बजेटमा कृषिलाई प्राथमिकता, उत्पादनमा ह्रास

 दमक/   बजेटले कृषिलाई प्राथमिकतामा राखेपनि उत्पादनमा भने ह्रास हुँदै गएको विगतका तथ्यांकले देखाएको छ । यो पटकपनि संघीय सरकारले कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । प्रदेश १ सरकारले पनि कृषि क्षेत्रलाई नै प्राथमिकता दिएर बजेट निर्माणको तयारी गरिरहेको जनाएको छ ।

प्रदेश १ सरकारले गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्भेक्षणले प्रदेश १ को कूल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३७ दशमलव १४ प्रतिशत थियो । आर्थिक वर्ष ०७७/०७८ को आर्थिक सर्भेक्षण प्रतिवेदनमा भने कृषि क्षेत्रको योगदान घटेर ३५ दशमलव ७ प्रतिशतमा आइपुग्यो । प्रदेश १ मा ६० प्रतिशत मानिस कृषि पेशामा आवद्ध छन् ।

आर्थिक सर्भेक्षण २०७७÷७८ कै अनुसार प्रदेश १ बाट राष्ट्रिय उत्पादनमा मकै २८.३, धान २१.५, गहुँ १०.२, आलु ३३.१, अलैंची ९४.२, अदुवा ३४.८ र दूध २०.७ प्रतिशतको योगदान भएको छ । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आर्थिक वर्षको तथ्याङ्क अनुसार प्रदेशको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले ३३ दशमलव १ प्रतिशत योगदान दिएको छ ।

प्रदेश सरकारका निरन्तरका आर्थिक सर्भेषण प्रतिवेदनहरुमा उल्लेखित तथ्यांकले पनि प्रदेशको कृषि क्षेत्र सुधारोन्मुख नभई झन् खराब अवस्थामा गइरहेको देखिन्छ । यस्तै कूल मूल्य अभिवृद्धिमा पनि प्रदेश १ मा कृषि क्षेत्रको योगदान १० वर्ष अगाडि ३२ दशमलव ७ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षमा २४ दशमलव ९ प्रतिशत रहेको योगदान चालू आर्थिक वर्षमा घटेर २३ दशमलव ९ प्रतिशतमा आइपुग्ने अनुमान प्रदेशको आर्थिक मामिला मन्त्रालयले गरेको छ ।

यसलाई सुधार गर्न के गर्ने त भन्ने विषयमा प्रदेश सरकारले वृहत छलफल गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको प्रदेश सरकारले बिहीबार अर्थशास्त्री तथा विज्ञहरुसँग छलफल गरेको छ । अर्थशास्त्रीहरुले हावादारी र लोकप्रियताको आधारमा भन्दा यथार्थमा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । मन्त्रालय स्रोतले भने यस पटक पशुपालन र जुट खेतिलाई प्रबद्र्धन गर्ने गरी अनुदानका कार्यक्रम ल्याउने तयारी गरेको छ ।

 

शुक्रबार, २० जेठ, २०७९, बिहानको १०:१९ बजे

सम्बन्धित खवर