ब्यूतिँदैछन् पर्यटकीय क्षेत्र

कोरोना संक्रमणका लागि भएको लामो लकडाउनले गर्दा ठप्प भएको प्रदेश १ अन्तर्गत मेची कोशी करिडोरको पहाडी पर्यटन व्यवसाय विस्तारै ब्यूतिँदैछन् ।
कोरोना संक्रमण कमहुदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि विस्तारै प्रदेश १ को पहाडी पर्यटन आफ्नो लयमा फर्कन थालेको हो ।

आत्मबल बढेपछि विस्तारै पर्यटकहरु घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको कोशी करिडोर अन्तर्गत पर्ने धनकुटा हिलेका होटल व्यवसायी भक्त विष्ट बताउँछन् । उनका अनुसार बढ्दो पर्यटकहरुलाई ख्याल गरेर धनकुटा, हिले र भेडेटार अनि तेह्रथुममा धेरै व्यवसायीले लगानी गरेर नयाँ भव्य होटल रिर्सोट निर्माण गरेका थिए । तर, कोरोनाले गर्दा व्यावसाय ठप्प भएपछि सबैजना ‘ईन्तु न चिन्तु’ भए ।

विस्तारै पर्यटकको चहलपहल बढ्न थालेपछि व्यावासायीहरुमा पनि आशा पलाएको छ । धनकुटा होटल व्यवसायी संघका अध्यक्षसमेत रहेका विष्ट भन्छन्, ‘कोरोनाले ठप्प भएको पर्यटन व्यावसाय अब लयमा फर्कने कोसिस गर्दैछ । यसैले हामी व्यावसायी आशावादी भएका छौ ।’

प्रदेश १ को मेची र कोशीका पहाडी क्षेत्र मनोरम प्राकृतिक र धार्मिक पर्यटनको लागि प्रसिद्ध छन् । कोशीको धरानदेखि भेडेटार, नाम्जे, राजारानी, तमोर, धनकुटा हिलेहुँदै मानिसहरु तिनजुरे मिल्के जलजलेको गुराँस क्षेत्र, संखुवासभा चैनपुरको सिद्धकाली र तुम्लिङटारको मनोकामना मन्दिरदेखि सुन्दर प्राकृतिक सौन्दर्य भएको गुफापोखरी र शिवधारासम्म पुग्ने गरेका छन् । यसैगरि मेची कोरिडोरमा पनि इलामको रोङगाउँपालिकामा पर्ने सानो पाथीभराको दर्शन गर्ने र सुन्दर कन्याम चिया बगान घुम्न जानेहरु पनि बढ्न थालेका छन् ।

यसैगरि श्रीअन्तुको होमस्टेमा बास बसेर बिहान सूर्योदय हेर्नेहरुको भीड पनि बढ्न थालेको छ । पर्यटकहरु इलाम बजार र माइपोखरी घुमफिर गर्न पनि पुग्न थालेका छन् । कोरोना कम भएपछि ताप्लेजुङको पाथीभरादेवीको दर्शन गर्न जाने दर्शकहरु पनि बढेका छन् ।

धनकुटा हिलेका होटल व्यवसायी भक्त विष्टका अनुसार कोरोना नहुँदा दैनिक एक हजार पर्यटकहरु पहाडतर्फ उक्लने गर्दथे । तर, लकडाउन भएपछि भने २०७६ चैतदेखि डेढ वर्षसम्म होटल व्यावसाय ठप्प नै भयो । धनकुटाको हिलेमा मात्र एक सय होटल बन्द भएका थिए । कोराना संक्रमण कम भएपछि सुरक्षा सर्तकता अपनाउदै पर्यटकहरु पनि घुमफिर गर्न थालेपछि होटलहरु पनि विस्तारै सञ्चालन हुन थालेका छन् ।

कोराना संक्रमण कम भएसँगै पर्यटकहरुको चहलपहल बढेसँगै लकडाउनमा बन्द भएको तमोर किनारको रिर्सोट आफूले सञ्चालनमा ल्याएको धनकुटाका व्यवसायी मोहन बान्तवाले बताए । उनका अनुसार अब धनकुटा र भेडेटारका होटलहरुमा सेमिनारहरुसमेत सुरु हुन थालेका छन् ।
यसैगरि प्रदेश १ को कोशी र मेची करिडोरका पहाडी पर्यटनमा भारतीय पर्यटकहरु पनि आउन थालेका छन् । नजिकै पर्ने र मुद्रा, भाषा, आवास, बाटोघाटो, सुरक्षा, सञ्चार आदि धेरै कुराले सहज भएकोले प्रदेश १ को पहाडी पर्यटन भारतीयहरुको रोजाइमा पर्ने गरेको छ ।

प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरु पुलकित हुनेगरेका छन् ।

सोमबार, १५ कार्तिक, २०७८, बिहानको ०८:२६ बजे

सम्बन्धित खवर