माओबादी केन्द्र एक्लै बाँकी सबै दल एकठाउँ, एमालेलाई विप्लवको पनि साथ

यो पटकको स्थानीय चुनावमा तालमेलको अपबाद बनेको छ, रोल्पाको थवाङ । यो गाउँमा माओबादी केन्द्र एक्लै र बाँकी सबै दल एकठाउँ भएर चुनावमा भाग लिने भएका छन्, एमालेलाई विप्लवको नेकपालेपनि साथ दिएको छ ।  २०३७ को जनमत संग्रहमा सबै मत बहुदलका पक्षमा खन्याएको यो गाउँले २०१५ का पहिलो संसदीय निर्वाचनमा कम्युनिस्ट उम्मेदवार खगुलाल गुरुङका पक्षमा एकजुट भएर मतदान गरेको थियो।

त्यही थबाङले २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन एकमतले बहिष्कार गर्यो। बहुदलका पक्षमा एकमत र पञ्चायती चुनाव पनि एकमतले बहिष्कार गरेका कारण सैन्य अपरेसनको भुक्तभोगी यो गाउँ गणतन्त्रअघिका निर्वाचनमा सदैव तत्कालीन राज्य व्यवस्थाका पक्षधहरूविरुद्ध उभियो।

२०४८ को आम निर्वाचनमा यो गाउँको मत तत्कालीन संयुक्त जनमोर्चा नेपालका कृष्णबहादुर महराका पक्षमा खसेको थियो। तर, २०५१ को निर्वाचन जनमोर्चाले बहिष्कार गरेपछि यो गाउँबाट जम्मा ४ मत खस्यो, जुन मत निर्वाचनमा खटिएका सरकारी कर्मचारीको थियो। २०५६ को निर्वाचनमा पनि जम्मा दुई मत खस्यो। यी मत पनि निर्वाचनमा खटिएका कर्मचारीकै थियो।

दसवर्षे जनयुद्धकालभरि यो गाउँले माओवादीलाई साथ दियो र माओवादी आधार इलाकाभित्रको पनि आधार इलाका बन्यो। पहिलो संविधान सभा निर्वाचनमा थबाङसमेतको भोटले रोल्पा–२ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अत्यधिक मतले विजयी भए। प्रचण्डले सो निर्वाचन क्षेत्रबाट राजीनामा दिएपछिको उपनिर्वाचनमा थबाङकै माओवादी नेता सन्तोष बुढामगर विजयी भए।

तर, एमाओवादी विभाजनपछि २०७० को निर्वाचन विभाजित मोहन वैद्य–नेत्रविक्रम चन्द (विप्लव) समूहले बहिष्कार गर्यो । वैद्य–चन्दको विद्रोहलाई थबाङले पनि साथ दियो। र, २०३६ को जनमत संग्रहलाई पछ्याउँदै २०७० को दोस्रो संविधान सभा निर्वाचनमा थबाङ गाउँबाट मतदान शून्य भयो।

यसरी विद्रोहको प्रतिकका रूपमा कहिले शून्य मतदान त कहिले सबैजसो मत राज्य व्यवस्थाविरोधी शक्तिका पक्षमा खन्याएको त्यही थबाङ गाउँपालिकामा सत्तारुढ नेपाली कांग्र्रेसले सत्ता सहयात्री दल माओवादी केन्द्रविरुद्ध प्रमुख प्रतिपक्ष एमाले र विप्लव नेकपा समर्थित स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि फेरि चर्चामा आएको छ।

यो गाउँपालिका २०७२ पछि रोल्पाका पुरानो थबाङ गाउँपालिका, मिरुल गाविस र उवाखोला गाविस मिलेर बनेको हो। यसपटक यो गाउँपालिकामा माओवादी केन्द्रले जनमुक्ति सेनाका पूर्वबिग्रेड कमान्डर ऋषिकेशव बुढामगर प्रमुख र शर्मिला बुढामगरलाई उपाध्यक्षका प्रतिस्पर्धाका लागि उतारेको छ।

सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी एमाले र विप्लवपक्षीय नेकपाका तर्फबाट भने दर्जित बुढा अध्यक्षका ‘स्वतन्त्र’ प्रत्यासी बनेका छन्। आफ्नो उम्मेदवारीमा विप्लव–नेकपाको समर्थन रहे पनि आफू स्वतन्त्र छविको सामाजिक कार्यकर्ता रहेको र कुनै पनि दलमा आबद्ध नरहेको दर्जित बताउँछन्। उपप्रमुखमा पनि विप्लवपक्षीय नेकपाबाट राईबहादुर पुनमगरले उम्मेदवारी दिएका छन्।

देशभर अन्य पालिकाको तुलनामा थबाङमा विप्लव नेकपाको प्रभाव ज्यादा रहेको मानिन्छ। यसको कारण २०७४ को स्थानीय तह निर्वाचनमा यो पालिकाको पाँच वडामध्ये वडा नं १ मा विप्लव पक्षीय उम्मेदवार वडाध्यक्षमा अत्यधिक मतले विजयी भएकाले हो। त्यो निर्वाचनमा विप्लव पक्षीय वडाध्यक्षका उम्मेदवार फर्कबहादुर बुढा ३ सय ५९ मतसहित विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार ग्रिस पुन २ सय ५६ मतमा सीमित भए। एमाले उम्मेदवारतिर पुनले प्राप्त गरेको मत जम्मा १३ थियो।

यसबाहेक मूल थबाङ गाउँ समेटिएको वडा नं २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा विप्लव पक्षीय नेकपाका वडाध्यक्षका उम्मेदवार निकटतम प्रतिस्पर्धीका रूपमा थिए। पुरानो उवा गाविसको आधा भाग समेटिएको वडा नं. ४ मा पनि माओवादी केन्द्रसँग विप्लव पक्षीय उम्मेदवार नै निकटतम प्रतिद्वन्द्वीका रूपमा थिए।

विसंं. २०७४ को स्थानीय तह निर्वाचनमा यो गाउँपालिकामा माओवादी केन्द्रविरुद्ध विप्लव पक्ष र नेपाली कांग्रेसको मात्र गठबन्धन बनेको थियो। अहिले यो गठबन्धनमा प्रमुख प्रतिपक्षी एमाले पनि सामेल भएको छ।

तर, जिल्लाका तीन शक्तिशाली दल कांग्रेस, एमाले र विप्लव–नेकपा एकजुट भएर प्रतिस्पर्धाका लागि अघि सर्दा पनि माओवादी केन्द्रका जिल्लास्तरीय नेता थबाङमा आफ्नो विजयप्रति विश्वस्त देखिन्छन्।

‘यो गाउँपालिकामा माओवादी केन्द्रलाई कसैले हराउन पराजित गर्न सक्ने स्थिति छैन’ २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष वीरबहादुर घर्तीमगर भन्छन्, ‘जो–जसरी मिलेर आए पनि यहाँ माओवादी केन्द्रलाई फरक पार्दैन। हाम्रा उम्मेदवार सहजै विजयी हुने स्थिति अहिले पनि कायमै छ।

जिल्लाका तीन–तीन दल एकजुट भएर आउँदा पनि माओवादी केन्द्र थबाङमा विश्वस्त हुनुका केही कारण छन्।
त्यसमध्ये एउटा कारण गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भारी मतान्तरले विजयी हुनु हो भने अर्काे कारण विप्लव–नेकपा समर्थित उम्मेदवारले अत्यधिक मतले विजय हासिल गरेको वडा नं १ मा भएको उपनिर्वाचनमा पुन माओवादी केन्द्रकै उम्मेदवार विजयी हुनु हो।

२०७४ को स्थानीय तह निर्वाचनमा यो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर घर्तीले १ हजार ९ सय ९० मत प्राप्त गरी विजय हासिल गरेका थिए भने नेपाली कांग्रेसको समर्थन प्राप्त गरेका विप्लव–नेकपाका स्वतन्त्र उम्मेदवार अमित घर्तीले १ हजार ५७ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी बनेका थिए। तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार हितबहादुर रोका मगरलाई १ सय २० मत प्राप्त भएको थियो।

