‘अवचेतनभित्रको एउटा पात्र’ पढेपछि…

        कथाकार आफैले आफ्नो कृतिमाथि भनेका छन् । भ्रष्टाचार, कमिसनतन्त्र, विसंगति र विकृतिहरुलाई जनयुद्धबाट उत्पादित शासकहरुले समाप्त पार्नुपथ्र्यो तर यसले उल्टै शासकहरुलाई समाप्त पार्न खोज्दैछ । वीर शहीदहरुलाई पनि यिनले बिर्सिए । देशले नोकरचाकर र दलाल मात्रै जन्माउन थाल्यो परिणाम स्वरुप तल्लो वर्गका जनताको जीवन तहस नहस भयो । देश चलाउने नेता प्रशासक प्राविधिक बिकाउ चरित्रका बने ।

फोहोरी सत्ताको दलदलमा फसे भन्ने कुरालाई कथाले विच विचमा चोटिलोगरि प्रहार गरेको पाइन्छ । धर्मका नाउँमा साम्प्रदायिक दङ्गा गर्ने, धर्मलाई नै भँजाएर खाने, धर्मको खोल ओडेका आडम्बरी ढोंगीहरुको चरित्र नङ्ग्याउँदै दोहोलो काड्ने काम पनि कथाहरुले गरेका छन् ।

