चीनबाट नेपालका लागि व्यापार = फस्दैछन् नेपाली व्यापारी

चीनबाट नेपालका लागि व्यापार गर्ने कम्पनी सिल्क रोड ट्रान्सपोर्ट (बालकुमारी) ले सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीको ठेक्का पाएर १० हजार मेट्रिक टन युरिया मल चीनबाट नेपाल ल्याउँदैछ । गहुँ र तरकारी तथा तोरी बालीका लागि ल्याउन लागिएको सो मल कहिले आइपुग्ने हो यकिन छैन । कम्पनीले उक्त सरकारी ठेक्काका अलावा थप ३० हजार सहित गरेर ४० हजार मेट्रिक टन मल चिनियाँ नाका हुँदै नेपाल ल्याउने काम गरिरहेको छ ।

४० हजार मेट्रिक टन मल भनेको ट्रकमा हाल्दा ४०० ट्रक हुने सिल्क रोडका कार्यकारी प्रमुख कल्याण सिलवाल बताउँछन् । चीनले एउटा नाकाबाट दैनिक ८ देखि १० वटा मात्रै गाडी नेपालतर्फ छोड्ने नीति लिएका कारण समयमै मल भित्र्याउन सकस परेको सिलवालले बताए ।

‘सिगात्सेमा पल्टी गरेर (एउटा साधनबाट झिकेर अर्कोमा हाल्ने काम) ट्रकमा नेपाल ल्याउन त्यो पनि सबै दिन पालो आए पनि कम्तीमा ४० दिन लाग्छ । सामान्य अवस्थामा एक साताको कामको लागि हामीले थप ३३ दिन खर्च गर्नुपर्ने अवस्था आयो’, सिलवालले दुखेसो गरे ।

नेपालमा विद्युतीय स्कुटरको कारोबार गर्ने आस्था अटोमोबाइलका सुरेन्द्र मानन्धरले २०७८ वैशाखमा चीनबाट ४०० थान स्कुटरको विद्युतीय ब्याट्री मगाए । वैशाख अन्तिम सातातिर चीनबाट हिंडेको उनको ब्याट्री जेठ दोस्रो साता केरुङ र तातोपानी गरी दुई भन्सार नाकामा आइपुग्यो । कोरोनाका कारण लामो समय भन्सारमा थन्किएको ब्याट्रीको ठूलो परिमाण हरायो ।

‘कोभिड प्रोटोकलका कारण चीनतर्फबाट हाम्रो सामान नेपाल पठाउन पालो नै आएन उतै हरायो’ मानन्धरले भने, ‘उताबाट ब्याट्री नआएपछि यता स्कुटी पनि बेच्न सकिएन, हाम्रो लाखौं रुपैयाँ डुब्यो ।’

तीन वर्ष अघिसम्म चीनबाट नेपालका लागि वस्तु आयात गर्दा बढीमा २५ दिनमा सामान काठमाडौं आइपुग्ने व्यवसायी अनुप श्रेष्ठको अनुभव छ । तर, त्यसपछिका दिनमा उत्तरको बाटो अत्यासलाग्दो बन्दै गएको उनी स्मरण गर्छन् ।

रसुवागढी नाका
गत आर्थिक वर्षमा मात्रै नेपालले चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ भन्दा धेरैको माल वस्तु आयात गरेको थियो । चालु आथिक वर्षको दुई महीना मात्रैमा पनि नेपालले ४२ अर्ब ८४ करोड ७५ हजार रुपैयाँ भन्दा बढीको वस्तु चीनबाट आयात गरिसकेको छ ।

व्यवसायी विष्णु खत्रीका अनुसार हवाई यात्रा महँगो हुनु, पानीजहाजबाट हुने ढुवानी लामो हुनुका कारण नेपाली व्यवसायी तातोपानी र केरुङ स्थलमार्गलाई व्यापारिक प्रयोजनका लागि प्राथमिकतामा राख्छन् । तर, विकल्पको बाटोमै प्रशस्त अवरोध भएकोले उनीहरू असाध्यै समस्या भोगिरहेका छन् ।

व्यवसायी अनुप श्रेष्ठका अनुसार तातोपानी र रसुवागढी भएर गरिने व्यापार अहिले २५ दिनबाट लम्बिएर कैयौं महीना पर पुगेको छ । हवाई मार्गबाट सामान छिटो आए पनि महँगो भाडाका कारण थोरै व्यवसायीहरू मात्रै यो बाटो प्रयोग गरिरहेका छन् ।

