कमलमा बन्न नसकेको आदिवासी रंगशाला नाम परिवर्तन गरि दमकमा ल्याउने तयारी

झापा/झापाको दमकसंगै जोडिएको कमल गाउपालिका ५ साविक लखनपुरमा अन्तराष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने सरकारी योजना दमकतर्फ ल्याउने प्रयास शुरु भएको छ ।  त्यहाँ रहेका किराँत समुदायका दिवंगतहरुको समाधी ( चिहान) भत्काएर अन्तराष्ट्रियस्तरको रंगशाला बनाउन करिब एक दशक अघि शुरु भएपनि निर्माण गरिने रंगशालाको नामाकरणमा उत्पन्न विवाद समाधान हुन नसकेपछि रंगशाला निर्माणको योजना अन्यत्र लैजान वर्तमान सरकारका सम्बद्ध निकायहरु तथा सरोकारवालाहरुले प्रयास शुरु गरेका हुन ।
स्थानीय जनजाती समुदायले लामो समयदेखि समाधिस्थलको रुपमा प्रयोग गर्दै आएको त्यहाँको वन क्षेत्रमा द्धन्द्धकालमा सशस्त्र प्रहरी बल पाथिभरा गण स्थापनापछि सशस्त्र प्रहरीका तत्कालिन एसपी गणेश ठाडामगरको पहलमा २०६६ साल ताका स्थानीयस्तरमा राजनीतिक दल तथा सरोकारवालाहरुबीच त्यहाँ रंगशाला तथा स्मृति पार्क निर्माण गर्ने र पुरानो समाधिस्थलको पूर्व क्षेत्रमा समाधिका लागि प्रयोग गर्ने सहमति भएको थियो ।
सोही सहमतिपछि त्यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिवगंतहरुको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण सुरु भएको थियो । स्थानीयस्तरमा सर्वपक्षीय / सर्वदलीय सहमतिपछि जनजाती समुदायका स्थानीयहरुले आआफना पूर्खाको समाधी ( चिहान) भत्काउन सहमति जनाएका थिए ।
तर सरकारले सरोकारवालाहरुसंगको सहमति विपरित पछिल्लो समय एकाएक रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रंगशालाका नाममा बजेट विनियोजन गरेपछि आफूहरुको पहिचान जोडिएको र पूर्खाहरुको चिहान भत्काएको ठाउँमा बन्दै गरेको रंगशालाको नाम परिवर्तन अमान्य हुने भन्दै विरोध जनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्न सरोकारवालाहरुले सहमति जनाए मात्रै त्यहाँ रंगशाला बनाउने भन्दै आएका थिए । ओली र समाधीस्थलका सरोकारवालाहरुबीच मतभेद भएकै कारण सो योजनाका लागि सरकारले दुई आर्थिक बर्षमा छुटयाएको १ करोड ४० लाख रुपैयाँ बजेट फ्रिज भएको थियो । रंगशाला निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा विनियोजन गरिएको ४० लाख र आर्थिक वर्ष २०७३/०७४ मा विनियोजन गरिएको १ करोड रुपैयाँ फ्रिज भएको हो । आर्थिक वर्ष २०७२/०७३ देखि रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा बजेट विनियोजन गर्न थालेपछि रंगशाला निर्माणको काम मा अवरोध हुँदा बजेट फ्रिज हुन पुगेको थियो ।
लामो समय सम्म सरोकारवालाहरुसंगको रस्साकस्सी पछी प्रधानमन्त्री ओलीको चाहनामा नै हाल त्यहाँ बनाइने भनिएको रंगशाला निर्माणको योजना अन्यत्र लैजाने प्रयास शुरु भएको प्रधानमन्त्री ओली तथा नेकपा निकट स्रोतहरुले जनाएका छन ।
विकल्पमा दमकको बेलडाँगी कि चियाबगान ?
सो अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि कमलको विकल्पमा दमक पहिलो प्राथमिकतामा पर्नुपर्ने दमकबासीहरुको चाहना छ । यस क्षेत्र ( झापा ५ ) को योजना अन्य क्षेत्रमा लैजानु हुदैन । कमलमा नभए दमकमा नै भएपनि बनाइनु पर्छ भन्ने हाम्रो तर्क हो – सत्तारुढ नेकपाका एक नेताले भने ।
दमकमा रंगशाला बनाउने बिषयमा केही समय यता जनप्रतिनिधि र प्रधानमन्त्री ओलीका निकट पात्र तथा सचिवालयका नेताहरुबीच सघन छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी स्वयं कमलमा नामाकरणका बिषयमा सहमति नबनेको अवस्थामा दमकमा भए पनि सो रंगशाला निर्माण गर्नुपर्ने भन्दै आन्तरिक छलफलहरुमा केन्द्रित भएका स्रोतको भनाई छ ।
निकट स्रोतहरुका अनुसार भण्डारीले यस बिषयमा नगरपालिकाका जनप्रतिनिधि तथा यहाँका नेकपाका नेताहरु र सरोकारवालाहरुसंग मदन भण्डारी रंगशाला निर्माणका लागि कमलको विकल्पका रुपमा दमकलाई प्रयोग गर्न आग्रह गरिरहेका छन ।
नगरपालिकाका जनप्रतिनिधिहरु दमकको उत्तरी क्षेत्र बेलडाँगीमा रहेको हंसेदुम्से सामुदायिक वनको स्वामित्व रहेको हालको चुलाचुली आधारभुत विद्यालयको खेलमैदानस्थललाई विस्तार गरेर अन्तराष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माणको बिषयमा अनौपचारिक छलफलमा छन ।
बेलडाँगीको विकल्पका रुपमा केही जनप्रतिनिधिहरुले दमकमै रहेको महालक्ष्मी चिया बगान क्षेत्रको ऐलानी प्रति जग्गामा रंगशाला निर्माण गर्न सकिने प्रस्ताव आन्तरिक रुपमा गरिरहेका छन । साता अघि शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसंगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिल्वाल, प्रम ओलीका प्रमुख स्वकिय सचिव भण्डारी लगायत सरकारी अधिकारीहरुसंग पनि दमकमा रंगशाला निर्माणका बिषयमा छलफल भएको दमकका जनप्रतिनिधिहरुले आफनो फेसबुक वाल मार्फत सार्वजनिक गरेका थिए- निश्कर्श न्युज बाट साभार

बुधबार, १७ मंसिर, २०७७, बिहानको ०९:४५ बजे

सम्बन्धित खवर