थापाको सम्झनामा वृक्षरोपण गर्ने निर्णय

काठमाडौं / विवेकशील साझा पार्टीले पाटीले पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको सम्झनामा वृक्षारोपण गर्ने निर्णय गरेको छ।

थापाको निधन पछि आजै बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले निधनप्रति गहिरो दुख ब्यक्त गर्दै वृक्षारोपण गर्ने निर्णय गरेको हो।

अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले संयुक्त रुपमा विज्ञप्ति जारी गरि थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गर्ने निर्णय भएको जनाएका छन्।

साथै, यही बीचमा पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने पनि विज्ञप्तिमा उल्लेख छ। नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको सो पार्टीले जनाएको छ।

‘शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।’ विज्ञप्तिमा भनिएको छ।

थापाले अंगालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाइएको छ। ४४ वर्षीय थापाकाे काेराेना संक्रमणबाट आज निधन भएकाे छ।

बुधबार, १९ जेठ, २०७८, बिहानको ०७:४६ बजे

सम्बन्धित खवर