डिप्रेसनको बारेमा सामान्य जानकारी – यसका कारण र बच्ने उपाय

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २(४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।

रमाइलो लाग्दैन, जीउ गल्छ, थकाई बढी लाग्छ, भोक र निद्रामा गडबडी हुन्छ, नकारात्मक बिचारहरु आउँछन्, आत्मबिश्वास घटदै जान्छ, पश्चाताप लाग्छ र मनमा छट्पटी भइराख्छ । यसरी निरन्तर २ हप्ता वा सोभन्दा बढी समयसम्म मन दुःखी, उदास, खिन्न, निराश, नरमाइलो हुनु दिक्कदारीपन हो ।

लक्षणहरू
– मन उदास दुःखी खिन्न हुने,
– आफूले पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्ने,

– पहिला रमाइलो लागिरहेका कुरामा मन रमाइलो नहुने वा रमाइलो गर्न मन नलाग्ने,
शरीरमा शक्ति नै छैन जस्तो अनुभव हुने, कामकाज नगरे तापनि शरीर तथा धेरै थकाईको महसुस हुने,

– हातखुट्टा झम्झमाउने तथा सम्झने शक्ति कमी हुने,
– कसैसँग कुरा गर्न(बोल्न(हाँस्न मन नलाग्ने,
– आफ्नो जीवन बेकार(व्यर्थ(काम नलाग्ने जस्तो विचार आउने,

उपचार
– माथि भनिएजस्ता लक्षणहरू देखिएमा बिरामीलाई तुरुन्त मनोचिकित्सक वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मी समक्ष लैजानुपर्दछ ।

– डिप्रेसनको उपचारमा औषधी सँगसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ ।
– मनोचिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार ५ महिनादेखि १ वर्षसम्म औषधि खानुपर्दछ

ध्यानदिनुपर्ने कुरा
– अत्याधिक महात्वकांक्षी नहुने
– किशोर(किशोरीको पढाइमा, वयस्कले काम तथा जागीरमा, खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नु राम्रो हो । तर धेरै तनाव लिएर प्रतिस्पर्धा नगर्ने ।

– आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने ।

– खुसी हुँदा, हाँस्दा, कुनै कुरालाई सकारात्मक सोच्दा, खेल, मनोरञ्जन शारीरिक व्यायाम गर्दा, मस्तिष्कमा राम्रो प्रभाव पार्छ, त्यसकारण यस्ता कुराहरुमा सहभागी हुने ।
– आफूलाई दुःख दिने, नराम्रो गर्ने मानिसको बारेमा सम्झिराख्नुभन्दा सुख तथा सहयोग गर्ने व्यक्तिको बारेमा सम्झिनु राम्रो हुन्छ ।

– जिन्दगीमा केही गर्न सकिएन, बेकार र धिक्कार छ, यो जिन्दगीलाई भन्नुभन्दा पनि हालसम्म आफूले गरेका कामलाई शान्त मनले सम्झिने ।
– घर परिववारमा (श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु–बुहारी) बीचको सम्बन्ध राम्रो बनाउने ।

आफैँले दैनिक ध्यानदिने कुराहरू

– दैनिक तीसदेखि पैँतालीस मिनेट जति हिँड्ने वा शारीरिक व्यायाम गर्ने,
– चुप लागेर एउटा कुनामा बस्नुभन्दा घर, कोठा, बारी, बगैँचामा आफूले गर्न सक्ने काम गर्ने,

– आफूलाई मनपर्ने कुनै गीत(भजन वा अन्य रमाइलो कामकाज गर्ने,
– आफूलाई मनमा लागेका कुरा आफैँभित्र राख्नुभन्दा परिवारका सदस्य तथा आफूलाई विश्वास लागेका मानिसलाई सुनाउने

– प्रशस्त पानी तथा खानेकुरा, फलफूल खान मन नलागे पनि खाने प्रयास गर्ने ।
मनोसामाजिक सहयोग

– बिरामीले आफ्नै लागि केहि सानोतिनो काम गरेको छ । जस्तैः नङ काटेको, कपाल कोरेको, लुगा सफा गरेको छ, भने हौसला तथा प्रोत्साहन दिने,
– बिरामीको हातमा सबै औषधी एकैपटक नदिने, औषधी खुवाँउदा खान नमानेमा बल प्रयोग नगर्ने, सम्झाई बुझाई खुवाउने,

– बिरामी निको हुँदै गएपछि बिरामीलाई रोग लाग्दा के भएको थियो, त्यसबारेमा राम्रोसँग बुझाउन, सम्झाउन सहयोग गर्ने,

– रोग फेरि लाग्न नदिन के–के गर्नुपर्छ भनेर सम्झाउने । जस्तैः दिइएको औषधी नियमितरूपमा खाने, आफूलाई अलिकति पनि व्यवहारमा परिवर्तन आएजस्तो लाग्यो भने फेरि पनि चिकित्सक(स्वास्थ्यकर्मीकोमा जाने, खानपानमा ध्यान दिने, थकाई लागेमा आराम गर्न दिने,
– बिरामीका मनका कुरा सुन्ने–सुनाउने साथी नहुन सक्छन् । तसर्थ परिवारका सदस्य नै कहिलेकाहीँ उसको साथी बनिदिने,

– आत्महत्याको विचार झल्किने खालका विचार व्यक्त गरेमा बिरामीलाई निगरानीमा राख्दै उपचारको लागि मनोचिकित्सककहाँ जानका लगि सहयोग गर्ने

– औषधीले काम गर्न कम्तीमा पनि दुई हप्ताभन्दा बढी समय लाग्ने हुनाले धैर्य हुने र बिरामीलाई पनि सोहीनुसार सम्झाउने । स्रोतः सीएमसी, नेपाल

मङ्गलबार, १७ असार, २०७६, दिउँसोको ०१:५७ बजे

सम्बन्धित खवर