नेपालीको दाहसंस्कार भारतीय भूमिमा! मलामीको ज्यान जोगाउन मुस्किल

 

भद्रपुर, (झापा) : सुन्दा पनि अचम्म लाग्छ ! मानिसको मृत्यु हुन्छ नेपाली भूमिमा, दाहसंस्कार गरिन्छ भारतीय भूमिमा। यस्तै चलन चल्दै आइरहेको छ  केही वर्षदेखि झापाको भद्रपुर नगरमा।
नेपालको भद्रपुर र भारतको गलगलिया जोड्ने नाकामा मेची नदी पर्छ। मेची नदी बग्‍ने अधिकांश भूमि नेपालमै पर्छ। तर त्यसमध्ये नदीको केही भाग भारतीय भूमिले छोएको छ। नगरभित्रका मानिस मरेपछि दाहसंस्कार गर्न तिनका परिवारजन र मलामी भद्रपुर-५ स्थित मेची किनार पुग्छन्।
मेची पुलदेखि पाँच मिटर दक्षिण नदीको बगर छेउमै पुगेर दाहसंस्कार गरिने चलन छ। भद्रपुर-५ स्थित मेची नदीमा दाहसंस्कार गरिने निश्चित स्थान छैन। निश्चित स्थान नहुँदा पानी बग्ने छेउमै जमिन खोजेर शव जलाइन्छ या गाडिन्छ। शवको दाहसंस्कार गरिने उक्त स्थान भारतमा छ। नेपाल-भारतको १०२ र १०२-३ सीमा पिलर नम्बरदेखि पूर्वतर्फको भाग भारत पर्छ।
दशगजा क्षेत्रदेखि सय मिटर भित्र। भारतीय भूमिमा नेपालीको शव जलाउँदा भद्रपुर नगरपालिका जनप्रतिनिधिले चासो देखाएको छैन। ‘अहिले शव जलाउँदै गरेको ठाउँ भारतमै पर्छ’, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले भने, ‘सीमा पिलरदेखि ३०/३० मिटर भित्रको क्षेत्र दशगजा हो। दशगजादेखि पनि सयदेखि डेढसय मिटर पर पुगेर शव जलाइन्छ। त्यो भारतीय भूमि हो।’
‘अहिलेसम्म भारतीय पक्षले शव जलाउन अवरोध गरेको छैन’, स्थानीय अरुप घोषले भने, ‘अवरोध गरेका दिन भद्रपुर बजार आसपासका शवलाई कहाँ दाहसंस्कार गर्नु?, यसबारेमा कसले सोच्ने हो। शव जलाउन मेची छाडेर देउनिया की हडिया खोला पुग्ने अवस्था आउँछ। त्यो कुरा जनप्रतिनिधिले हामीलाई भनिदिनु पर्‍यो।’
मलामीको ज्यान जोखिममा, एकको मृत्यु
भद्रपुर नगरपालिकाले मेची नदी किनारमा मलामी घरसहित शव जलाउने सुविधायुक्त घाट नबाइदिँदा मलामीको ज्यान जोखिममा रहेको पाइएको छ। मेची नदी, त्यसमाथि खुल्ला आकाशमुनि घण्टौं बसेर शव जलाउँदा मलामी र तिनका परिवारको ज्यान सुरक्षित छैन।
गर्मी मौसममा घाम, मनसुनमा हावाहुरी-पानी-चट्याङ र हिउँदमा शीत र जाडोको समस्याले अरूको शव जलाउन जाँदा आफै शव हुने कुराले  मलामीजन चिन्तित छन्।
२०७६ साल जेठ २९ गते छिमेकीको मलामी गएका एक व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको थियो। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार भद्रपुर ६ बस्ने १८ वर्षीय रोहण यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो। सीताराम बुधबार दिउँसो रोहणको मलामी गएका थिए।
बिरामीसमेत रहेका सीताराम मलामीमै बेहोस भए। उनको उपचारको क्रममा मृत्यु भयो। त्यहीँ मलामीमा गएका भद्रपुर ६ बस्ने राजु यादव पनि अत्यधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए। मलामी घर नहुँदा भद्रपुरमा यस्तो घटना भइरहेको छ।
नगरपालिकाको योजनामै पर्दैन दाहसंस्कार व्यवस्थापन
भद्रपुर नगरपालिका कार्यालयको स्थापना वि.सं. २००८ सालमा भएको हो। नेपालकै पुरानो नगरपालिकाका जिम्मेवारी पञ्चायत, बहुदलका जनप्रतिनिधिदेखि कर्मचारीको २० वर्षीय शासन हुँदै पुनः लोकतन्त्र पद्धतिबाट निर्वाचित जनप्रतिनिधि आएर सम्हाल्दै छन्। तर, अहिलेसम्म भद्रपुर-५ स्थित मेची नदी किनारमा दाहसंस्कारको उचित व्यवस्थापनका लागि नगरपालिकाले एक रुपैयाँ बजेट छुट्टाएको छैन।
