दमक, १५ कार्तिक/ देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको परिचय बनाएको ताप्लेजुङसहित पूर्वीपहाडका लेकाली भेगमा अलैची टिप्ने र थन्क्याउने चटारो छ । बेसी क्षेत्रबाट भदौ पहिलो सातादेखि टिप्न सुरु भएको अलैची लेकाली भेगमा मंसिर पहिलो हप्तासम्म टिप्ने र थन्क्याउने चटारो हुन्छ ।
केटाकेटीदेखि वृद्धसम्मलाई अलैंची सिजनले व्यस्त बनाएको छ ।
नेपालीहरूको ठूलो पर्व दसंै तिहार र अलैंची पाक्ने सिजन असोज/कात्तिकमै पर्ने भएकाले कतिपय कृषकको दसंै तिहार अलैंची वगानमै बित्छ । कतिपयले बगानबाट टिपेर घरमा ल्याउने गर्छन् । घरदेखि टाढा बगान भएकाले बगानमै टिप्ने र उतै भट्टी लगाउने चलन हुन्छ । अलैंचीलाई ‘खोल्सीको कालो सुन’ नामले चिनिन्छ । यहाँका कृषकको हातमुख जोर्नेदेखि घरव्यवहार चलाउन मुख्य आम्दानीको स्रोत नै अलैंची हो । यो बेला यहाँका अधिकाँशको कृषकको बगानदेखि घरको आँगनसम्म अलैंचीको थुप्रो छ । एकातिर तिहारले छोपिसकेको छ, अर्कोतिर पाकेको बाली थन्क्याउने चटारो छ । फुङलिङ नगरपालिका–५ का अलैंची कृषक पूर्णकुमार गुरुङ घरको आँगनमा टिपेको अलैंची छोड्याउन व्यस्त छन् । हिउँदको पारिलो घामसँगै आँगनको अलैचीको थुप्रोलाई घेरा लगाएर बसेका छन् । उनीसँगै छिमेकी पनि अलैंची छोड्याउन आएका छन् । गाउँघरमा वल्लो घर पल्लो घर सघाउने (पर्म) चलन पुरानै हो । गुरुङले भने, “भ्याएसम्म तिहारअगाडि नै भट्टि लगाउने तयारी छ । नत्र दाना सुरक्षित राखेर तिहारलगत्तै भट्टि हाल्नुपर्ला !” घरनजिकै बगान भएकाले गुरुङलाई केही सहज बनेको छ ।
अरुबेला पनि रेखदेखदेखि गोडमेल गर्न समेत सहज हुन्छ । टिप्न र थन्क्याउनबाहेक चरा मुसाबाट बचाउन बगान टाढा हुनेको तुलनामा केही सजिलो हुन्छ । घरदेखि टाढा बगान हुनेलाई समयमा गोडमेल गर्नदेखि थन्क्याउन गाह्रो हुने भएकाले बगानमै बास हुन्छ । अलैंची सिजन र चाडबाड असोज–कात्तिकमै पर्ने भएकाले पर्व मनाउँदै खेती थन्क्याउनुपर्छ । पर्व भनेर खेतीमा ध्यान नपुगे चरा मुसादेखि कालाले क्षति गर्छ । किनकि यो बेला दाना पोटिला हुने भएकाले चराचुरुङ्गीलाई खान पनि सहज हुन्छ ।
बगानभन्दा मुनी टिप्नेबित्तिकै त्यसमाथि भएका बगानमा पनि टिप्न सुरु गर्न ढिलाइ गर्न हुँदैन । एकै रातमा पनि फरक पर्छ । किनकि चरामुसा र काला पनि टिप्न बाँकी भएका बगानमै बस्न थाल्छ ।
फुङलिङ नगरपालिका–६ का खान्डु शेर्पा असोज २२ गतेदेखि बगानै छन् । उनले भने, “एक महिना त हुनै लाग्यो । सायद कात्तिक अन्तिमसम्ममा यो सिजन सक्छु होला ।” असोज अन्तिम सातादेखि कात्तिक पहिलो हप्तासम्म उनको समय टिप्नमै बित्यो । टिपेलगत्तै भट्टि र सुकाउनका लागि प्रयोग गरिने दाउरा व्यवस्थापनमा समय खर्चिनुप¥यो । उनले अलैची साहुसँग आधा आधा (अधिया) खेती सुरु गरेको वर्षौदेखिको हो । उनले बगानमै भट्टि बनाएका छन् ।
केटाकेटी, वयस्क र वृद्धसम्म अलैंची छोड्याउनका लागि बगानमा बोलाएका छन् । भट्टिमै बसेर अलैंची छोड्याउने र भट्टि लगाउने दुवै काम भ्याएका छन् । अलैंची छोड्याउनेलाई कि दिनको ज्याला दिनुपर्छ नत्र बोराको । सय केजी वाला जुटको बोरा दानाले भरिएकोलाई प्रतिबोरा पाँच सय तोकिएको छ । केटाकेटीको हात छिटो चल्ने भएकाले दुई बोरासम्म छोड्याउने गर्छन् । उनको बगानमा यो पटक कम्तीमा ३० मन (प्रतिमन ४० केजी) उत्पादन हुने अनुमान गरेका छन् । गतवर्ष ३६ मन उत्पादन गरे । उनले भने, “यसपालि पानी धेरै प¥यो । थँुगा कुहियो अनि पानीकै कारण झ्याङ भाच्चिएकाले उत्पादन कम भएको छ ।”
घरबाहिर र घरभित्र वा पाल टाँगेर अलैंचीको थुप्रो बनाइन्छ । थुप्रो एक हप्तासम्म गुम्स्याएर राखिन्छ । गुम्सिएपछि मात्र अलंैचीको कोया र दाना छुट्याउन सजिलो बन्छ । दसै अगाडि बगानमा नल फाडेर तिहार अगाडि अलंैची टिप्ने चलन छ । अलैंचीखेती फस्टाउन गोडमेलदेखि टिप्न र सिँचाइ गर्ने समय मिल्नुपर्छ । असारमा गोडमेल, साउनमा फूल फडानी तथा बर्खे पानी व्यवस्थापन र असोजमा नल फडानी गरेपछि मात्र कात्तिकमा टिप्ने तालिका हुन्छ ।
तालिकाबमोजिम काम नभए धेरै पानी भएर अलैंचीको थुगामा दाना नलाग्ने, कुहिने र झ्याङ भाच्चिने खतरा हुन्छ । यहाँका ६१ वटा वडामध्ये ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती हुन्छ । करिब ४ हजार ५ सय हेक्टर जमिनमा अलैचीखेती गरिन्छ । वार्षिक २४ देखि २८ सय मेट्रिकटनसम्म अलैंची उत्पादन हुन्छ । चालू आवमा करिब ३० प्रतिशत उत्पादनमा कमी हुने अलैंची व्यवसायी सँघले प्रक्षेपण गरेको छ । जिल्लामा प्रतिमन ४० देखि ४४ हजार हाराहारीमा कारोबार जारी रहेको सँघका अध्यक्ष बालमणि बरालले जानकारी दिए ।

Facebook Comments Box