प्रदेश १ को बजेट जेठ २४ मा ल्याउने तयारी

विराटनगर /  प्रदेश १ को बजेट २४ जेठमा ल्याउने तयारी भएको सामाजिक विकास मन्त्रालयले निर्णय गरेको छ ।
प्रदेश १ मन्त्रीपरिषदले जेठ २४ गते दिनको दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय मन्त्रीपरिषदको बिहीबार बिहानको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । ‘जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले भने ।

यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गतेतिर सुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए । मंगलबार प्रदेश १ संसद्का विपक्षी दलका नेताहरुसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसद्मा प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए ।
तर, बुधबारको मन्त्रीपरिषद बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसको विपक्षी दलहरुले विरोध गरेका थिए ।
प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिँदै आएका थिए ।
असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था छल्न सरकारले अध्यादेश ल्याएको हो ।

बिहिबार, २० जेठ, २०७८, बिहानको ११:०५ बजे

सम्बन्धित खवर