बाढीपहिरोबाट ३३ को मृत्यु, ३० वेपत्ता

मनसुनको आगमनसँगै देशका बिभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी ३३ जनाको मृत्यु भएको छ भने ३० जना वेपत्ता भएका छन्।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रअनुसार, ३१ असारदेखि १७ असारसम्म भएका बाढी र पहिरोमा १६८ घटनामा ३३ जनाले ज्यान गुमाएका हुन्। जसमा ३० जना हराइरहेका छन् भने ३० जना घाइते भएका छन्।

केन्द्रका अनुसार, सिन्धुपाल्चोकमा पाँच, रोल्पामा तीन, प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई–दुई ताथ बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, दाङ र सिन्धुलीमा एक–एक जनाको ज्यान गएको हो।

त्यस्तै, बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, दाङमा दुई तथा धादिङ, बाजुरा, गोरखा, रुपन्देही र कालिकोटमा एक–एक जना बेपत्ता रहेका छन्।

अहिलेसम्म बाढी र पहिरोमा ४७५ निजी घर पूर्ण रुपमा क्षति भएका छन्। त्यस्तै, ११२ घरमा आंशिक क्षति पुगेको छ।

यससँगै ३६ वटा सरकारी कार्याल्य, ६ वटा विद्यालय तथा सामुदायिक भवन, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ वटा जल विद्युत योजना, पाँच वटा काठको पुल र दुई वटा ब्यांक तथा वित्तीय संस्थामा क्षति पुगेको छ।

गएरातिदेखि परिरहेको पानीले बाढी र पहिरो जाँदा बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। अहिलेसम्म दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको खबर आएको केन्द्रले जनाएको छ।

त्यस्तै, दुई ठाउँमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ५ः३० बजे नै पहिरो पन्छाउन प्रहरी परिचालन गरिएको छ। तर, पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो ठाउँमा बिहीबार पनि पहिरो गएको थियो। पहिरो पन्छाएर साँझबाट यातायात सञ्चालन भएको थियो। फेरि गएराति पहिरो गएको हो।

शुक्रबार, १८ असार, २०७८, बिहानको ०९:३१ बजे

सम्बन्धित खवर