ग्वान्जाओबाट समुद्री बाटो हुँदै कलकत्ता वा हल्दिया भएर वीरगन्जको बाटो सामान आउन कम्तीमा ४५ र बढीमा तीन महीनासम्म लाग्ने व्यवसायीको अनुभव छ । तर उत्तरको बाटो सहज भएको खण्डमा आपतकालीन वस्तु १५ दिनमा नै नेपाल ल्याउन सकिने सिल्क रोड ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर कल्याण सिलवाल बताउँछन् ।

नेपालीले सामान खरीद गर्ने ग्वान्जाउ वा ईयू शहरबाट सिगात्सेसम्म दिनमा रेल, त्यहाँबाट ट्रकमा केरुङ वा तातोपानी हुँदै काठमाडौं आउन सकिने भए पनि पछिल्लो दुई वर्षदेखि कहिल्यै सामान सही समयमा नआएको व्यवसायीहरूको गुनासो छ ।

बन्दको ठेगान नभएको नाका

पछिल्ला तीन वर्षमा नेपाल चीन बीचको तातोपानी नाका कति पटक अवरोध भयो भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू अनभिज्ञता प्रकट गर्छन् । व्यवसायीहरूका अनुसार २०७२ सालको भूकम्पपछि नेपाल चीन बाटोमा अस्थिरता शुरू भएको र अझ २०७६ सालमा शुरू भएको कोरोना महामारी पछि दुई देशका नाकामा असाध्यै कठिनाइ सिर्जना भएको छ ।

तातोपानी नाका
२०७२ सालको भूकम्पका कारण र त्यसपछि बाढी र पहिरो बाहेकले अवरुद्ध नहुने नाका २०७६ माघदेखि भने झण्डै दर्जन पटक खुल्ने र बन्द हुने भएका छन् । तातोपानी र रसुवागढी नेपाल–चीन दोहोरो व्यापारको स्थलमार्ग भए पनि नेपाली वस्तु निर्यात त परको कुरा आयात पनि कोटा प्रणालीमा र कडा चिनियाँ शर्तमा मात्रै भइरहेको छ ।

१५ माघ २०७६ मा चिनियाँ नयाँ वर्षको विदाका कारण तातोपानी र रसुवागढी नाका बन्द गरिएको थियो । त्यसलगत्तै २०७६ माघ अन्तिम साता बाटोमा हिमपात भएपछि पुनः दुवै नाका बन्द भए ।

२०७६ फागुन अन्तिम साता पहिलो पटक कोरोना संक्रमण चीनमा पुष्टि भएपछि दुवै नाका बन्द हुने क्रम झनै लम्बियो । ९ चैत २०७६ मा कोरोना जोखिमलाई मध्यनजर गर्दै नेपालद्वारा दुवै नाका सिल गरियो । २४ असार २०७६ मा नेपालतर्फ पहिरोका कारण तातोपानी नाका बन्द भयो भने १६ भदौ २०७७ मा नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका चिनियाँ पक्षले बन्द गरायो ।

१९ असोज २०७७ मा तातोपानी नाका खुल्यो तर २० असोज २०७७ मा हिमताल फुट्ने तथा नेपालबाट कोरोना सर्न सक्ने भन्दै नाका पुनः सिल भयो । १३ कात्तिक २०७७ मा रसुवागढी र तातोपानी नाका पुनः सञ्चालनमा आए तर ८ माघ २०७७ मा मितेरी पुल निर्माण गर्न तातोपानी नाका पुनः बन्द भयो ।

२७ माघ २०७७ मा तातोपानी नाका खुल्यो तर दुई दिनपछि २९ माघमा अर्को नाका रसुवागढी ल्होसारका लागि बन्द गरियो । ल्होसार पछि कोरोना रोकथामको कडा शर्तसहित एकतर्फी रूपमा यो नाका सञ्चालनमा छ । ८ असार २०७८ मा तातोपानी नाका पहिरोले लामो समय बन्द हुन पुग्यो तर अहिले यो नाका आंशिक सञ्चालनमा छ ।

