भुकम्पले ४७७ घरमा क्षति

खोटाङ / खोटाङको साकेला गाउँपालिका ५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले खोटाङमा २ विद्यालय भवन, १ प्रहरी चौकी र ४७५ घरमा क्षति पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको छ । साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म ४६४ घरमा क्षति भएको जानकारी दिए । बाँझेच्यानडाँडामा १३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा १०५ र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको उनको भनाइ छ । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा १–१ घर, खोटेहाङ गाउँपालिकामा २ र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए ।

वि.सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्ट’का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । जिल्लाका अन्य स्थानीय तहले पनि भूकम्पबाट आ–आफ्नो क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी राखेको बताएका छन् ।

बुधबार, १८ साउन, २०७९, बिहानको ०८:४२ बजे

सम्बन्धित खवर