=======================================

विमल लामिछाने

‘अवचेतनभित्रको एउटा पात्र’ नामक कृति कथाकार यज्ञराज प्रसाईंको पाँचौ कृति हो । यो कथा सङ्ग्रहमा सङ्कलित एघारमध्ये नवौँ स्थानमा पुस्तकको शीर्षक कथा ‘अवचेतनभित्रको एउटा पात्र’ ले स्थान पाएको छ ।
संग्रहमा समेटिएका कथाहरुले देशमा विगतदेखि वर्तमानसम्म अनेकौँ पीडाको ज्वाला दन्किरहेको, त्यो ज्वालालाई कसरी शान्त पार्ने भनी लेखक चिन्तित बनिरहेको अथवा त्यही प्रज्ज्वलित पीडाको टिपोट गरिएको कथात्मक प्रस्तुतिले कथासङ्ग्रहलाई पूर्णता दिएको छ ।
‘अवचेतनभित्रको एउटा पात्र’ शीर्षक कथाका आधारमा सिङ्गो पुस्तकको शीर्षक राखिएको बोध हुन्छ । यो कथामा एउटी एकल महिलाले गरेको संघर्ष चित्रण गरिएको छ । कथाले सामाजिक, राजनीतिक कुसंस्कार, कुरीति, अनियमितता, बेथिति आदिलाई परास्त गर्न प्रेरित गरेको देखिन्छ । प्रस्तुत कथासङ्ग्रहले नेपाली सामाजका विविध पक्षलाई विषयवस्तु बनाई जीवन्त चित्रण गरेको पाइन्छ ।
कथामा गाउँले परिवेश, घरभित्रका समस्या, देशको, समाजको आँखा नपुगेको ओझेल परेका अध्यारो ठाउँका अशिक्षित मनहरु, दुःख पाएका, अन्यायमा परेका, हेपिएका, ठगिएका, लुटिएका मान्छेलाई पात्रको रुपमा राखिएको छ, जसले सिंगो कथासङ्ग्रहलाई जिवन्त बनाएको छ ।
मुख्य रूपमा नारी हिंसा र आंशिक रूपमा नारी सङ्घर्ष प्रस्तुत सङ्ग्रहले उठान गरेको एउटा सशक्त विषयवस्तु हो । शुरुकै कथा आडम्बरमा आफन्त ठानिएकाहरूबाटनै नारीहरूले बलात्किृत हुनुपर्ने अवस्था उजागर गरिएको छ । यस कथामा प्रगतिवादी भनी कहलिएका पुरुषले नै गरेको अपराधको सजाय नारीले भोग्नुपरेको विवसतालाई देखाइएको छ ।
‘छातीभित्रको घाउ’ कथामा पति र सौताबाट प्राप्त पीडाको कारुणिक चित्रण प्रस्तुत कथाकी पात्र जेठी भाउजूका माध्यमबाट गरिएको छ भने नारीहरू बाबुआमाजस्ता परिवारका सदस्यहरूबाट पनि पीडित बन्ने गरेको दृष्टान्त ‘गरिबको मोल’ कथामा पाइन्छ । यस कथामा छोरीको भौतिक सुखका लागि बाबुआमाले हार्दिक सुख कुल्चिदिएका छन् । छोरी सङ्गीताले राजीखुसी देवान सरसँग गरेको वैवाहिक सम्बन्धलाई वर्र्गीय असमानताको कारण देखाई माइतीले अवरोध प्रकट गरेका छन् । सङ्गीता माइतीको इच्छाअनुसार आफ्नो खुसी मार्न र आफ्नो प्यारो पतिलाई बिर्सँदै अर्कै पुरुषसँग दोस्रो विवाह गर्न बाध्य बनाइएकी छ । यस कथामा नारी मात्र नभई पुरुष पनि पिडित बनेको देखिन्छ ।
यस्तै सामाजिक कथा हो ‘ज्यानमाराको छोरो’ । ज्यानमाराको छोरो कथामा विमलको मानसिक अवस्थाको अध्ययनबाट विगतको यथार्थ पहिचान गर्ने जमर्को गरिएको छ । जसले समाजमा कतिपय घटना तथ्यलाई केलाउन नसक्दा आशंकाकै कारण हुने गर्छन् भन्ने कुरा देखाइएको छ । यो कथामा पुरुषको अहङ्कार, लहड, गैरजिम्मेवारी कुकृत्यका कारण नारीले पीडा भोग्नुपरेको छ भने ‘भत्केका घरहरू’ कथामा नारी र पुरुषकाबिचमा द्वन्द्व देखिएको छ । विदेशमा पत्नीले रगत र पसिना बगाएर कमाई पठाएको पैसा परस्त्री गमनमा पतिले उडाएको, मौका दिँदा पनि पति नसुध्रिएको र आखिरमा पत्नीले पतिसँग पारपाचुके गरी दोस्रो विवाह गरेको देखिन्छ ।
राजनीतिक विकृति सिङ्गो पुस्तकले समेटेको अर्को मुख्य विषयवस्तु हो । २०२० का दशकको झापा विद्रोह, २०४६ सालको राजनीतिक परिवर्तन, माओवादी द्वन्द्व, गणतन्त्रको आगमनसँग सम्बन्धित राजनीतिक सन्दर्भ आदि विषय कथाभित्र विभिन्न पात्रको माध्यमबाट प्रश्तुत गरिएको छ । पछिल्लो समय जनताको आशा र नेतृत्ववर्गको उपेक्षाका कारण देखिएको निराशाजस्ता विषयले मुख्य स्थान पाएका छन् ।
