एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं, १५ मंसीर/ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक  चितवनको सौराहामा सकिएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेका छन्।
यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै मंगलबार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्सीय रहेको छ ।
बैठकले कुनै निर्णय नगरे पनि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् । केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए ।
सोही बैठकबाट अध्यक्ष ओलीले पोलिट ब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने बताए ।

ओलीको आदेश
पार्टी अध्यक्षको शपथ लिएपछि सो समारोहमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले अध्ययनशील हुन जरुरी रहेको बताए ।
‘हामीलाई हेरेर कस्तो तरिका कस्तो शैली कस्तो व्यवहार कस्तो बोलीवचन अपनाउने अरु पार्टीका कार्यकर्ताले त्यसबाट अनुसरण गर्न सक्ने खालको हुनुपर्दछ,’ ओलीले भने, ‘हाम्रा आनीबानी हाम्रा व्यवहार नेताझैँ हुनुपर्छ । म कमरेडहरूलाई नेताझैँ व्यवहार गर्न सालिन ढंगले व्यवहार गर्न विनम्रताका साथ व्यवहार गर्न, कुनै पनि नेता घमण्डी अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता अहंकारी हुँदैन ।’
ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरूलाई पार्टीलाई सफलतापूर्वक नेतृत्व गर्नेतर्फ अघि बढ्न आग्रह गरे । उनले पार्टीलाई सफल रुपमा अघि बढाउनका लागि क्रियाशील हुन पनि निर्देशन दिए ।
‘निर्वाचित सबैलाई बधाई छ । अब तपाइँहरू पार्टीलाई सफल रुपमा नेतृत्व गर्न र पार्टीमार्फत देशलाई नेतृत्व गर्न सफल बन्नुस्,’ ओलीले भने । ओलीले घमण्डी र अहंकारी नबन्न पदाधिकारी तथा केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् । नेता भएपछि घमण्डी र अहंकारी बन्न नहुने उनको भनाइ छ ।
उनले एमालेले अबको तीन महिना पार्टी एकताको अभियान चलाउने र त्यो कार्यकर्ताहरूको एकता हुने पनि बताए ।

 

बुधबार, १५ मंसिर, २०७८, बिहानको ०८:०७ बजे

सम्बन्धित खवर