विप्लव–नेकपालाई अध्यक्षमा समर्थन गरेको नेपाली कांग्रेसले यहाँ श्रीकुमारी रोकालाई उपाध्यक्षमा प्रतिस्पर्धामा उतारेको थियो। तर, उनले विप्लव–नेकपाका उम्मेदवार अमितको भन्दा झण्डै सय कम अर्थात् ९ सय ६५ मत मात्र प्राप्त गरिन्। एमाले उम्मेदवार जाल रोका मगरले भने पार्टीका अध्यक्षका उम्मेदवारले भन्दा १० मत बढी अर्थात् १ सय ३० मत ल्याएकी थिइन्।

थबाङ गाविसको दुरवाङ गाउँ समेटिएको वडा नं १ का विजेता विप्लव समर्थित उम्मेदवार फर्कबहादुर बुढामगरको २०७६ मा निधन भएपछि १४ मंसिर २०७६ मा उपनिर्वाचन भएको थियो। यो उपनिर्वाचनमा माओवादी केन्द्रले विजय हासिल गरेको थियो।

विप्लव–नेकपाको बहिष्कारबीच भएको उपनिर्वाचनमा माओवादी केन्द्र (तत्कालीन नेकपा) का उम्मेदवार जनकबहादुर बुढा १ सय ७४ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कलम बुढाले जम्मा २६ मत पाए।

विप्लव–नेकपाका नेता सन्तोष बुढामगरको घर रहेको वडा नं १ का सबै पदमा २०७४ मा सो पार्टी सम्बद्ध उम्मेदवारहरूले विजय हासिल गरे पनि बाँकी चार वडामा माओवादी केन्द्रले विप्लव–नेकपा र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले हराएको थियो।

जस्तो : मूल थबाङ गाउँ रहेको वडा नं २ मा माओवादी केन्द्रका वसन्त रोका मगरले ४ सय १० मत प्राप्त गरी विजय हासिल गर्दा स्वतन्त्र उम्मेदवार लीलाराम रोका मगरले २ सय ९५ मत प्राप्त गरेका थिए। एमालेका ज्ञानबहादुर रोकाको मत ३८ मात्र थियो।

वडा नं ३ (पुरानो मिरुल गाविस) का विजेता माओवादी उम्मेदवारको मतान्तर सबैभन्दा बढी थियो। सो पार्टीका भीमबहादुर रोकामगरले ७ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खरिलाल डाँगीले १ सय ६३ मत मात्र प्राप्त गरेका थिए। यहाँ एमालेका उम्मेदवार थिएनन्।

वडा नं ४ (पुरानो उवा गाविसको आधा भाग) मा पनि कांग्रेस र एमालेले विप्लव समर्थित स्वतन्त्र उम्मेदवार हिक्मत मगरलाई समर्थन गरेका थिए। तर, हिक्मतले प्राप्त गरेको १ सय ९२ मतका विरुद्ध २ सय ८० मत प्राप्त गरी माओवादी केन्द्रका उदिम घर्तीमगर विजयी भए।

अघिल्ला चार वडामा तालमेल गरेपनि थबाङ गाउँपालिकाको वडा नं ५ (पुरानो उवा गाविसको बाँकी आधा भाग) मा भने कांग्रेस–विप्लव समूहबीच तालमेल हुन सकेको थिएन। त्यसैले, यहाँ दुवै दलले आआफ्ना उम्मेदवार खडा गरे।
कांग्रेसबाट रामेक रोकामगर (१ सय ६१ मत) र स्वतन्त्र उम्मेदवार डुकमान रोकामगर (१ सय ५ मत) उम्मेदवार रहेको यो वडामा माओवादी केन्द्रका गोवद्र्धन घर्तीमगर २ सय ८७ मत प्राप्त गरी विजयी भए। उनले प्राप्त गरेको कांग्रेस र विप्लव समर्थित उम्मेदवारले प्राप्त गरेको कूल मत (२ सय ६७) भन्दा २० मत बढी थियो।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारलाई १ सय २६ मतान्तरले हराए पनि विप्लव समूह समर्थित उम्मेदवारले पनि १ सय ५ मत प्राप्त गरेकाले माओवादी केन्द्रले यसपटक यो वडामा कडा प्रतिस्पर्धा हुने आकलन गरेको छ। किनभने यहाँ यसपटक नेपाली कांग्रेसले एमाले र विप्लव समूहको समर्थनमा वडाध्यक्षमा आफ्नो उम्मेदवार उठाएको छ भने वडा नं ४ मा कांग्रेस र विप्लव समूहको समर्थनमा एमालेबाट वडाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्।

