हिमाविको अनियमितताबारे छानविन गर्न माग

दमक/   झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा भएको अनियमितता बारे सो विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्षहले ध्यानाकर्षण भएको जनाएका छन् । पूर्वाञ्चलकै नमूना माध्यमिक विद्यालयमा रहेको सो माविमा गएको आर्थिक वर्षमा विद्यार्थीबाट लिइएको शुल्क बैंक दाखिला नगरी प्रधानाध्यापक ओमप्रसाद आचार्य तथा लेखापाल दयासागर आचार्य लगायतको मिलेमतोमा अनियमितता भएको बिहीबार मात्र खुलासा भएको थियो ।

सोही प्रकरणमा व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु बलभद्र अधिकारी, शेरबहादुर भट्टराई, मेघराज तिम्सिना, ऐश्वर्य तिम्सिना र तीर्थराज बस्नेत( शंकर) ले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा उनीहरुले सो विद्यालयमा १ करोड ५० लाखभन्दा बढी हिनामिना भएका कारणले अहिलेको विद्यालय व्यवस्थापन समिति खारेज गरी अर्का गठन गर्न, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र लेखापाललाई तत्काल निलम्बन गरी

सो अनियमितताको उचित छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ । पूर्वअध्यक्षहरुले अहिलेका व्यवस्थापन समिति पनि ऐन कानुन विपरीत ३ सदस्यीय मात्र रहेकाले सो को खारेजी गरी अर्को समिति गठन गर्न माग गरिएको हो । यसैगरी सो विद्यालयमा भएको अनियमितता बारे नेपाली काँग्रेस दमक नगर समितिले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नगर सभापति प्रकाश प्रसाई र नगर सचिवद्वय दिपेश दाहाल र रामचन्द्र अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा दमक नगरपालिकाले अवैध रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरी आफ्ना नजिकका व्यक्तिहरुलाई प्रधानाध्यापक बनाएको र त्यसको परिणाम अहिले देखिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा अनियमिततामा संलग्नहरुलाई अझै पहिचान गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा अनियमितताबारे छानविन गर्न स्वतन्त्र समिति गठन गर्न समेत माग गरिएको छ । कक्षा १२ सम्मका माध्यमिक विद्यालयको रेखदेख र नियमन गर्ने अधिकार अहिले नगपालिकामा रहेको छ ।

शनिबार, १६ असोज, २०७८, बिहानको ०९:२९ बजे

सम्बन्धित खवर