नाका बन्दका शृंखला

१५ माघ २०७६– चिनियाँ नयाँ वर्ष विदा दुवै नाका बन्द
२०७६ माघ अन्तिम साता– बाटोमा हिमपात भएकोले दुवै नाका बन्द
२०७६ माघ– चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि दुवै नाका बन्द
९ चैत २०७६– कोरोना जोखिमलाई मध्यनजर गर्दै नेपालद्वारा दुवै नाका सिल ।
१२ चैत २०७६– मालवस्तु आयातका लागि मात्रै नाका खोल्ने नेपालको प्रस्ताव चीनद्वारा झन्झटिलो शर्त प्रस्ताव, तर नाका बन्द ।
२४ असार २०७६– नेपालतर्फ पहिरोका कारण तातोपानी नाका बन्द पहिरो पन्छाएर नाका खोल्न नेपालको प्रस्ताव चीनद्वारा अस्वीकार
१६ भदौ २०७७– नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द
२० असोज २०७७– हिमताल फुट्ने तथा नेपालबाट कोरोना सर्न सक्ने भन्दै तातोपानी नाका बन्द
८ माघ २०७७– मितेरी पुल निर्माण गर्न तातोपानी नाका पुनः बन्द
२९ माघ २०७७– रसुवागढी नाका ल्होसारका लागि दुवै नाका बन्द
८ असार २०७८– तातोपानी नाका अवरुद्ध
साढे दुई वर्षदेखि स्थलमार्गको निर्यात ठप्प

दुई देशबीचको व्यापारिक नाका भनिए पनि नेपाल–चीन स्थलमार्गका नाकाबाट नेपाली वस्तु निर्यात नभएको साढे दुई वर्ष भयो । कोभिड प्रोटोकलका कारण चीनले उसको देशको वस्तु आयात गर्न मात्रै नेपालका लागि खुला गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालले चीनतर्फ २ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यस्तै आर्थिक २०७६/७७ मा नेपालबाट एक अर्ब १९ करोड ११ लाख रुपैयाँको वस्तु चीन निर्यात भएको थियो । आव २०७७/७८ मा एक अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट चीनतर्फको निर्यात भएको भन्सारको विवरणबाट देखिन्छ ।

तर, उक्त निर्यातमा रसुवागढी र तातोपानी स्थलमार्गको हिस्सा भने शून्य भएको भन्सार विभागले जनाएको छ । नेपालबाट चाउचाउ, बिस्कुट, हस्तकलाका सामग्री, बिरालो तथा कुकुरका आहारा, जडीबुटी जस्ता वस्तु चीनतर्फ निर्यात हुने गर्दछन् ।

तातोपानी र रसुवागढीका अलावा मुस्ताङको कोरला, हुम्लाको यारी, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङ्चुङगोला, संखुवासभाको किमाथाङ्का, गोरखाको लार्के र मुगुको मुगु भन्सारबाट पनि नेपालले चीनसँग नगन्य मात्रामा व्यापार गर्छ ।

हिल्सा नाका
तातोपानी र रसुवागढी बाहेक अरू नाकाको व्यापार ठूलो मात्रामा नरहे पनि स्थानीय बजारमा यसको प्रभाव हुने मुस्ताङको कोरला नाकाका भन्सार अधिकारी टासी नर्वु गुरुङ्ग बताउँछन् । चिनियाँतर्फबाट कोरोनालाई कारण देखाएर कोरोला नाका बन्द गरिदिंदा भेडा, च्यांग्राको चरन समेत प्रभावित भएको गुरुङ्गले बताए । असार, साउन र भदौमा गरी हरेक वर्ष तीन पटक खुल्ने नाका १८ महीनादेखि ठप्प रहेको उनको भनाइ छ ।

मानसरोवर यात्राको लागि प्रख्यात हुम्लाको यारी नाका नखुल्दा नेपालको ठूलो आम्दानी गुमिरहेको छ भने हुम्लाका स्थानीयलाई खाद्यान्न र रोजगारीमा समेत समस्या भएको छ ।

१० महीनापछि २०७८ पुसमा आंशिक रूपमा सञ्चालनमा आएको नाका अहिले फेरि बन्द छ । उता, कोरोनाकै कारण नाका बन्द भएपछि भन्सार विभागले किमाथाङ्का नाकाबाट भन्सार अधिकारी नै काठमाडौं झिकाएको छ । किमाथाङ्काबाट काठमाडौं फर्किएको भन्सार कार्यालयका प्रमुख तुल्सीराम चुहीले बताए । ‘किमाथाङ्कामा भन्सार सम्पर्क कार्यालय मात्रै छ, व्यापार छैन । म काठमाडौं फर्किएको एक वर्ष हुनलाग्यो’ अहिले अर्थ मन्त्रालयमा दरबन्दी रहेका चुहीले भने ।

 

सोमबार, १८ असोज, २०७८, दिउँसोको ०२:५१ बजे

सम्बन्धित खवर