मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन : गौतम

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितको एकता जोगाउनुपर्नेमा जोड दिएका छन्।

बालुवाटारमा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले भने, ‘पार्टीमा सबै नेताहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ। अहिलेको परिस्थितीमा मुख्य नेतालाई अपमान गरेर एकता गर्न हुँदैन। त्यसैले माधव नेपालसहितको पार्टीलाई एकढिक्का बनाउनुपर्छ।’

पार्टी एकताको लागि बनाइएको कार्यदललाई बीचमै निस्क्रिय पार्न नहुने उनले बताए। पार्टी एकता जोगाउन नसके कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उनको भनाइ थियो। नेता नेपाल समूहले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर गल्ती गरेको आरोप लगाए।

उपाध्यक्ष गौतमले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ। तर, उहाँहरुले त्यस्तो गर्नुभएन।’ उनले आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै पार्टी एकताका लागि ओली एक कदम पछाडि हट्नु र माधव नेपाल एक कदम अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘पार्टी एकता जोगाउन केपी कमरेड एक कदम पछाडि र माधव कमरेड एक कदम अगाडि बढ्नुपर्छ। म जहिले पनि एकताको पक्षमा छु। त्यो बेलामा पनि प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता लिन भनेको थिएँ, विषयअनुसार समर्थन र विरोध गर्छु।’

उनले केन्द्रीय कमिटी ब्युउताउने निर्णय सही भएकाले आफू बैठकमा सहभागी भएको खुलासा गरे। गौतमले आफूले पार्टी एकता भंग हुने कुनै निर्णयमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारे।

उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ। व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु। तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ।’

त्यसो त बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतम पार्टी एकता जोगाउन आएका बताएका थिए। ओलीले उपाध्यक्ष गौतमलाई जिस्काउँदै भनेका थिए, ‘वामदेवजीलाई आउने जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्दछु।‘

शुक्रबार, १८ असार, २०७८, दिउँसोको ०४:१८ बजे

सम्बन्धित खवर