आयोगद्धारा उपनिर्वाचनको घोषणा- नयाँ मेयरको खोजीमा धरान,मुख्य दलका आकांक्षी धेरै

दमक/  निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेसँगै धरान उपमहानगरपालिकामा नयाँ मेयरको खोजी सुरु भएको छ । तत्कालिन निवार्चीत मेयर तारा सुब्बाको गत २०७५ साउन १ गते निधन भएपछि धरान उपमहानगरपालिकाका नेतृत्व बिहिन छ, अहिले सम्म उपमेयर मन्जु सुवेदीले नै कार्यबहाक मेयरको रुपमा नेतृत्व गर्दै आएकी थिइन ।

मेयर नभएकै कारण धरानमा विकास निर्माणले गति लिन सकेको छैन भने महत्वपूर्ण निर्णय गर्न अन्य जनप्रतिनिधिले सकेका छैनन्। मेयरको चुनाव हुने भएपछि नेकपा र कांग्रेसका स्थानीय नेताले टिकटका लागि राजनीतिक लविङ सुरु गरेका हुन्।

बिहीबार निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको छलफल पश्चात मंसिर पहिलो साता रिक्त स्थानमा उपनिर्वाचन गर्न सुझाव दिएका थिए।

राजनीतिक दलको सुझाव अनुसार आयोगले मंसिर पहिलो साता देशभरका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटी गर्ने तयारी थाले लगत्तै धरानमा भावी मेयरको खोजी सुरु भएको हो।

धरानमा प्रमुख दल नेकपा, कांग्रेस र संघीय समाजवादी फोरमले भावी मेयरको खोजी सुरु गरेका छन्। गत स्थानीय निर्वाचनमा तत्कालीन एमाले र माओवादीका उम्मेदवारले मेयर, उपमेयरसहित धरानका २० वडामध्ये १५ मा विजयी हासिल गरेको थियो। पाँच वडामा कांग्रेस उमेद्वार निर्वा्चित भएका थिए।

निर्वाचन आयोगले उपनिर्वाचन गरेसँगै कांग्रेस सुनसरीले धरान उपमहानगरपालिकाको मेयरको उमेद्वारको खोजी सुरु गरिसकेको जिल्ला सभापति राजीव कोइरालाले बताए। उनले विधि प्रकृया ढंगबाट नै उमेद्वार छनोट गरिने जानकारी दिदै संभावित उमेद्वारलाई पार्टीका गतिविधि जनता समक्ष पुर्याउन निर्देशन दिइ सकिएको बताए।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले पनि उपनिर्वाचनका लागि पार्टीले योग्य उमेद्वार छनोट र निर्वाचनको आन्तरिक तयारी सुरु गरिसकेको बताए।
उनले उपनिर्वाचनमा समेत आफ्नो पार्टीका उमेद्वारलाई जिताउन नगरका २० वडामा कार्यकर्तालाई जागरुक बनाई सकेको बताए। समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिमबुले उपनिर्वाचनको तयारीसँगै आफ्नो पार्टीले मेयरको उमेद्वारको खोजी सुरु गरिसकेको बताए।

उपनिर्वाचनको तयारी सुरु गरेसँगै धरानको भावी मेयरका लागि कांग्रेस भन्दा बढी नेकपाका उम्मेदवार आकांक्षी बढी देखिएका छन्। नेकपामा (पूर्व एमालेका तर्फबाट) प्रदेशसभा सदस्य समेत रहेका पूर्वमेयर मनोज मेन्याङवो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्य प्रकाश राई, पदम लिम्बुले दाबेदारी प्रस्तुत गरेका छन्।

त्यस्तै पूर्वमाओवादीका तर्फबाट मुक्साहाङ मेन्याङवो, चोत्लुङ लिम्बु र अइद्रविक्रम बेघाले मेयरको उमेद्वारका लागि आकांक्षा देखाएका छन्। पार्टी एकीकरण हुनुभन्दा पहिला धरान पूर्वएमालेको पकेट क्षेत्र हो। मेयरको टिकट पनि उतैका उमद्वारहरुले पाउने सम्भावना देखिन्छ। कांग्रेसमा मेयरको उमेद्वारको आकांक्षीमा नगरसभापति तिलक राई, पूर्वनगर सभापति किशोर राई र जिल्ला सचिव सुजेन्द्र तामाङले उमेद्वार बन्ने आकांक्षा देखाएका छन्।

तामाङ हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नासु सोसरहका कर्मचारी भएकाले तिलक र किशोरमध्ये एकले टिकट पाउने संभावना छ। तिलक गत चुनावका एमालेका तारा सुब्बासँग पराजित भएका थिए। समाजवादीमा केन्द्रीय सदस्य भीम राई, दुर्गामाया लिम्बु, गजेन्द्र इस्वो र नगर अध्यक्ष ताजुव लिम्बुले मेयरको उमेदवारका रुपमा आफूलाई प्रस्तुत गरेका छन्। महेन्द्र क्याम्पस धरानका प्रा.डा राजेन्द्र शर्माले धरानलाई नेतृत्व दिन सक्ने योग्य व्यक्तिलाई मात्र राजनीतिक दलले टिकट दिए धरानको विकासले गति लिन सक्ने विश्वास व्यक्त गरेका छन्। अन्नपुर्ण पोष्टबाट

आइतबार, १९ साउन, २०७६, बिहानको ०७:२९ बजे

सम्बन्धित खवर