दिपेन्द्र धिमाल – जस्लाइ अहिलेपनि फुटबलका ‘ड्राइभर’ भनेर चिनिन्छ

बाल्यकालमा बुबासँगै बसेर टेलिभिजनमा विश्वकप फुटबल हेर्थे मोरङ, उर्लाबारीका दीपेन्द्र धिमाल । त्यही बेलादेखि पेलेको खेलबाट प्रभावित भएका उनी पनि फुटबल खेल्न थाले । अहिले उनले यसैबाट पहिचान बनाएका छन् ।

५२ वर्षअघि जन्मिएका दीपेन्द्रले विद्यालयदेखि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय मैदानसम्म आफ्नो खेल प्रतिभा प्रदर्शन गरिसकेका छन् । सानैदेखि मिडफिल्डर खेल्ने दीपेन्द्रले बढाएको बल खोस्न विपक्षीलाई मुस्किल हुन्थ्यो । त्यसैले उनलाई खेलक्षेत्रका दिग्गजहरुले ‘फुटबलको ड्राईभर’ उपनाम दिए । उनी सुनाउँछन्, ‘चालकले बाईरोडको बाटोमा गाडी चलाए जस्तै बललाई खेलाउँछ भनेर ‘ड्राईभर’ भन्थे ।’

खेलमा सक्रिय हुँदा मात्र होईन अहिलेसम्म पनि उनलाई धेरैले वास्तविक नामले भन्दा उपनामले नै चिन्छन् । दीपेन्द्रको घरको आर्थिक अवस्था मध्यम् थियो । उनी खेतीपातीमा घरपरिवारलाई सहयोग पुर्याउँदै समय निकालेर फुटबल खेल्थे । २०३४र०३५ सालतिर कपडाका झुम्राको गोल बनाएर खुल्ला मैदानमा खेल्दाखेल्दै दीपेन्द्र फुटबल क्रेजी बने ।

स्थानीय राधिका मावि उर्लाबारी–६ को विद्यालयस्तरीय प्रतियोगिता हुँदै मोरङ जिल्लास्तरीय, कोशी अञ्चल स्तरीय, ए डिभिजन क्लब, जनकपुर चुरोट कारखाना लि. जनकपुर, थ्री–स्टारमा आबद्ध भई तत्कालीन राजाको शुभजन्मोत्सव कप, महेन्द्र गोल्ड कप, त्रिभुवन कप तथा भारतको पश्चिम कोलकत्ता, सिक्किमको गान्तोकमा भएको गभर्नर कप, भूटानको थिम्पुमा भएको प्रतियोगिता तथा इरानमा भएको प्रतियोगितामा समेत दीपेन्द्र सहभागी भए ।

वीरेन्द्र शिल्ड, शुभजन्मोत्सव लगायतका दर्जनौं नाम चलेका प्रतियोगितामा जित हात पारेका दीपेन्द्रले उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, म्यान अफ दि म्याच आदि विधामा थुप्रै पुुरस्कार पाए । प्रतियोगिताकै क्रममा खुट्टामा गम्भीर चोट लागेपछि २०५४ सालदेखि फुटबल प्रतियोगिताको सक्रिय जीवनबाट विश्राम लिएका हुन् ।

सिक्किमको गान्तोकमा २०४४ सालमा भएको गभर्नर कपको स्मरण उनलाई अझै पनि ताजै छ । ‘दार्जि्लिङ डिष्ट्रिकबाट सहभागी थिएँ । हजारौं दर्शकको हुटिङसँगै मलाई विश्वविख्यात खेलाडी पेलेको उपनामले बोलाउँदा अत्यन्तै उत्साहित भएँ’ उनी सुनाउँछन्, ‘प्रतियोगिता जितेपछि अङ्कमाल गर्ने अट्टोग्राफ र फोटो लिनेको भीडमा एक घण्टाभन्दा बढी समय बिताएको याद अझै पनि झल्झली आइरहन्छ ।’

भारतको बोर्डर सेक्युरिटी फोर्ससँग यु.के.एफ.सी.कर्साङको तर्फबाट सहभागी भई सिलिगुडीमा भएको प्रतियोगिता पनि उनलाई याद आइरहन्छ । त्यो एउटै प्र्र्तियोगितामा दीपेन्द्र एक्लैले ११ गोल गरेका थिए । जुन उनको खेल जीवनमा एकै प्रतियोगितामा गरेको सर्वा्धिक गोल पनि हो ।

जीवनको उर्वर समय खेलक्षेत्रमा खर्चेका दीपेन्द्र २०५४ पछि खेलाडी उत्पादनमा सक्रिय भए । उर्लाबारी फुटबल क्लबबाट संस्थागत विकासमा लागेका उनले फुटबल ट्रेनिङ सेन्टर हुँदै जिल्लामा खेलकुदको क्षेत्रमा दह्रोगरी जरा गाडेका छन् । उर्लाबारीमा रहेर पनि विगत १२ वर्षदेखि मोरङ जिल्ला फुटबल सङ्घको जिल्ला अध्यक्षको हैसियतमा कार्य सम्पादन गर्दै आएका छन् । दुई दशकदेखि सो सङ्घका विभिन्न पदमा जिम्मेवारी निर्वाह गरेका दीपेन्द्रलाई जीवनको अन्तिम समयसम्म फुटबल क्षेत्रमै सेवा पुर्याउने योजना छ ।

फुटबल क्षेत्रमा नाम चलेको समयमा कुमारी श्रेष्ठसँग बसेको माया–प्रितीलाई २०५२ सालमा विवाहमा परिणत गरेका दीपेन्द्रका एक छोरा र एक छोरी छन् । आई.ए.सम्मको अध्ययन गरेका उनी खेललाई नै सर्वस्व ठानेर यसैको विकासमा लागेका छन् ।राज्यले खेलकुदको विकासमा न्यून लगानी गरेकामा असन्तुष्ट दीपेन्द्र राज्यले स्वास्थ्य, शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । राज्यबाट कुनै सहयोग र साथ नपाएका उनी भन्छन्, ‘देशभरका फुटबल क्षेत्रका खेलाडीहरूले ‘ड्राइभर दाइ’ भनेर सम्बोधन गर्दा आत्मसन्तुष्टी मिल्छ । त्यसैले यहाँसम्म ल्याइपु¥याएको छ । ब्लाष्ट

शुक्रबार, १५ कार्तिक, २०७६, बिहानको ११:४३ बजे

सम्बन्धित खवर