चुरे दोहन गर्ने सरकारको नीति घातक भएको सभापति देउवाको ठहर

विगतमा चुरे क्षेत्रबाट ढुंगागिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थाले

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगागिटी, बालुवा निकासी गर्नेगरी सरकारले हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

यो राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई उनले चेतावनीसमेत दिएका छन्। सरकारले तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्रलाई आफ्नो पार्टीले गम्भीरताका साथ लिएको पनि देउवाले बताए।

चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै रहेको उनले बताए।

जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नीति गलत रहेको एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले आरोप लगाए।

विगतमा चुरे क्षेत्रबाट ढुंगागिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भूक्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको उल्लेख गर्दै सभापति देउवाले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृतिविरुद्ध अपराध र देशको तराई-मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र भएको बताए।

बुधबार, १९ जेठ, २०७८, रातीको ०९:४६ बजे

सम्बन्धित खवर