प्रतिगमनको विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गर्दै नेकपा सुनसरीको बिस्तारीत बैठक सम्पन्न

बैकल्पिक खवर

इटहरी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको बिस्तारीत बैठक सम्पन्न भएको छ । बैठकले प्रतिगमनको विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गर्दै आन्दोलन परिचालन समिती समेत गठन गरेको छ ।
आज इटहरीमा सम्पन्न जिल्लाको बिस्तारित बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अघि बढाउन केन्द्रीय सदस्य तथा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो । आजको सो पार्टीको विस्तारित बैठकले निरौलाको नेतृत्वमा १५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति घोषणा गरेको नेकपा इटहरी नगर सचिब काशीनाथ दङगालले जानकारी दिए।

दङगालका अनुसार आन्दोलनलाई व्यवस्थित बनाउन ३५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । त्यसैगरी विभिन्न उपसमिति पनि गठन गरिएको छ । जिल्लाका संगठन विभाग प्रमुख नन्दकुमार बस्नेतको नेतृत्वमा स्वयम् सेवक परिचालन उपसमिति गठन गरिएको छ भने पार्टी प्रदेश कमिटि सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)को नेतृत्वमा स्रोत परिचालन उपसमिति गठन गरिएको छ । प्रचार–प्रचार उपसमितिको संयोजकमा प्रेस संगठन प्रदेश १ संयोजक राजन केडी रहेका छन ।


भेलालाई सम्बोधन गर्दै आन्दोलन परिचालन समिति संयोजक धर्म निरौलाले प्रधानमन्त्री केपी ओलीले पहिलेदेखि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजनको दिशामा धकेलेको आरोप लगाउँनुभयो । उहाँले भन्नुभयो – ‘ मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टी विभाजनको सुरुवात गर्नुभएको हो ।’ फाउण्डेशनको नाममा राज्यको सम्पत्ति दुरुपयोग समेत भएको निरौलाको भनाई थियो । प्रधानमन्त्री हुनका लागि ओलीले पार्टी एकता गरेको, अनि भइसकेपछि पार्टी फुटाएको निरौलाको दावी थियो । निरौलालेभ भन्नुभयो – “ओलीले पार्टीलाई दक्षिणपन्थी धारमा लगेर विर्सजन गर्नुभयो ।”                                                                 

भेलामा प्रमुख अतिथि भीम आचार्य सहित अन्य नेताहरु सहभागी रहेका थिए । विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले ओली कम्युनिष्टको बंशनासको अभियानमा अघि बढेको आरोप लगाउँनुभयो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सरकार र कम्युनिष्ट पार्टीलाई बर्बाद बनाएको बताउँनुभयो । उहाँले भन्नुभयो –‘ओलीलाई पार्टी र सरकार बोकाको मुखमा कुभिण्डोजस्तै भयो ।” आचार्यले ओली तत्कालीन एमालेको केन्द्रीय कमिटि बैठकमा गणतन्त्रको ऐजेण्डमा जान नमानेको स्मरण गर्नुभयो ।
भेलामा उपस्थित अगुवा नेता तथा कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, निर्मल बराल, महफुज अन्सारी र किरण राईले प्रतिगमन विरुद्धको आन्दोलनमा डटेर लाग्न जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । साथै पार्टीको जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु)ले पार्टीको तल्ला कमिटिहरुको बैठक राखी आन्दोलनको तयारी गर्न निर्देशन दिनुभयो । भेलाको संचालन पार्टी जिल्ला सचिव रमेश बस्नेतले गर्नुभएको थियो भने स्वागत मनतव्य पार्टीको इटहरी उपमहानगर कमिटि अध्यक्ष बहादुरसिंह तामाङ्गले गर्नुभएको थियो

शनिबार, १८ पुष, २०७७, रातीको ०८:५५ बजे

सम्बन्धित खवर