‘रित्तो हात र अन्तर्सम्बन्ध’ कथामा क्रान्तिका बेला अनेक चुनौती स्वीकार गरी क्रन्तिकारी योद्धाहरूलाई आश्रय दिने निरीह किसानहरूका अनुहारमा रानीतिक परिवर्तनपछि पनि कुनै चमक आउन नसक्दा राजनीतिप्रति नै वितृष्णा बढ्दै गएको बोध गराइएको छ ।
‘विस्थापित बस्ती’ कथामा परिवर्तनपछिपनि कम्युनिस्टका नाममा पुरानै सामन्ती संस्कार हावी भएको, गरीब, किसान, मोहीहरूको उद्धार गर्ने नारामा जनताको अभिमत पाएका पार्टी र नेताहरूले नै भूमिहीन किसान, मजदुरहरूले आश्रय लिएर बसेको जमिन आफ्ना नाममा दर्ता गराएको तितो यथार्थ प्रस्तुत कथामा पोखिएको छ ।
‘अपहरण’ कथा वामराजनीतिका नाममा भएको लुटतन्त्रको पर्दाफास हो भन्न सकिन्छ । व्यवसायमा अंशियारहरूले सोझा, सिधा, मिहिनेती, इमान्दार अंशियारलाई ठग्ने, कमरेडहरूले कमरेडहरूलाई नै ठग्ने, अपहरण गर्ने जस्ता घृणित र तितो अवस्थाको चित्रण यस कथाले गरेको छ ।
यस्तै राजनीतिक वितिष्णालाई कथामा रुपान्तरण गरिएको अर्को कथा हो ‘रगतको पाइला’ । माओवादी द्वन्द्वलाई माओवादी योद्धाकै दृष्टिकोणबाट हेरी राज्यसत्ताले गरेको हिंसा र दमनको यथार्थ चित्रण रगतको पाइलामा गरिएको छ ।
‘दूर्दशामा बाँचेको बेहोस मान्छे’ यो सङ्ग्रहको अन्तिम कथा हो । कथामा राजनीतिक, साम्प्रदायिक द्वन्द्वका झलक र पीडाहरू तथा तिनको परिणमस्वरूप देखिएको मानसिक विकारलाई जस्ताको त्यस्तै बाहिर ल्याउने प्रयत्न गरिएको छ ।
कथाका केही सन्दर्भमा प्रकृतिको सजीव चित्रण पाइन्छ भने देशप्रतिको चिन्ता गहिरोगरि ब्यक्त भएको अनुभूति हुन्छ । आफ्नो देश नेपाल सिरिया, अफगानिस्थान, इरान, सुडानजस्तो उपनिवेश होला भन्ने चिन्ता लेखकले ‘अवचेतनभित्रको एउटा पात्र’मा प्रकट गरेका छन् । यो नै लेखकले व्यक्त गर्न चाहेको मुख्य चिन्ता हो भन्ने अनुमान सहज गर्न सकिन्छ । कथामा सचेत वर्गको सामाजिक उत्तरदायित्व समाज रुपाञ्तरणकै निम्ति हुनुपर्ने, राजनीति गर्ने मान्छेहरुले ब्यक्तिगत स्वार्थलाई छाडेर वर्गीय हितलाई सर्बोपरि राख्न सङ्ग्रहमार्फत सचेत गराइएको पाइन्छ ।
कथाकारका प्रत्येक कथामा सामन्ती मनोवृत्तिप्रति घोर विरोध पाइन्छ । रित्तो हात र अन्तरसम्बन्ध, छातीभित्रको घाउ, विस्थापित बस्तीहरु, रगतका पाइलाहरु, अवचेतनभित्रको एउटा पात्र, अपहरण, आडम्वर, गरीबको मोल, ज्यानमाराको छोरो कथाहरुले दलको खोल ओडेका जोक्करहरुको कडा भण्डाफोर गरेका छन् । कथाकार लेख्छन्– ‘रुपमा सर्वहारा सारमा नवधनाढ्यहरु यो दोहोरो चरित्र बोक्नु अहिले केही वामपन्थीहरुको जीवन परिभाषा बनेको छ । तिनीहरुले समाजमा सहयोद्धा होइन, दास र दलालहरु तयार गर्छन् र अपराधीहरुसँग साठगाठ गर्छन्’ ।
‘भत्केका घरहरु ’ कथामा वर्तमान गणतान्त्रिक नेपालको आर्थिक दुरावस्था र जीवन धान्न विदेश गएपछि श्रीमान् श्रीमतीबीच मनोमालिन्य भई परिवार विघटन भएको यथार्थ चित्रण गरेको छ । ‘रगतकका पाइलाहरु’ आमूल रुपान्तरणको नाममा नेपाली क्रान्तिकारीले गरेको वलिदान, त्याग र क्रान्ति—निष्ठाको कथा हो । तर कमाण्डरको धोखाधडीले हजारौंको वलिदान यतिवेला वेकार भएको छ । निमुखा जनताले छानेको नेता दरवार पसेपछि निष्फल कालखण्ड हामीले भोगिरहेकाछौं । कथाको अन्तर्य जनवादी क्रान्तिबाट शुरु भएको जनयुद्ध प्रतिक्रान्ति र आत्मसमर्पणमा टुङ्गिएको छ । ‘दूर्दशामा बाँचेको वेहोश मान्छे ’मा धर्मको नाममा साम्प्रदायिक दङ्गा गर्ने धार्मिक कठमूल्लावादीहरुप्रति तिखो प्रहार भएको छ । कथाकार आफैले आफ्नो कृतिमाथि भनेका छन् ।