मेची किनारमा शव जलाउने ठाउँ नगरकै पुरानो घाट हो। नगरपालिकाले मेची किनारको घाट छाडेर अन्यत्रका दाहसंस्कार व्यवस्थापनका लागि पहुँचको आधार मात्र
बजेट निकासा गर्ने गरेको स्थानीयवासीको आरोप छ। मेची किनारमा दाहसंस्कार व्यवस्थापनका लागि भद्रपुर नगरपालिकाको बोर्ड बैठकमा धेरै पटक कुरा उठाइसकेको बताउँदै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले भने, ‘मेयर सा’वले धेरैतिर दाहसंस्कार स्थल बनाउनु हुँदैन। देउनियाको घाटलाई नै व्यवस्थापन गर्नुपर्छ भन्नुभयो।’
‘नगरकै सबैभन्दा पुरानो दाहसंस्कारस्थल मेची नदी किनार नै हो’, उनले भने, ‘अहिलेसम्म नगरपालिकाको योजनामा यहाँको घाट व्यवस्थापन पर्ने सकेन। अहिले शव जलाउँदै आएको ठाउँ भारतमा पर्छ। यसलाई समयमै व्यवस्थापन गरिएन भने भविष्यमा दुर्घटना निम्तिन्छ।’
‘नगरपालिकाबाट दाहसंस्कारका लागि योजनामा नपारे पनि आउँदो वर्ष वडाको सिलिङबाटै केही बजेट छुट्ट्याएर, दाताको सहयोगमा निर्माण गर्ने र्छौ’, उनको भने। यता नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले देउनिया खोला बग्ने भद्रपुर २ र ७ मा दाहसंस्कार गृह नगरपालिकाले बनाइरहेको बताए।
भारतीय भूमि गएर यहाँका मान्छे शव जलाउन बाध्य छन्, मेची नदी किनारमा कहिले बन्ला दाहसंस्कार गृह? थाहाकर्मीले राखेको प्रश्नमा उनले भने, ‘अहिलेसम्म नगरपालिकाले मेची नदी किनारको विषयमा केही सोचेको छैन।’ बन्ला त हजुरको कार्यकालमा राखेको जिज्ञासामा उनले भने, ‘त्यो अहिले भन्न सकिने अवस्था छैन।’
दाहसंस्कार गृह नहुँदा अत्यधिक गर्मीका कारण एक मलामीको मृत्यु भएको विषयमा प्रश्न राख्दा नगर प्रमुख श्रेष्ठले भने, ‘त्यो दाहसंस्कार गृह नभएर मृत्यु भएको होइन। बिरामी वा अन्य कारणले मृत्यु भएको हुनुपर्छ। यस घटनालाई दाहसंस्कार गृहसँग जोड्नु आवश्यक छैन।’
मलामी विश्रामस्थल प्रयोगविहीन
नगरबासीबाट संकलित लाखौँ रुपैयाँको लागतमा निर्माण गरिएको सार्वजनिक मलामी विश्राम भवन प्रयोगविहीन बनेको छ। भएकै विश्राम भवनलाई समेत प्रयोगमा ल्याउन नसक्दा नगरपालिकाका जनप्रतिनिधिको काम कर्तव्यमै स्थानीयले प्रश्न उठ्न थालिसकेका छन्।
कुनै पहल गरेको छैन। भद्रपुर ५ स्थित मेची नदी किनारमा लगभग १३ लाख ९५ हजार लागतमा १३ वर्ष अघि निर्माण भएको एक तल्ले विश्राम भवन बेवारिसे अवस्थामा रहेको छ।
बेवारिसे अवस्थामा रहेको भवन शौचालय बनिसकेको छ। दाहसंस्कार गर्न भद्रपुरको मेची नदीमा आउने मलामीजनहरूलाई विश्राम गर्ने ठाउँ बनाउने उद्देश्य लिएर नगरवासीबाट रकम संकलन गर्दै २०६४ सालमा भद्रपुरका उद्योगी पशुराम अग्रवालको संयोजकत्वमा मलामी भवन निर्माण समिति गठन गरी भवन निर्माण गरिएको थियो।
नगरपालिकाको ऐलानी जग्गामा सो भवन निर्माण गरिएको हो। आवश्यक संरचना सहितका मलामी विश्राम भवन निर्माण गरिने भनी महत्त्वाकांक्षी लक्ष लिएर योजना थालिएको थियो। त्यस बेला त्यसक्षेत्रमा सुकुम्वासी बस्ती थिएन। पछि नगरपालिकाको ऐलानी जग्गामा सुकुम्वासी आएर घर बनाएर बस्न थालेपछि त्यो महत्त्वाकांक्षी योजना अधुरो बन्न पुग्यो।
निर्माण भएको भवनलाई प्रयोगमा ल्याउन नगरपालिकाले सबै पक्षसँग छलफल गरेर अघि बढ्ने नगर प्रमुख श्रेष्ठ बताउँछन्।

बुधबार, १८ भदौ, २०७६, दिउँसोको १२:५२ बजे

सम्बन्धित खवर