‘हाम्रा तीन विपक्षीहरूको गठबन्धनका बाबजुद यी दुबै वडामा ५०–६०, ५०–६० मतान्तरले विजयी हुने आकलन हामीले गरेका छौँ’, गाउँपालिका अध्यक्ष घर्तीले भने, ‘किनभने एमाले विभाजनको असर यहाँ पनि परेको छ, हिजो विपक्षी गठबन्धनलाई मतदान गरेको राष्ट्रिय जनमोर्चा पनि उनीहरूको साथमा छैन। यद्यपि, अन्य वडाहरूको तुलनामा यहाँ विपक्षीहरू अलिक बलिया भएकाले मतान्तर कम हुनेछ।’

कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दर्जित पुनले पनि आफ्नो विजय सुनिश्चित भएको बताउन सकेनन्। यद्यपि, गाउँपालिकाका पाँचमध्ये तीनवटा वडामा आफ्नो गठबन्धन पक्षीय उम्मेदवारले विजय हासिल गर्ने स्थिति रहेको दाबी गरे।

‘वडा नं १ मा पहिले पनि माओवादी केन्द्र पराजित भएको हो, वडा नं ४ र वडा नं ५ मा पनि हाम्रो गठबन्धनका उम्मेदवार बलियो स्थितिमा छन्, वडा नं २ र ३ मा पनि हामीले स्थिति सुधार गर्न सक्यौँ भने हामी विजयी हुनसक्छौँ’, उनले भने, ‘कोसिस गरिरहेका छौँ, सकरात्मक परिणाम निस्कन्छ भन्ने हाम्रो विश्वास छ।’

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार ऋषिकेशव बुढामगरले पनि वडा नं ५ मा प्रतिस्पर्धाको स्थिति रहे पनि समग्र गाउँपालिकाको मतबाट आफू ठूलो मतान्तरले विजयी हुने दाबी गरे।

उनका भनाइमा– यो गाउँपालिकामा रहेका केही एमाले कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् भने विप्लव समूहको प्रभाव पनि पहिलेजस्तो छैन। ‘कांग्रेस–एमाले कमजोर भएकैले उनीहरूले स्वतन्त्र उम्मेदवारलाई अध्यक्ष–उपाध्यक्षमै समर्थन गर्नुपरेको छ’, बुढामगरले भने, ‘हिजो पनि उनीहरू एक हुँदा पनि थबाङमा हामीले अत्यधिक मतले हामीले विजय हासिल गरेका हौँ, अहिले एक हुँदा पनि परिणाम हाम्रै पक्षमा आउनेछ।’

नेपाल पत्रकार महासंघ लुम्बिनीका पूर्वअध्यक्षसमेत रहेका माओवादी केन्द्र समर्थित पत्रकार मौसम रोकामगर पनि यसपटकको स्थानीय तह निर्वाचनको परिणाम २०७४ को भन्दा फरक नहुने बताउँछन्। ‘जिल्लाका तीन दल एकजुट भएर माओवादी केन्द्र विरुद्ध खडा भएका छन्, त्यसैले प्रतिस्पर्धा त हुन्छ नै’, उनले भने, ‘तर, २०७४ मा जस्तै बलियो अवस्थामा रहेकाले निर्वाचन परिणाम माओवादी केन्द्रकै पक्षमा जाने देखिन्छ।’ समाचार नेपाल खवरमा सिताराम बरालले लेखेका छन् ।

सोमबार, १९ बैशाख, २०७९, बिहानको ०८:५२ बजे

सम्बन्धित खवर