भ्रष्टाचार, कमिसनतन्त्र, विसंगति र विकृतिहरुलाई जनयुद्धबाट उत्पादित शासकहरुले समाप्त पार्नुपथ्र्यो तर यसले उल्टै शासकहरुलाई समाप्त पार्न खोज्दैछ । वीर शहीदहरुलाई पनि यिनले बिर्सिए । देशले नोकरचाकर र दलाल मात्रै जन्माउन थाल्यो परिणाम स्वरुप तल्लो वर्गका जनताको जीवन तहस नहस भयो । देश चलाउने नेता प्रशासक प्राविधिक बिकाउ चरित्रका बने । फोहोरी सत्ताको दलदलमा फसे भन्ने कुरालाई कथाले विच विचमा चोटिलोगरि प्रहार गरेको पाइन्छ । धर्मका नाउँमा साम्प्रदायिक दङ्गा गर्ने, धर्मलाई नै भँजाएर खाने, धर्मको खोल ओडेका आडम्बरी ढोंगीहरुको चरित्र नङ्ग्याउँदै दोहोलो काड्ने काम पनि कथाहरुले गरेका छन् ।
अधिकांश कथामा झापाको काँकडभिट्टा, धुलाबारीआसपास राजमार्गका छेउछाउको स्थानीय परिवेश चित्रण भए पनि केही कथामा काठमाडौँ र तेह्रथुमका केही स्थानको चर्चासमेत पाइन्छ ।
पुस्तकको आवरणमा दौरा, सुरुवाल र शिरमा ढाका टोपी लगाएका लेखक हातमा कलम र अपूर्ण लेखन भएको कपी बोकेर दाहिने कुइनो सिरानमा राखी गम्भीर बनेर जल्दै गरेको नेपालको मानचित्र नियालिरहेको छ । आवरणलाई नियालेर हेर्ने हो भनेमात्र पनि कथाको सार झल्किन्छ । कृतिमा एघार कथा सङ्कलित छन् । पवित्रा प्रसाईंले प्रकाशनको अभिभारा निर्वाह गरेको उक्त कृति बुद्ध अफसेट प्रेस बिर्तामोडले मुद्रण गरेको हो भने कमला भट्टराई पराजुलीले लेआउट डिजाइन र पवन राजवंशीले आवरण चित्र निर्माण गरेका हुन् । जसको मुल्यभने १५५ रुपैयाँमात्र तोकिएको छ ।
२००३ चैत २८ गते तेह्रथुम जिल्लाको छातेढुङ्गा–४ मा दाताराम र लक्ष्मीदेवी प्रसाईंका सुपुत्रका रूपमा जन्मिएका यज्ञराज प्रसाईंले आफ्नो मुख्य कर्मथलो झापा जिल्लालाई बनाए । झापाको मेचीनगर नगरपालिका–७, इटाभट्टामा बसोबास गर्ने प्रसाईंले जीवनयापनका क्रममा शिक्षणलाई मुख्य पेसा बनाउँदै आफूलाई राजनीति तथा समाजसेवाका क्षेत्रमा सक्रियता कायमै छ ।
२०२० को दशकमा चलेको झापा विद्रोहदेखि नै नेपाली राजनीतिमा आफूलाई समाहित गरी परिवर्तनको आकाङ्क्षा राख्ने प्रसाईं सधैँभरि निम्न वर्गीय किसान, मजदुर तथा निमुखा जनताका पक्षमा दरिलो ख गरि उभिने र वर्गमुक्तीको आवाज उठाउने वर्गीय चेतना अब्बल भएका सशक्त व्यक्तित्व नै कथाकारको अर्को परिचय हो ।
विभिन्न साहित्यिक संस्थाहरूमा आबद्ध भई साहित्य रचना तथा साहित्यिक र गैरसाहित्यिक पत्रपत्रिका र कृतिहरूको सम्पादनका क्षेत्रमा प्रसाईंको भूमिका महत्वपूर्ण रहँदै आयो । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रसाईंले नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत भई नेपाली भाषासाहित्यको सेवामा अतुलनीय योगदान रहेका छन् । प्रसाईंका सशक्त साहित्यिक कृतिहरूको रचना भइरहेको छ । जीवनको सात दशकका अनुभवलाई पुस्तानान्तरण गर्दै साहित्यको क्षेत्रबाट योगदान गर्ने उत्साह र जाँगर प्रसाईंमा घटेको छैन । बरु अझै बढेर गएको पाईन्छ ।
अन्त्यमा, कोरोनाले मुलुक थलिएको बेला । लकडाउनको समयलाई सदुपयोग गर्दै ‘अवचेतनभित्रको एउटा पात्र’ नामक पुस्तक समिक्षा गर्ने अवसर जुराइदिनुभएकोमा सर, यज्ञराज प्रसाईप्रति हार्दिक आभार । यहाँको साहित्यिक यात्रा अनवरत रहोस् शुभकामना ।

शनिबार, १९ असार, २०७८, बिहानको ०९:३६ बजे

सम्बन्धित खवर