग्ने स्वभाव हुन्छ यो जन्तुको । मानवीय चहलपहलले यसको प्रजनन प्रक्रियामा खलल ल्याउन सक्ने हुनाले नै यो दुई महिना अवधिलाई निकै संवेदनशील मानिन्छ ।

शुक्रबार, १५ असोज, २०७८, दिउँसोको १२:०६ बजे

सम्बन्धित खवर