१३ सय युवाको शव नेपाल भित्रिए

दमक /  चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीबाट साढे ७ खर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ३०६ नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ को वैशाखसम्म वैदेशिक रोजगारीमा गएका १ हजार ३०६ नेपाली श्रमिकको रोजगारीकै क्रममा मृत्यु भएको हो । विगतका आर्थिक वर्षहरुको तुलनामा चालु आवको १० महिनाममै सो संख्यामा नेपालीको मृत्यु भएको देखिन्छ । सरकारले श्रम स्वीकृति लिएर रोजगारीकै क्रममा मृत्यु हुने श्रमिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता दिने गरेको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैशाखसम्म मृतक श्रमिकका नजिकका आफन्तलाई ६३ करोड भन्दा बढी आर्थिक सहायता दिएको जानकारी दिए ।
चालु आर्थिक वर्षको वैशाखसम्म मृतक परिवारलाई क्षतिपूर्ति बापत सरकारले ६२ करोड ७२ लाख वितरण गरेको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकको हकदारलाई बोर्डले आर्थिक सहायता स्वरूप ७ लाख उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ ।

यो अवधीमा विदेशमा अलपत्र परेका ५८ जना श्रमिकलाई कल्याणकारी कोषको रकमको प्रयोग गरी उद्धार गरिएको छ । वैदेशिक रोजगारमा संलग्न नेपाली श्रमिक तथा निजका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्नेे उद्धार, राहत, क्षतिपूर्ति लगायतका कल्याणकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन वैदेशिक रोजगार कल्याणकारी व्यवस्थापन प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ स्वीकृत गरी कार्यान्वयनमा आएपछि आर्थिक सहायता लिने श्रमिकको संख्यासमेत बढेको बोडले जनाएको छ ।
बोर्डले सार्वजानिक गरेको वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा कम मृत्यु दर युएई ०.२१ प्रतिशत, कतार ०.२४, साउदी अरब ०.३९ र सबै भन्दा बढी मलेसिया ०.८३ प्रतिशत रहेको छ । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढदै गएको बोर्डले सार्वजानिक गरेका वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत आवसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २९ महिला र १ हजार २१३ पुरुषसहति १ हजार २४३ जना नेपाली श्रमिकहरुका नजिकको हकदारलाई वैदेशिक रोजगार बोर्डले ७३ करोड ७७ लाख १५ हजार आर्थिक सहायता प्रदान गरेको थियो । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कोभिङ– १९ संक्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने परिवारका सदस्यलाई बोर्डको निर्णयानुसार प्रति परिवार थप ५० हजार सान्त्वना राहत सहयोग पनि गरिएको जानकारी दिए । यसरी राहत सहयोगका लागि बोर्डले थप ४६ लाख प्रदान गरेको जनाएको छ ।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्पmत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको छ ।

विगत वर्षदेखि नै निर्णय भएर रहेका श्रमिकका निवेदन बोर्डले पास गरेपछि सहयोग रकम पाउनेको संख्या बढेको हो । यसैगरी यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृतिको अवधिमा नेपालमा रहदा मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या बढेको बोर्डको भनाइ छ ।
आर्थिक वर्ष २०७६/०७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तले बोर्डबाट ७ लाख रुपैयाँको दरले आर्थिक सहायता दिएकोमा सो संख्या आव २०७७/०७८ मा वृद्धि भएर १ हजार २४२ पुगेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा विदेशमा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई काल्याणकारी कोषबाट ४१ करोड ८४ लाख रुपैयाँ आर्थिक सहयोग दिएकोमा गत वर्ष यो रकम बृद्धि भएर ७३ करोड ७७ लाख रुपैयाँ पुगेको बोर्डले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।

शुक्रबार, २० जेठ, २०७९, बिहानको १०:५४ बजे

सम्बन्धित खवर